Monday, December 9, 2019

अदालतको आदेशमा सरोकारवाला असन्तुष्ट

प्रस, पथलैया, २३ मङ्सिर/
    बारामा निर्माण थालिएको अन्तर्राष्ट्रिय विमानस्थलको काम अघि नबढाउन सर्वाेच्च अदालतले जारी गरेको आदेशमा सरोकारवालाहरूले असन्तुष्टि जनाएका छन् ।
    बारामा विमानस्थल बनाउने सरकारको निर्णय खारेजीको माग गर्दै सर्वाेच्चमा परेको रिटमा छलफलका लागि विमानस्थलको काम तत्काल अघि नबढाउन अन्तरिमकालीन आदेश जारी भएपछि सरोकारवालाहरूले असन्तुष्टि जनाएका हुन् ।
    टाँगियाबस्ती सरोकार समिति, जीतपुरसिमरा सरोकार समिति, कोल्हवी र निजगढका नगरस्तरीय सरोकार समितिले संयुक्तरूपमा आइतवार सिमरामा पत्रकार सम्मेलन गर्दै यो विमानस्थल राष्ट्रको गौरव भएको र हवाई पूर्वाधारमार्पmत् देश समृद्ध बनाउने आधार भएकोले यसलाई रोक्न नहुने बताए ।
    देशका विभिन्न आठ सम्भावित स्थानहरूको प्रारम्भिक अध्ययनपछि छनोट गरिएको सबैभन्दा उपयुक्त र प्राविधिक हिसाबले समेत उचित स्थान भएको भन्दै विभिन्न बहानामा विकासको बाधक बन्नेहरूप्रति सर्वाेच्चसमेत सचेत बन्नुपर्ने उनीहरूको भनाइ छ ।
    पत्रकार सम्मेलनमा पूर्वमन्त्री पुरुषोत्तम पौडेलले विभिन्न चरणको अध्ययन, अनुसन्धान र अवलोकनपश्चात् निर्माण थालिएको विमानस्थलमा अनावश्यक बखेडा झिकेर विरोध गर्नेहरू देशको हितमा नरहेको बताए ।
    २०५२ सालमा प्रारम्भिक सर्वेक्षण गरी २०६६ सालमा डिपिआरसमेत तयार भएको विमानस्थल निर्माणका लागि २०७१ सालमैं चार किल्ला तोकी काम अघि बढिसकेको अवस्थामा निर्णय फिर्ताको माग गर्दै रिट दायर गर्नु देशकै लागि घातक हुने उनको भनाइ थियो ।
    पूर्वसचिव द्वारिकानाथ ढुङ्गेल, सुकदेव खत्री, वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलगायतले निजगढ विमानस्थलका लागि ५ सयवटा पुराना रूख रहेको जङ्गल विनाश गर्ने, रूख काट्ने र जङ्गल क्षेत्रलाई कङ्क्रिटमा परिणत गर्ने गरी सरकारले गरेको निर्णय अमान्य र बदर घोषित गर्न माग गर्दै सार्वजनिक सरोकारको रिट दायर गरेका थिए ।
    रिटमा उल्लेख भएका विषयहरूप्रति लक्षित गर्दै पूर्वमन्त्री पौडेलले हाल उठाइएका सबै विषय महŒवूर्ण रहेको तर सबैको डिपिआरबाटै उचित सम्बोधन भइसकेको दाबी गरे ।
    पत्रकार सम्मेलनमा बोल्ने अन्य वक्ताहरूले यस किसिमको विमानस्थल देशैभर अन्त कतै बन्न नसक्ने यथार्थ सबैमा अवगत गराउन जरूरी रहेको बताए । अन्तर्राष्ट्रियस्तरकै उदाहरणीय विमानस्थल नेपालमा बन्न नदिने षड्यन्त्रस्वरूप अनावश्यक विषयमा सर्वोच्चलाई तानिएको उनीहरूको बुझाइ छ ।
    पत्रकार सम्मेलनमा मनोज पौडेल, रमेश सापकोटा, ढुण्डिराज उप्रेती, देवनारायण चौधरीलगायत सहभागी थिए ।

SHARE THIS

Author: Prateek Daily

वीरगंजबाट प्रकाशित राष्ट्रिय “क” वर्गको दैनिक पत्रिका

0 comments:

Find us