Tuesday, December 10, 2019

विभेदकै कारण सूचकाङ्कमा पछाडि –मुख्यमन्त्री गद्दी


प्रस, वीरगंज, २४ मङ्सिर/
    प्रदेश नं २ का मुख्यमन्त्री लालबाबू राउत गद्दीले देशमा व्याप्त विभेदको कारण मानव विकास सूचकाङ्कमा पछाडि परेको बताएका छन् ।
    युएनडिपीले मङ्गलवार जनकपुरमा आयोजना गरेको मानव विकास प्रतिवेदन सार्वजनिक गर्दै मुख्यमन्त्री गद्दीले  मुलुकमा व्याप्त राजनीतिक, सामाजिक, आर्थिक, क्षेत्रीय तथा जातीय विभेदको कारण विकास हुन नसकेको बताए ।
    उनले देश र समाजबाट विभेद अन्त्य गर्न नसकेसम्म समृद्धिको बाटो अँगाल्न नसकिने चर्चा गर्दै समग्र विभेद अन्त्यको लागि शिक्षामा जोड दिनुपर्ने जिकिर गरे ।
    मुख्यमन्त्री गद्दीले देशमा धेरै किसिमका विभेद रहेका र त्यसमा लैङ्गिक तथा जातीय विभेद मुख्य भएको बताउँदै सोको अन्त्यका लागि शिक्षालाई प्राथमिकतामा राखेर अघि बढ्नुको विकल्प नभएको ठोकुवा गरे । उनले विभेदमा परेका वर्ग, समुदाय शिक्षित नभएसम्म देश विकासमा अगाडि बढ्नै नसक्ने बताए । आप्mनो प्रदेश सरकारले सोही विभेदलाई अन्त्य गर्न बेटी पढाऊ बेटी बचाऊ, दलित सशक्तीकरण जस्ता कार्यक्रमलाई अघि बढाएको उनले बताए ।
    युनडिपीले सार्वजनिक गरेको प्रतिवेदनमा नेपाल मानव विकास सूचकाङ्कमा १४७औं स्थानमा छ । सार्कमा पनि नेपाल अफगानिस्तानभन्दा मात्र अगाडि छ ।
मानव अधिकार संरक्षणमा प्रतिबद्ध
     ७१औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा मङ्गलवार जनकपुरमा आयोजित विशेष समारोहमा मुख्यमन्त्री लालबाबू राउत गद्दीले संविधान र कानूनले प्रदत्त मानव अधिकार संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
    मुख्यमन्त्री गद्दीले मानव अधिकारको संरक्षणमा प्रदेश सरकार अग्रस्थानमा रहने प्रतिबद्धता जनाए । उनले कुनै पनि व्यक्तिले मानव अधिकारको कुरा गर्दा अरूको अधिकारको संरक्षणका साथै आप्mनो कर्तव्यपालनसमेत गर्नुपर्ने कुरामा सबै व्यक्ति र सरोकारवाला निकायलाई सचेत हुनुपर्ने बताए ।
    उनले मानव अधिकार संरक्षणको लागि सबैजना सचेत र गम्भीर भएर  आप्mनोस्तरबाट सहयोग गर्न समेत आग्रह गरे ।
    राष्ट्रिय मानव अधिकार आयोग प्रदेश नं २ का प्रमुख वीरबहादुर बूढामगरको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख सचिव रामकृष्ण सुवेदी, प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेल, मानव अधिकार महामेलाका संयोजक धीरेन्द्रबहादुर सिंहलगायतले कार्यक्रम सफलताको लागि शुभकामना व्यक्त गरेका थिए।

SHARE THIS

Author: Prateek Daily

वीरगंजबाट प्रकाशित राष्ट्रिय “क” वर्गको दैनिक पत्रिका

0 comments:

फरक समाचार

Find us