Wednesday, November 27, 2019

तत्कालीन सप्रजिअ पौडेल, वडाध्यक्षहरूसहित ९ जनामाथि अदालतमा भ्रष्टाचार मुद्दा

प्रस, परवानीपुर, ११ मङ्सिर/
    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्साका तत्कालीन सहायक प्रमुख जिल्ला अधिकारी दुर्गादत्त पौडेल, वीरगंज–२ का वडाध्यक्ष शेष अब्बास, वडा नं १५ लक्ष्मनवाका वडाध्यक्ष गजेन्द्रप्रसाद कुर्मीसहित ९ जनामाथि भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारले विशेष अदालत काठमाडौंमा मङ्सिर ९ गते मुद्दा दायर गरेको हो। गलत कागजात पेश गरेका तीनजनाको आर्थिक प्रलोभनमा परी वंशजको नागरिकता उपलब्ध गराएको अभियोगमा सहायक प्रमुख जिल्ला अधिकारी पौडेल, दुईजना वडाध्यक्ष, जिल्ला प्रशासन कार्यालय पर्साका कर्मचारी गरी नागरिकता लिने तथा दिन लगाउने गरी ९ जनामाथि मुद्दा दायर भएको हो।
    जिल्ला प्रशासन कार्यालय, पर्साबाट गलत कागजातको आधारमा गैरनेपालीलाई वंशजको आधारमा नागरिकताको प्रमाणपत्र दिएको भन्ने उजूरी सम्बन्धमा अनुसन्धान हुँदा वीरगंज उपमहानगरपालिकाको बसाइँसराइको सरकारी कागजातमा घरमुलीको विवरण सच्याइएको, वीरगंज महानगरपालिका वडा नं. २ को सिफारिशमा केरमेट गरी भूmटो विवरणको आधारमा वंशजको नागरिकता बनाएको रहस्य खुलेको छ।
    वीरगंज महानगरपालिका वडा नं. २ बस्ने अजहर हुसेन र आरिफ हुसेनको नाममा वंशजको आधारमा नेपाली नागरिकता बनाउने कार्यमा वीरगंज महानगरपालिका वडा नं. २ बस्ने आरिफ हुसेन, सबरून खातुन, वीरगंज महानगरपालिका वडा नं. २ का अध्यक्ष शेष अब्बास, जिल्ला प्रशासन कार्यालय पर्साका नायब सुब्बा चन्द्रदेव ठाकुर, प्रशासकीय अधिकृत सदनकुमार कर्ण र तत्कालीन सहायक प्रमुख जिल्ला अधिकारी दुर्गादत्त पौडेलको संलग्नता देखिएको छ।
    उक्त कार्यमा संलग्नहरू वडाध्यक्ष शेष अब्बास, कर्मचारीद्वय चन्द्रदेव ठाकुर, सदनकुमार कर्ण र सप्रजिअ दुर्गादत्त पौडेललाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ र दफा ११ बमोजिम सजाय हुने र सबरून खातुन र आरिफ हुसेनको हकमा निज आरोपितहरूले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ११ बमोजिमको कसूर गरेको पुष्टि हुन आएकोले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ११ बमोजिम सजाय गर्न मागदाबीसहित आरोपपत्र दायर भएको छ।
    उता, वीरगंज महानगरपालिका वडा नं. ११ को बसाइँसराइको सरकारी कागजातलाई सच्याइ वडा नं. १५ बनाउँदै ममताकुमारी गुप्ताको नामको नेपाली नागरिकताको पतिको नाम खण्डमा जयप्रकाशप्रसाद गुप्ता लेखी सच्याइएको, स्थानीय पञ्जिकाधिकारीबाट जारी हुने सरकारी कागजातहरूमा समेत नामलगायतका विवरण सच्याइ भूmटो विवरणको आधारमा वीरगंज महानगरपालिका वडा नं. ११ बस्ने आशीषकुमार गुप्ताको नाममा वंशजको आधारमा नेपाली नागरिकता बनाउने कार्य भएको पाइएको छ। तसर्थ वीरगंज महानगरपालिका वडा नं. ११ बस्ने ममताकुमारी गुप्ता, वीरगंज महानगरपालिका वडा नं. १५ का अध्यक्ष गजेन्द्रप्रसाद कुर्मी, जिल्ला प्रशासन कार्यालय पर्साका नायब सुब्बा चन्द्रदेव ठाकुर र सोही कार्यालयका तत्कालीन सहायक प्रमुख जिल्ला अधिकारी दुर्गादत्त पौडेलसमेतको संलग्नता देखिएकोले उनीहरूमाथि भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ र दफा ११ बमोजिमको सजायको लागि मुद्दा दायर भएको छ भने २०५९ को दफा ९ र दफा ११ बमोजिम सजाय हुने भन्दै ममताकुमारी गुप्तामाथि भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ११ बमोजिम सजाय गर्न मागदाबी लिई विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको हो।

SHARE THIS

Author: Prateek Daily

वीरगंजबाट प्रकाशित राष्ट्रिय “क” वर्गको दैनिक पत्रिका

0 comments:

फरक समाचार

Find us