Sunday, November 10, 2019

महाकवि विद्यापतिको स्मृति दिवस मनाइयो

प्रस, वीरगंज, २४ कात्तिक/
    मैथिली भाषाका महाकवि विद्यापतिको स्मृति दिवस आइतवार वीरगंजमा पनि मनाइएको छ ।
    मैथिली साहित्य परिषद् वीरगंज र पण्डित अमृतनाथ चिन्तन प्रतिष्ठानको आयोजनामा वीरगंज–१६ रजतजयन्ती चोकस्थित महाकवि विद्यापतिको सालिकमा माल्यार्पण गरिएको थियो ।
    परिषद्का अध्यक्ष महेश दासले महाकवि विद्यापतिका काव्यकृतिहरू अहिले पनि सान्दर्भिक रहेको चर्चा गरे । उनले महाकवि विद्यापति लोकजीवनमा जीवित र अमर रहेको बताए । प्रदेश नं. २ को कामकाजी भाषा मैथिली र भोजपुरी हुनुपर्ने माग गर्दै भाषाको उत्थान र स्रष्टाको सम्मान राज्यले गर्नुपर्ने बताए ।
    कार्यक्रममा प्राडा वासुदेवलाल दासले महाकवि विद्यापतिको जीवनी र कृतिबारे चर्चा गरेका थिए । उनले सो अवसरमा महाकवि विद्यापतिद्वारा रचित गीत सुनाएका थिए । पण्डित अमृतनाथ चिन्तन प्रतिष्ठानका अध्यक्ष भगवान मिश्रले लोकजीवन एवं मैथिली संस्कारमा विद्यापतिको गीत आइरहने गरेको र विद्यापतिले दशकौं नेपालमा प्रवास जीवन बिताएको बताए । उनले महाकवि विद्यापतिको बारेमा अनुसन्धान गर्नुका साथै उनी बसेको स्थानको संरक्षण हुनुपर्नेमा जोड दिए ।

SHARE THIS

Author: Prateek Daily

वीरगंजबाट प्रकाशित राष्ट्रिय “क” वर्गको दैनिक पत्रिका

0 comments:

Find us