Saturday, November 16, 2019

लोककल्याणकारी विज्ञापन जिल्लामा भुक्तानी हुनुपर्ने सञ्चारकर्मीहरूको माग

प्रस, वीरगंज, ३० कात्तिक/
    पत्रपत्रिकाको अभिलेख खडा गर्ने र लोककल्याणकारी विज्ञापनको भुक्तानी दिने कार्य सम्बन्धित जिल्लामा नै हुनुपर्ने पर्सेली सञ्चारकर्मीहरूको माग छ ।
    यसबारे नेपाल पत्रकार महासङ्घ पर्साले शनिवार महासङ्घको सभाकक्षमा आयोजना गरेको छलफल कार्यक्रममा वक्ताहरूले सो माग गरेका हुन् । विगतमा हेटौंडाबाट दुवै काम हुँदै आएकोमा हाल प्रदेश नं. २ को अस्थायी राजधानी जनकपुरबाट हुँदा निकै समस्या झेल्नुपरेको भन्दै उनीहरूले यस क्षेत्रका लागि जनकपुर टाढा, अपायक र जनकपुरस्थित सञ्चार केन्द्रबाट सञ्चारकर्मीहरू पटकपटक अपमानित हुनुपरेको बताए । एउटा सानो कुराको लागि जनकपुर पुग्नुपर्ने र त्यहाँ पुग्दा पनि समस्या समाधानतर्पm केन्द्रले चासो नदिने गरेको वक्ताहरूको आरोप थियो ।
    महासङ्घ पर्साका अध्यक्ष श्याम बन्जाराको अध्यक्षतामा भएको छलफल कार्यक्रममा महासङ्घ पर्साका अध्यक्ष दिपेन्द्र चौहानले लोककल्याणकारी विज्ञापनको भुक्तानी ४ महीना बितिसक्दा पनि नपाएको बताउँदै भुक्तानी विलम्ब हुनुमा प्रदेशस्थित सूचना कार्यालयको कमजोरी रहेको आरोप लगाए ।
    प्रत्येक जिल्लामा पत्रपत्रिकाको अभिलेख राख्ने र भुक्तानी पनि जिल्लाबाटै पाउने व्यवस्था गर्र्न महासङ्घको केन्द्रीय भेलाको माग भएकोले सो मागलाई अब हरेक जिल्लाले आन्दोलनकै रूपमा अगाडि लानुपर्ने प्रदेश अध्यक्ष चौहानले बताए ।
    कार्यक्रममा महासङ्घका प्रदेश उपाध्यक्ष केसी लामिछानेले पर्सेली सञ्चारकर्मीहरूमा व्यवहार सुधारको खाँचो औंल्याए । कसैलाई आरोप लगाउनुभन्दा पनि आपैंmले आत्मसमीक्षा गरे मात्रै सुधार हुन सक्ने उनको भनाइ थियो ।
    महासङ्घ पर्साका उपाध्यक्ष अनुप तिवारीको स्वागत मन्तव्य र सचिव युवराज खड्काको सहजीकरणमा भएको कार्यक्रममा पत्रकार आचारसंहिता, सञ्चारकर्मीको नाममा मौलाएको बेथिति, समाचार सङ्कलनका कानूनी एवं व्यावहारिक अप्ठ्यारा र सोको समाधानका उपायहरूको बारेमा पनि सहभागीहरूबीच गहन छलफल भएको थियो ।
    भेलाले छलफलमा उठेका समस्याहरू र सोको समाधानका लागि आइतवार जिल्ला प्रशासन कार्यालय पर्सामा ज्ञापनपत्र बुझाउने निर्णय गरेको छ ।

SHARE THIS

Author: Prateek Daily

वीरगंजबाट प्रकाशित राष्ट्रिय “क” वर्गको दैनिक पत्रिका

0 comments:

Find us