Sunday, November 10, 2019

वीरगंजमा मोदीको पोस्टर जलाइयो, महावाणिज्य दूतावासअगाडि प्रदर्शन

प्रस, वीरगंज, २४ कात्तिक/
    वीरगंजमा दुईवटा युवाहरूको समूहले भारतको विरोध गर्दै प्रदर्शन गर्नुका साथै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पोस्टरसमेत जलाएका छन् ।
    नेकपानिकट अनेरास्ववियु वीरगंज र देश बनाऊ सङ्घर्ष समिति वीरगंज नामक दुईवटा युवाहरूको सङ्गठनले अपराह्न ४ बजे घण्टघरबाट जुलुस निकाल्दै जिल्ला प्रहरी कार्यालयअगाडि रहेको भारतीय महावाणिज्य दूतावास पुगेको थियो ।
    आइतवार दूतावास बन्द रहे तापनि दूतावासअगाडि केही बेर प्रदर्शन गर्दै युवाहरूले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पोस्टर जलाउन लाग्दा प्रहरीले हस्तक्षेप गर्दै पोस्टर खोसेको थियो ।
    केही दिनयता भारत सरकारले जारी गरेको नयाँ राजनीतिक नक्शामा नेपालको भूभाग कालापानी, लिपुलेक र लिम्पियाधुरा भन्ने ठाउँ भारतपट्टि देखाएको हुँदा देशभरि युवाहरूले विरोध जनाइरहेका छन् । सामाजिक सञ्जालबाट शुरू भएको विरोध अहिले सडकसम्म पुगेको छ ।
    काठमाडौंमा पनि भारतीय दूतावास घेराउसँगै विभिन्न सङ्घसंस्था र राजनीतिक दलले प्रदर्शन गरे तापनि नेकपा सरकारले भारतसँग नयाँ नक्शाको सन्दर्भमा सकारात्मक पहल गर्न नसकेको जुलुसमा सहभागी युवाहरूले बताए । उनीहरूले जबसम्म भारतले नयाँ नक्शाम गरेको त्रुटिलाई सच्याउँदैन, तबसम्म युवाहरूको आन्दोलन जारी रहने चेतावनी दिए ।
    अनेरास्ववियुका हेमन्त तामाङले विस्तारवादी भारतीय रवैयाबाट विगत लामो समयदेखि नेपाली जनताले दुःख खेप्दै आएको भएपनि अहिले नेपाली भूमि मिचेर भारतले ठूलो भूल गरेको र यसको कडारूपमा सम्पूर्ण नेपाली जनताले विरोध गर्ने बताए ।

SHARE THIS

Author: Prateek Daily

वीरगंजबाट प्रकाशित राष्ट्रिय “क” वर्गको दैनिक पत्रिका

0 comments:

Find us