Saturday, November 9, 2019

गोविन्दा आए ससुराल

विमला गुप्ता, वीरगंज, २३ कात्तिक/
    वीरगंजको आदर्शनगरमा अवस्थित होटेल लर्डस् दियालोबाहिर बिहीवार गोविन्दाको एक झलक हेर्नको लागि आतुर भीडबाट एक महिला अर्की महिलालाई भन्दै थिइन्, “गोविन्दा महोत्सवमा थोरै आएका हुन्, उनी त ससुराली घर आउँदा महोत्सवलाई पनि समय दिएका हुन् ।” महिलालाई हेर्दा सामान्य परिवारकी जस्ती थिइन् । मलाई लाग्यो उनको भनाइ पनि जायज नै थियो, अहिले गोविन्दा आएपनि ससुराल भन्ने विषय नै चर्चामा छ ।
    हिन्दी सिनेमाका चर्चित अभिनेता गोविन्दाको कुरा अहिले नेपालीहरूको बीचमा गर्दा उनको फिल्मी करियरभन्दा पनि नेपाल उनको ससुराली हो भन्ने कुराको चर्चा बढी छ । हेर्ने हो भने ससुराली शब्द त उनको फिल्मी करियरसँगै जुडेको देखिन्छ । ९० को दशकमा लोकप्रिय कलाकार मानिने गोविन्दाको सन् १९९६ अप्रिल १२ तारिखका दिन एक फिल्म रिलिज भयो । फिल्मको नाम थियो ‘साजन चले ससुराल ।’
    दुई श्रीमतीका श्रीमान्को भूमिका निभाएको त्यस फिल्ममा गोविन्दाले गरेको हाँस्य अभिनयको निकै नै प्रशंसा भयो र फिल्म बक्सअफिसमा सुपरहिट भयो । ९० को दशकको चर्चित फिल्ममध्येको एक मानिएको ‘साजन चले ससुराल’ फिल्मको शीर्षक अहिले गोविन्दाको व्यक्तिगत जीवनमा लागू हुँदैछ । गत वर्ष नेपाल आउँदा उनले एक सिने अवार्डमा भने ‘नेपाल मेरो ससुराली देश हो, त्यसैले नेपालको धेरै माया लाग्छ ।’
    वीरगंजमा बिहीवार भएको महोत्सवमा पनि उनले भने “नेपाल त मेरो ससुराली देश हो ।” अनि मञ्चमा लस्करै उनको छेउमा उभिरहेका नेपाली अभिनेत्रीहरूसँग जिस्किंदै आप्mनी सालीहरूको दर्जा दिए । उनीहरूकै साथमा रातो गाउन र सिन्दुर पोते लगाएर ‘नेपालकी छोरी हँु’ भन्ने पहिचान दिइरहेकी थिइन्, गोविन्दकी धर्मपत्नी सुनीता आहुजा ।
    यसअघि पनि गोविन्दाले विभिन्न कार्यक्रममा भनेका छन्– “ भारतभन्दा बाहिर कुनै पनि देशमा जाँदा यदि कसैले भिनाजु भनेर मलाई बोलाउँछ भने म बुझ्छु ऊ नेपाली हो ।” यसरी बुझ्न सकिन्छ गोविन्दा चलचित्र महोत्सवमा अतिथिको रूपमा आएका होइनन् उनी त ससुराली आएका हुन् ।
    वीरगंजमा भएको चलचित्र महोत्सवमा बलिउड स्टार गोविन्दाले झन्डै २५ मिनेट जति दर्शकलाई झुमाएर राखे । उनका फिल्मका चर्चित गीतहरू ‘अँगना में बाबा दुआरे पे मा, सरकाइ ले खटिया जाडा लगे, लाल दुपट्टावाली तेरा नाम तो बता र एक दुसरे से करते है प्यार हम’ बोलका गीतहरू आप्mनै आवाजमा गाए । अन्तमा उनले आप्mनो एक चर्चित फिल्म दुल्हे राजाबाट लिएको ‘सुनो ससुर जी अब जिद्द छोडो मान लो मेरी बात दुल्हन तो जाएगी दुल्हे राजा के साथ’ बोलको गीतमा झुमेर निर्माता आकाश अधिकारीसँगै नाचे । ससुराको लागि यो गीतमा नाचेर उनले फेरि दर्शकमाझ भन्न चाहे कि नेपाल त मेरो ससुराली देश हो ।
    बलिउडका अभिनेता गोविन्दा आप्mनो फिल्म छायाङ्कनको लागि पहिले पनि धेरैपटक नेपाल आइसकेका छन् । गोविन्दा र भारतीय अभिनेत्री रमैयाको एक चर्चित फिल्म बनारसी बाबूको अधिकांश छायाङ्कन नेपालमैं गरिएको हो । सो फिल्मको शीर्षक गीत ‘पान का एक बिडा खिला दो जी’ जसको पूरा छायाङ्कन काठमाडौंमैं गरिएको थियो ।         त्यस समयमा उनले नेपाली मिडियाको अगाडि कहिल्यै भनेनन् कि नेपाल मेरो ससुराली देश हो । ९० को दशकमा उनी नेपाल आउँदा नेपालीले गोविन्दा छायाङ्कनको लागि आएको बुझ्थे । तर नेपाली मिडियाको अगाडि उनले ससुराली देश भन्नलाई प्राथमिकता दिएका छन् र नेपाली मिडियाहरूले पनि उनको यो कुरालाई विशेष प्राथमिकता दिएको छ । त्यसैले नेपाली दर्शकहरू उनलाई कार्यक्रममा अतिथिकोरूपमा आएको भन्दा पनि ‘गोविन्दा आए ससुराल’ बुझ्छन् ।
    महोत्सवमा सहभागी हुन आएका भारतीय अभिनेता गोविन्दा शुक्रवार सिमरा हँुदै काठमाडौंबाट भारतको मुम्बई तर्पm लागे । तर चर्चा चलिरहे कै छ ‘गोविन्दा आए ससुराल ।’

SHARE THIS

Author: Prateek Daily

वीरगंजबाट प्रकाशित राष्ट्रिय “क” वर्गको दैनिक पत्रिका

0 comments:

Find us