Friday, November 15, 2019

युवा भनेको वृद्ध र बच्चाबीचको पुल हो

राजेश मिश्र
    जागते रहो, खबरदार १ विगत चार दशकदेखि गाउँमा हरेक राति यो आवाज गुञ्जने गर्दछ । यो आवाजका धनी हुन्  ७१ वर्षीय वृद्ध गौरीशङ्कर महरा चमार । उनी पर्साको पोखरिया नगरपालिका–४ का बासिन्दा हुन् । स्थानीय मानिसहरू उनलाई गौरी चकुदार भनेर चिन्दछन् । गाउँ सुत्छ, तर उनी रातभरि जाग्राम बस्छन् । चौकीदारीबाहेक अर्थाेपार्जनको लागि उनले धेरै थरीका काम गरिसकेका छन् । सङ्घर्ष गरेका छन् । दलितबस्तीको करीब ३० घरधुरीमध्ये उनको दुईवटा सामान्य घर छ । उनी पत्नी र कान्छो छोरासँग एउटा घरमा बस्छन् । अलि पर रहेको अर्काे घरमा तीन छोरा–बुहारी बस्छन् । खरको टाटीले चारैतिरबाट घेरेर आँगन जस्तो बनाइएको छ, जहाँ दुईवटा बाख्री आहारा खाइरहेका थिए । सोहीभित्र उनको अधपक्की घर रहेको छ ।
    मधेसका गाउँघरमा आगन्तुकको अगाडि घरसारको काम गर्न महिलाहरूलाई अप्ठेरो हुन्छ । लाज मान्छन् । त्यसैले, हामी उनको घरछेउमैं रहेको संसारीमाईको मन्दिरको चौतारामा बसेर कुराकानी ग¥यौं । बिहान ९ बजे हामीबीच कुराकानी भइरहँदा, उनका छिमेकी अकलु महरा, रामदयाल महरालगायत ४/५ जना हाम्रा कुराहरू चाखपूर्वक सुनिरहेका थिए । 
    महरासँग उनको वैवाहिक जीवनबारे केही कुरा जान्ने प्रयास गरियो । बिहेको प्रसङ्गमा उनी गम्भीर मुद्रामा भनिरहेका थिए, पाँच वर्षको हुँदा बिहे भएको थियो । त्यसबेला ९ रुपैयाँ मोहरिया नगद र छिपा–लोटा दाइजोमा पाएको थिएँ । तर पहिलो विवाहको ती पत्नीसँग सँगै जीवन बिताउन सकिएन । दैवले गौना हुनुअगावै उठाइ लगे । पहिलो पत्नी बितेपछि छरछिमेकबाट पत्नीखौवा भनेर नानाथरीका हेला खेपेको थिएँ । पहिलो बिहे भएको धेरै वर्षको अन्तरालपछि दोस्रो बिहे भयो । दोस्रो बिहेमा २ रुपैयाँ मोहरिया र १ रुपैयाँ भारु दाइजो पाएँ । २८ वर्षको उमेरमा दोस्रो विवाह भएको थियो । गम्भीर मुद्रामा रहेको उनी हँसिलो हुँदै भन्न थाले, घोडा चढेर विवाह गर्न गएको थिएँ । त्यतिबेला घोडा वा पालकीबाहेक अरू कुनै सवारी हुँदैनथ्यो । बारातीहरू भने पैदल वा गडीमा
(टायरगाडाभन्दा अलि फरक गडी हुन्थ्यो, जसमा काठका ठूला–ठूला दुईवटा पाङ्ग्रा हुन्थ्यो) जान्थे । र, चार छोरा र एउटी छोरी गरी पाँच सन्तानको आमा–बुबा हामी भयौं । जोसँग अहिलेसम्म साथ चलिरहेको छ ।
    गरीब परिवारको भएर पाँचजना सन्तानलाई कसरी पाल्नुभयो, हुर्काउनुभयो ? उनले भने, पारिवारिक जिम्मेदारी थपिएपछि के के गर्नुपर्छ । जङ्गलबाट सिकहर–बहंगीमा दाउरा काँधमा बोकेर ल्याउँथें र बेच्थें। ज्यालादारीमा हलो जोतेको छु । कोदालो पनि चलाएको छु । कुस्ती खेलेको छु । विभिन्न मेलाहरूमा कुस्ती प्रतियोगिता हुँदा म पनि भाग लिन्थें । कुस्तीमा धेरैपटक विजयी भएँ । ५/१० रुपैयाँ इनाम पाइन्थ्यो । इनाम पाउँदा मन गद्गद् हुन्थ्यो । झन् हौसला बढ्थ्यो । गाउँमा एकजनाले भेंडा पालेका थिए । ती भेंडाहरूलाई लडाइँ सिकाउँथें । मेलामा भेंडाहरूको लडाइँ पनि गराएको छु । भेंडाहरूले पनि इनाम जित्थे । मानिसहरूको तालीको गडगडाहटले मन प्रफुल्लित हुन्थ्यो । इँटाभट्टामा मिस्त्रीको काम गरेको छु । खपडा छाउने कामसमेत गरेको छु । गाउँका सबैजसो मानिसको छानो खपडाले छाएको छु । जाँतो–सिलौटी टुङ्गने काम पनि गरेको छु ।
    तपाईं यति धेरै काम गर्न कसरी सक्नुहुन्थ्यो ? उनले भने, गरीबीको समस्याले सबै थोक सिकायो । सिक्न बाध्य गरायो । परिश्रम गर्नदेखि म कहिल्यै पछि हट्दैनथें । हरेक प्रकारका इलम सिकेकाले धेरथोर सधैं कमाइरहन्थे, त्यो पनि गाउँघरमैं । म चाहन्थें मलाई कहिल्यै फुर्सत नहोस् । जसमध्ये चौकीदारीको काम यो उमेरमा पनि गर्दै आएको छु । म दिनरात काम गर्थें । परिवारको जिम्मेवारी जो थियो । १/२ वटा भैंसी मसँग सधैं हुन्छ । बिहान दूध दुहेर मासिक लिनेहरूको घरघर पु¥याउँथें । अहिले पनि गाउँघरमा धेरै काम छ, तर युवाहरू विदेश मोहमा छन् । उनले भने, अचेलका युवाहरू हैसियतभन्दा पनि बढी शौकिन भएका छन् । आम्दानी अठन्नी आ खर्चा रुर्पयाँ । पढेलेखेका युवाहरू हामीभन्दा पनि राम्रो तरीकाले कृषि कार्य, पशुपक्षीपालनलगायतका कामहरू स्थानीयस्तरमैं गर्न सक्छन् । तर दारु–शराब, मोबाइल र पैmशन आदिले खेततर्पmको युवा आकर्षण घटाइदिएको छ । पढेलेखेका युवाहरूमा खेतबारीको काम गर्नुहुँदैन भन्ने मानसिकता पलाएको छ । जीवनको शुरूमा दुःख काटेको व्यक्तिले कामलाई सानो वा ठूलो भनेर अङ्कित गर्दैन ।
    महरा एक्लैले काम गरी नौजनाको परिवार पालेका हुन् । उनी भन्छन्, आमाबुबाको स्वर्गवासपछि एउटी बहिनीको पालनपोषणदेखि उसको विवाहसम्म सबै आप्mनै कमाइबाट गरें । उनका दुईजना दाजुभाइ र तीनजना बहिनी थिए । स्थानीयहरू भन्छन्, शुद्ध दूध बिक्री गर्नेमा महराको नाम छ गाउँमा । उनी पूर्ण धार्मिक प्रवृत्तिका मानिस हुन् । सत्य वचन बोल्छन् । कसैलाई दुःख दिने काम गर्दैनन् ।
    चौकीदारी कार्यमा ज्यालाको कुरा गर्दा उनले पञ्चायतकालमा चौकीदारी गर्नेहरूको दिन वा महीना तोकेर पारिश्रमिक नहुने बताए । गाउँघरका विवादहरूमा पञ्चायती बसेर पञ्चहरूले गल्ती गर्नेलाई जरिवाना तोक्दथे । सोही जरिवानाको रकममध्येबाट पारिश्रमिकस्वरूप केही अंश आपूmले पाउँथें । किनभने पीडित, पीडक, पञ्च र गाउँलेहरूलाई सूचना दिने र भेला गराउने काम मेरो जिम्मामा हुन्थ्यो । गाउँमा रातिको बेला पहरा खटेबापत धानबाली काट्ने सिजनमा खेतमैं गई बिशहर (धानको एक बोझामध्ये एक चौथाइ भाग जति) उठाउँथें । लगभग २ सोरही (३२ बोझा) जति धान हुन्थ्यो ।
    तपाईं आप्mनो बाआमालाई कति माया गर्नुहुन्थ्यो ? उनले भने, मैले मेरो माईबाबु (आमाबुबा)को कहिल्यै अनादर गरेको छैन । माईबाबुलाई कहिल्यै अपशब्द प्रयोग गरिनँ । एकपटकको घटना सम्भिंmदै उनले भने, छठको समय थियो, म घरबाहिर गएको एक हप्ता जति भइसकेको थियो । माई रुँदै हुनुहुन्थ्यो । छोरो आएन । पैसा छैन । छठको किनमेल भएन । मेरो माईलाई छठको सामानभन्दा पनि मेरो चिन्ता थियो । छोरोलाई केही भयो कि भन्ने चिन्ताले सताइरहेको थियो, उनीलाई । छठ छ भनेर मलाई पनि चिन्ता थियो । तर पैदल हिंडेर आउनु थियो । मेरो माई गाउँबाहिर आई मेरो बाटो जोही (कुर्नु) राख्नुभएको थियो । उनीलाई म जसरी पनि आउँछु भनेर पक्का विश्वास थियो । म लगभग १ बजे दिउँसो गाउँ पस्नै लाग्दा, माईले देख्नुभयो । मलाई अँगालो हाली भक्कानो छाडी रुनुभयो । हामी माईबेटा दुवैजना रोएँ । माईलाई घर पठाइदिएँ । म त्यहींबाट बजार गएँ । छठको सबै सामान खरीद गरें । माईको लागि साडी किनें । सबै काम गर्दागर्दै छठघाटमा अलि ढिलो पुग्यौं । घरका सबै खुशी भए । त्यो क्षण अहिले पनि सम्झिरहन्छु । यति भनिरहँदा उनको आँखा रसाएको थियो ।
    उनीसँग प्रश्न गरें, ७१ वर्षको हुनुभयो, जीवन कसरी बितिरहेको छ ? उनले भने, ठीकठीकै भन्नुप¥यो । अचेल के के काम गर्नुहुन्छ ? उनले भने, हालका दिनमा चौकीदारी र जाँतो–सिलौटी टुङ्गने कामबाहेक अरू केही गरेको छैन । कति पैसा कमाइ हुन्छ ? उनले भने, चौकीदारी गरेबापत नगरपालिकाले महीनाको रु दुई हजार पाँच सय दिन्छ । सिलौटी टुङ्गेबापत अलिअलि कमाइ भएपनि नित्य दिन यो काम पाउने होइन । पहिलेको पारिवारिक संस्कार र अहिलेकोमा के फरक देख्नुहुन्छ ? उनले भने, पहिले नुनरोटी जे हुन्थ्यो, सबै मिलेर खान्थौं । अचेलको समाजमा बाँडीचँुडी खाने संस्कार हराएको जस्तो लाग्छ । नयाँ संसारका सन्तानहरूले आपूmलाई मन परेको किनेर ल्याउने र बन्द कोठाभित्र जहानसहित खाने प्रचलन बढिरहेको छ । माईबाबुको पनि आँखा छल्छन् । कस्तो समाजको विकास हुँदैछ, धत् ?
    सबैजना आआप्mनो काम र परिवारको जिम्मेवारीमा छन् । तर पनि केही गर्नुपर्दा छोराहरू सोध्छन् । सल्लाह लिन्छन् । म पनि उनीहरूको कुरा सुन्छु । बुहारीहरू सासूको सेवा गर्छन् । देहनाता गर्छन् । पत्नी पनि बुहारीहरूसँग सन्तुष्ट छिन् । उनले पारिवारिक स्थिति बताए । एक अर्को प्रश्नमा उनले मुस्कानसहित भने, उनीहरूलाई मैले नै पालेको हुँ । अब हामी दम्पतीको तागत दिनानुदिन घट्दोक्रममा छ । बाँचुन्जेल यसैगरी मीठो व्यवहार गरून् । हुनत कुनै यस्तो परिवार नहोला, जहाँ अलिअलि तीतामीठा व्यवहार नभएको होस् । कथंकदाचित छोराहरूबाट अप्रिय शब्द निस्केको खण्डमा नजरअन्दाज गर्छु । न सुनेभैंm गर्छु । दुवै पक्षमा सहन गर्ने क्षमता हुनुपर्छ । अनिमात्र परिवार चल्छ ।
    पढाइको कुरा गर्दा उनले मन्दिरतिर हेर्दै आपूmले नपढेको भने । तर छोराहरू थोरै भएपनि पढेका छन् । कान्छो छोराले चाहिं कलेजसम्मको पढाइ गरेको छ । पोतापोतीहरू पढ्नेक्रममा छन् । उनीहरू बोर्डिङ स्कूलमा पढ्छन् । आउने पुस्ताले उच्च शिक्षा ग्रहण गर्नुपर्छ, केही बन्नुपर्छ भन्ने म चाहन्छु । जेहोस् मेरो परिवारको पहिलेकोभन्दा अहिलेको आर्थिक र शैक्षिक अवस्था सुधारोन्मुख छ ।
    उनले मनभित्र एउटा घटनाले सधैं पिरोलिरहने बताए । उनले टाउकोमा हात राखेर भुइँमा हेर्दै घटनाबारे भनिरहेका थिए । जीवनमा घटनाहरूको कमी छैन । तर एउटा घटनाले नमरुन्जेल सताइरहने छ । करीब ३ वर्षअघिको कुरा हो । पोखरिया बजारमा रातिको चौकीदारी गस्तीमा थिएँ । एउटा पसलनजीक मान्छेहरूको आवाज सुनें । टर्च बालें । उनीहरू भाग्न थाले । चोर होलान् भन्ने मलाई शङ्का लाग्यो । पछिपछि टर्च बाल्दै दौडें । मैले उनीहरूलाई चिनिसकेको थिएँ । मेरो मुखबाट निस्कियो, म तिमीहरूलाई चिन्छु । एकाएक उनीहरू रुके । मतिर फर्के । मलाई समाइ मुख बाँधे । परको खेतमा लिएर गए । मरणासन्न हुनेगरी कुटपिट गरे । आँखा फुटाइदिए । उनीहरूलाई लाग्यो, मैले मृत्युवरण गरिसकेको छु । वास्तवमा, म होसमा थिइनँ । एकाबिहानै खेततिर शौच गर्न गइरहेका कसैले मलाई देखेर गाउँमा खबर गरेछ । त्यसपछि प्रहरी र स्थानीयले उद्धार गरी अस्पतालसम्म पु¥याए । उनले मुहारमा सुस्केरा हाल्दै बताए ।
    उनको आँखामा आँसु आएपछि प्रसङ्ग बदल्न सोधिएको अर्को प्रश्नमा उनले भने, बरु रामायण र महाभारत हेर्न मन लाग्छ । नाच खुब मन पर्छ । म आपैंm पनि कहिलेकाहीं नाचमा ज्यालामा खटेको छु । मलाई नाचमा जोकर सबैभन्दा बढी मन पर्ने पात्र हो । खुब हसाउँछ । उनको अनुहार हँसिलो देखिएको थियो ।
    उनले एउटा मार्मिक भोजपुरी गीत सुनाए–
    बदल गईलें दुनिया लोग बे बिचारी
    बेटा करे सुटबुट आ बाप भाँजे कुदारी
    बुढउ जे कुछ कहलें
    त हो जाला मारामारी
    बुढउ गईलें पंच किहाँ
    की पंच जी इनसाफ करीं
    त पंच लोग इनसाफ कईलख
    एक में जब नईखे पटत
    त काट ल दुवारी, बुढउ काट ल दुवारी
    अर्थात् संसार बदलिंदो अवस्थामा छ । मानिसमा विचार र संस्कार लोप हुँदैछ । छोरा सुटबुटमा हिंड्छन् । बुबा खेतीपाती गर्न कोदालो चलाउँछन् । तन्नेरीहरूलाई वृद्धको कुरा मन पर्दैन । र, केही भन्नेबित्तिकै झगडा गर्छन् । न्यायको लागि वृद्ध पञ्चकहाँ जान्छन् । पञ्चहरू भन्छन्, छोरासँग कुरा मिलिरहेको छैन भने छुट्टै बस्नुस् ।        अन्त्यमा महरा भन्छन्, म पढेलेखेको छैन तर दुनियाँदारी हेर्दा यति भन्छु, शिक्षा जति जरूरी छ, त्योभन्दा बढी नैतिक शिक्षा र संस्कार जरूरी छ । युवाहरू भनेको शरीरको भार सहन गर्ने मेरुदण्ड जस्तै परिवार र देशको लागि मेरुदण्ड हुन्, शक्ति हुन् । वृद्ध र सानो बच्चाबीचको सेतु हुन् । यति भन्छु ।

SHARE THIS

Author: Prateek Daily

वीरगंजबाट प्रकाशित राष्ट्रिय “क” वर्गको दैनिक पत्रिका

0 comments:

Find us