Tuesday, November 12, 2019

गढीमाईमा बलिप्रथा ः कानूनलाई चुनौती

ऋतिक यादव
    प्रत्येक ५ वर्षमा लाग्ने गढीमाई मेला मङ्सिर १ गतेबाट शुरू हुँदैछ । १७ गतेबाट पशुबलि दिने तालिका रहेको छ । गढीमाई मेलाको परम्परा झन्डै २/३ सय वर्ष पुरानो हो । एकजना स्थानीय भूमिपतिलाई तत्कालीन मकवानपुरका राजाले बन्धक बनाएको र सोही समयमा उक्त भूमिपतिले सपनामा गढीमाई मन्दिरमा गएर आप्mनो रगत चढाएको र आप्mना सबै कामना पूरा भएको सपना देखेका थिए । बन्धकमुक्त भई गढीमाई मन्दिरमा गई आप्mनो शरीरका पाँच ठाउँमा खोपेर रगत चढाएको र उनको सबै कामना पूरा भएपछि सोही समयदेखि प्रत्येक पाँच वर्षमा गढीमाई मेला लाग्दै आएको जनविश्वास छ । समयक्रमसँगै उक्त प्रचलनलाई विकृत गरी आप्mनो रगत चढाउनुपर्नेमा सो नगरी निर्दाेष हजारौं पशुपक्षीको बलि दिई सो क्षेत्र वरपर वातावरण प्रदूषित गरी अनेक रोग पैmलाउने गम्भीर आशङ्का सिर्जना गरिदिएको छ । यो प्रचलन परम्पराको विकृत रूप हो । आममानिसको अन्धविश्वासको कारण परम्परालाई विकृत बनाइ लाखौं पशुहरूलाई बलि दिने प्रचलनको कारणले वातावरण संरक्षणमा समेत गम्भीर अवरोध सिर्जना भइरहेको छ । पशुबलिको विकल्पको रूपमा अन्य पूmलप्रसाद चढाउने अथवा अन्य आवश्यक व्यवस्था गरी बलि रोक्न जरुरी छ ।
    सनातन हिन्दू वैदिक दर्शनको दृष्टिमा बलि दिनुलाई महापाप मानिन्छ । हिन्दू विधिशास्त्रले बलि दिनुलाई जघन्य अपराध मानेको छ । अन्धविश्वासको कारण संसारमैं सबैभन्दा ठूलो पशुबलि दिने स्थान भनेर नेपालको गढीमाई चिनिन्छ । यसले विश्वव्यापीरूपमैं नकारात्मक सन्देश दिएको छ । नेपाल, भारत तथा अन्य देशका पशु अधिकारका क्षेत्रमा कार्यरत विज्ञहरूले निर्दोष जीवहरूको हत्या सम्बन्धमा विरोध जनाउँदै आएका छन् । यसले सनातन हिन्दू वैदिक दर्शनको मर्ममा प्रहार गरी हिन्दू धर्मसमेतलाई विकृत बनाउने आशङ्कासमेत सिर्जना गरिदिएको छ ।
    भारतको सर्वाेच्च अदालतले पशु अधिकारवादीहरूको रिटमाथि सुनुवाइ गर्दै गढीमाई मेलामा बलि दिन भारतबाट कुनै पनि पशु नेपाल भित्रिन नदिनु भनी अन्तरिम आदेश जारी गरेको थियो । गर्भवती, रोगी पशुहरूको कुनै परीक्षण नगरी, पशुहरूलाई पानी, दानासमेत खान नदिई अत्यन्तै बर्बरतापूर्वक ढङ्गले पशुहरूलाई बलि दिइन्छ । जसका कारण वातावरण प्रदूषित हुन्छ । जनमानसमा आपराधिक चिन्तन–चरित्र विकसित भई समाजमा नकारात्मक प्रभावसमेत पर्ने भएकोले हजारौं लाखौं पशुहरूको बलि दिनु मनासिब ठहर्दैन ।
    गढीमाई मन्दिरमा नेपालबाट मात्र नभई छिमेकी राष्ट्र भारतबाट पनि धेरै पशु ल्याइ बलि दिने चलन छ । यस मेलामा पशुबलि दिनका लागि राज्यका निकायहरूसमेतले स्रोतसाधन उपलब्ध गराउँदै आएका छन् । स्थानीय प्रशासनको सहयोगमा मेला सञ्चालन भई सुरक्षासमेतको प्रबन्ध गरी बलि दिने गरिन्छ । यस वर्ष पनि आयोजकले लाखौं पशुलाई बलि दिने योजना बनाएको छ र सोही योजनाबमोजिम स्थानीय प्रशासनको समन्वयमा तीव्ररूपमा आवश्यक तयारी भइरहेको छ ।
    विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्घसंस्था तथा व्यक्तिहरूले समेत पशुबलिविरुद्ध आवाज उठाइरहेका छन् । यस प्रथाले नागरिकको स्वच्छ वातावरणमा स्वस्थ जीवन बाँच्न पाउने हक कुण्ठित गरेको छ । नेपालको  संविधानको धारा ३०(१)ले प्रत्येक व्यक्तिलाई स्वच्छ वातावरणमा बाँच्ने हक हुनेछ भन्ने संवैधानिक व्यवस्था गरेको छ । वातावरण संरक्षण ऐन, २०५३ को दफा २(क)ले वातावरण भन्नाले प्राकृतिक, सांस्कृतिक र सामाजिक प्रणालीहरू आर्थिक तथा मानवीय क्रियाकलापहरू र यिनका अवयवहरू तथा ती अवयवहरूको बीचको अन्तत्र्रिmया तथा अन्तरसम्बन्ध सम्झनुपर्छ भनी परिभाषित गरेको छ । दफा २(ख)ले प्रदूषण भन्नाले वातावरणमा प्रत्यक्ष वा अप्रत्यक्षरूपले परिवर्तन गरी वातावरणमा उल्लेखनीय ¥हास ल्याउने, क्षति पु¥याउने वा वातावरणको लाभदायी वा उपयोगी प्रयोजनमा हानिनोक्सानी पु¥याउने क्रियाकलाप सम्झनुपर्छ भनी परिभाषा दिएको छ । बलि दिएका पशुको सिनोले गढीमाई क्षेत्र निकै दुर्गन्धित हुने र त्यसले मन्दिर र आसपासका क्षेत्रको धार्मिक, सामाजिक क्षेत्रमा प्रत्यक्ष असर पु¥याउँछ । गढीमाई परिसरमा बलि दिएका कुखुरा, परेवा, बोका तत्काल लैजाने भएपनि यी मरेका पक्षीहरूबाट वातावरणलाई प्रतिकूल असर पर्दछ । राँगाको मासु भने चौबीस घण्टापछि मात्र दलित जातिले लैजाने परम्परा विद्यमान रहिआएको छ, यसले दलितसँगको विभेद र अपमानलाई प्रोत्साहन गर्ने काम गरेको छ ।
    हजारौंको सङ्ख्यामा बलि दिएका पशुबाट धेरै रगत र अन्य फोहोर पदार्थ निष्कासन हुने र चौबीस घण्टासम्म एकै ठाउँमा राख्दा त्यसले फोहोरको रूप ग्रहण गर्नुका साथै मृत्युवरण गरेका पशुको शरीरबाट सङ्क्रमणको सम्भावना रहेको छ । यसरी गढीमाई क्षेत्रलाई पशुबलिमुक्त क्षेत्र नबनाएको खण्डमा नेपालको  संविधानको धारा ३०(१) द्वारा प्रदत्त अधिकारमा प्रतिकूल असर पर्ने भएकोले त्यस प्रकारका क्रियाकलाप रोकिनु अत्यावश्यक रहेको छ । पशु स्वास्थ्य तथा पशु सेवा ऐन, २०५५ ले क्वारेन्टाइन परीक्षणको व्यवस्था गरेको छ । तर गढीमाई मेलाका सन्दर्भमा उक्त कानूनबमोजिमको परीक्षण हुने गरेको पाइँदैन ।
    गढीमाईमा हुने पशुबलिको कारणबाट बालबालिकाको मनोविज्ञानमा नकारात्मक असर पर्ने अवस्था छ । कन्भेन्शन अन द राइट्स अफ चाइल्ड, १९८९ को धारा १७ ले बालबालिकाको शारीरिक तथा मानसिक स्वास्थ्यमा प्रतिकूल हुने गरी कुनै पनि क्रियाकलापहरू गर्नुहुँदैन भन्ने व्यवस्था गरेको छ । सन्धि ऐन, २०४७ को दफा ९ बमोजिम महासन्धिमा रहेको व्यवस्थाको नेपालले पालना गर्नुपर्ने हुन्छ ।
    वातावरण संरक्षण ऐन, २०५३, सङ्क्रामक रोग ऐन, २०२०, पशु स्वास्थ्य तथा पशु सेवा ऐन, २०५५, सन्धि ऐन, २०४७, पशु बधशाला र मासु जाँच ऐन, २०५५ लगायतका कानूनमा रहेका प्रावधानहरूका दृष्टिले पनि पशुबलि दिई प्रदूषण पैmलाउने र जनस्वास्थ्यमा असर पार्ने कार्य गर्नुहुँदैन भन्ने प्रस्ट छ । अर्थात् आमजनताको भावनाको कदर गर्दै राज्यको तर्पmबाट प्रतिपादित सम्पूर्ण कानूनलाई नै बलिप्रथाले अपहेलना गर्दै प्रतिकार गरेको बुझिन्छ ।
     नेपालको प्रचलित कानूनले पशुबलिलाई वर्जित नगरेको सन्दर्भमा उक्त प्रचलनलाई निरुत्साहित गर्न, कम गर्न तथा व्यवस्थित गर्न जनचेतना अभिवृद्धिको महŒवपूर्ण भूमिका रहन्छ । विभिन्न सरकारी तथा गैरसरकारी निकायहरूसँग समन्वय र सहकार्य गरी आगामी दिनमा पशुबलि दिने प्रचलनलाई व्यवस्थित तुल्याउन सरोकारवालाले तत्काल पहलकदमी गर्नु अपरिहार्य देखिन्छ । उल्लिखित विषयहरू स्वभावैले तथा प्रथम दृष्टिमा नै सार्वजनिक चासो र सरोकारका विषय देखिन्छन् ।
     देशका हिन्दू धर्मावलम्बीहरूका बीच कायम रहेको कतिपय रूढिवादी संस्कार र अन्धविश्वास त्याग्नु जरुरी छ । आधुनिक युगले रूढिवादी अन्धविश्वासलाई मान्यता दिइरहन सक्दैन । विगतका कतिपय अतार्किक, अमानवीय र समाजको विकास एवं प्रगतिशील परिवर्तनमा बाधकको रूपमा रहेका प्रथा, परम्पराहरूलाई समाजले परित्याग गरेका प्रशस्तै उदाहरणहरू छन् । समाज परिवर्तनको विज्ञानसँग मेल नखाने कुराहरूलाई परित्याग नगर्ने हो भने हामीले अपेक्षा गरे अनुसारको परिवर्तनको गन्तव्यसमेत दुरुह वा दुष्कर बन्दछन् । नयाँ मान्यता स्थापित हुन पुराना मान्यता विस्थापित हुनु आवश्यक हुन जान्छ । संस्कार, परम्परा, प्रथा वा यस्तै नाममा पुराना मान्यताहरू सबैलाई अनुसरण गर्दै जाने हो भने समाजको आधुनिक परिवर्तन सम्भव छैन ।
       (यादव कानूनका विद्यार्थी हुन् ।)

SHARE THIS

Author: Prateek Daily

वीरगंजबाट प्रकाशित राष्ट्रिय “क” वर्गको दैनिक पत्रिका

0 comments:

Find us