Saturday, November 9, 2019

मेनरोड फराकिलो गर्न युवाहरूले सिटी फुके

प्रस, वीरगंज, २३ कात्तिक/
    वीरगंजको मेनरोड फराकिलो गर्नुपर्ने अभियानमा लागेका युवाहरूले शनिवार वीरगंजमा सिटी जुलुस प्रदर्शन गरेका छन् ।
    वीरगंज विकास युवा सङ्घर्ष समितिले घण्टाघरबाट सिटी जुलुस निकालेर नगरपरिक्रमा गरेको थियो । नगरपरिक्रमापछि घण्टाघरमा आयोजित कोणसभामा समितिका अकलेस साह, मुन्ना मियाँ, विशाल सर्राफ, महम्मद अन्सारीले २५/२५ मिटर सडक फराकिलो गर्ने कुरामा सडक विभागलाई दृढ भएर अगाडि बढ्न आग्रह गरे । उनीहरूले न्यायिक पैmसलाबाहेक कुनै अन्य कारणले सडक फराकिलो गर्ने काममा बाधा अवरोध सह्य नहुने चेतावनी दिए । वीरगंजको विकासमा अवरोध गर्ने कुनै पनि पक्षलाई युवा समुदायले बाँकी नराख्ने उनीहरूले चेतावनी दिए । वीरगंजको मेनरोड फराकिलो गर्ने विषयमा सर्वोच्च अदालतले २४ गते आइतवार अल्पकालीन आदेश जारी गर्ने/नगर्ने बारेमा निर्णय सुनाउँदै छ । अदालतको निर्णयको कारण आजसम्मको लागि सडक विभागले बाटो फराकिलो गर्ने कार्यलाई विराम दिएको छ ।
    अदालतको आदेशपछि वीरगंज–पथलैया व्यापारिक आयोजनाको कार्यालयले वीरगंजको मेनरोड फराकिलो गर्ने विषयमा पहल गर्नेछ । अदालतको आदेशको कारण वीरगंजको मेनरोड फराकिलो गर्ने विषयमा आयोजनाले शुरू गरेको लगत सङ्कलन, नापजाँचको कामसमेत प्रभावित भएको थियो ।

SHARE THIS

Author: Prateek Daily

वीरगंजबाट प्रकाशित राष्ट्रिय “क” वर्गको दैनिक पत्रिका

0 comments:

Find us