Saturday, November 9, 2019

ओरिया खोलामा झोलुङ्गे पुल शिलान्यास सरकार ग्रामीण विकासमा लागेको छ –मन्त्री पण्डित

प्रस, सेढवा, २३ कात्तिक/
    सङ्घीय सरकार शहरमुखी नभई पिछडिएको ग्रामीण क्षेत्रको विकास निर्माणमा लागेको सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबू पण्डितले बताएका छन् ।
    जीराभवानी गाउँपालिका वडा नं १ स्थित ओरिया खोलामा झोलुङ्गे पुलको शिलान्यास गर्दै मन्त्री पण्डितले शहरको विकास हुँदै गएको तर ग्रामीण भेग विकासबाट वञ्चित हुँदै आएको अवस्थालाई मध्यनजर गर्दै सङ्घीय सरकारले गत आर्थिक वर्षदेखि ‘तराई मधेस समृद्ध कार्यक्रम’ सञ्चालनमा ल्याएको भन्दै मन्त्री पण्डितले तराईका २१ वटा जिल्लामा सो कार्यक्रम लागू गरिएको बताए ।
    ‘तराई–मधेस समृद्ध कार्यक्रम’  अन्तर्गत विद्यालय, स्वास्थ्य चौकी, सडक, पुलपुलेसा, खानेपानी, सिंचाइ, सीप विकासलगायतका कार्यक्रमहरू रहेको चर्चा गर्दै मन्त्री पण्डितले सो योजनामा गत आर्थिक वर्ष साढे पाँच अर्ब रुपैयाँ बराबरको काम भएको र यस आवमा साढे सात अर्ब रुपैयाँका योजनाहरू ल्याएको जानकारी गराए।
    वर्तमान सरकारकै कार्यकालमा रेल ल्याउने तैयारी भइरहेको बताउँदै उनले अब मुलुकको विकास गति तीव्ररूपमा अगाडि बढ्नबाट कसैले रोक्न नसक्ने ठोकुवा गरेका थिए ।
    सो अवसरमा भारतसँगको सीमा विवादको प्रसङ्गमा मन्त्री पण्डितले भने “आप्mनो भूमि जोगाउन इतिहासदेखि वर्तमानसम्म हामी सक्षम छौं । भारतलाई हाम्रो एक इन्च पनि भूमि मिच्न दिंदैनौं ।” देशप्रति बेइमानी गर्ने ठेकेदार, मन्त्री, जनप्रतिनिधि, कर्मचारी, व्यापारीलाई जेलमा हाल्ने मन्त्री पण्डितले चेतावनी दिए ।
    गाउँपालिका अध्यक्ष रामप्रीत महतोको सभापतित्वमा सम्पन्न शिलान्यास कार्यक्रममा पूर्वसांसद जयप्रकाश थारू, जीराभवानी गापाका उपाध्यक्ष उषादेवी थरुनी, नेकपाका केन्द्रीय सदस्य रामचन्द्र साह, जिल्ला अध्यक्ष प्रभु हजरा, ठोरी गाउँपालिका अध्यक्ष पिएल श्रेष्ठ, जगरनाथपुर गापाका अध्यक्ष जालिम मियाँलगायतको सहभागिता थियो ।
    उक्त स्थलमा निर्माण हुने झोलुङ्गे पुलको लागि ‘तराई–मधेस समृद्ध’ योजना अनुसार ३ करोड ४१ लाख २६ हजार १ रुपैयाँको लगानीमा २ सय २० मिटर  लामो पुल निर्माण गर्ने योजना छ । योजना २०७८ असार २८ गते सम्पन्न गर्ने गरी सुवेदी निर्माण सेवा र दीपु कम्पनी जेभी बाराले योजनाको ठेक्का सकार गरिसकेका छन् ।
    मन्त्री पण्डितले आजै जीराभवानी गाउँपालिका वडा नं १ मा तराई–मधेस समृद्ध कार्यक्रम अन्तर्गत मदरसा भवन तथा सामुदायिक भवनको पनि शिलान्यास गरेका थिए ।
प्रस, पोखरिया/
    सङ्घीय सरकारका सामान्य प्रशासनमन्त्री लालबाबू पण्डितले पोखरियाको विकासका लागि मन्त्रालयबाट विभिन्न योजना उपलब्ध गराउने आश्वासन दिएका छन् । शनिवार पोखरियामा कार्यकर्ता भेटघाट कार्यक्रममा उनले पोखरियाको विकासमा सक्दो सहयोग गर्ने बताए । नेपाल कम्युनिस्ट पार्टी पोखरिया नगर कार्यालयमा आयोजित कार्यकर्ता भेटघाटक्रममा मन्त्री पण्डितले पोखरियामा आवश्यक योजनाहरू उपलब्ध गराउने आश्वासन दिएका थिए ।
प्रस, ठोरी/
    मन्त्री लालबाबू पण्डितले जीराभवानी गापा–४, सुपौलीमा सामुदायिक भवनको पनि शिलान्यास गरेका थिए । तराई–मधेस समृद्धि कार्यक्रम अन्तर्गत रु १ करोड ३० लाखको लागतमा कम्पाउन्ड वालसहितको अढाई तले सामुदायिक भवन निर्माण हुन लागेको हो । सो अवसरमा उनले सरकारले कृषिमा दिंदै आएको अनुदानमा परिवर्तन गर्न लागेको बताउँदै आगामी दिनमा वास्तविक किसानले अनुदान पाउने दाबी गरे । कार्यक्रममा नेकपा केन्द्रीय सदस्य रामचन्द्र साह, जिल्ला अध्यक्ष प्रभु हजरा, जिल्ला समन्वय समिति पर्साका उपाध्यक्ष ठाकुरप्रसाद न्यौपाने, पूर्व सांसद जयप्रकाश थारू,  प्रद्युम्न चौहानलगायतको सहभागिता थियो ।

SHARE THIS

Author: Prateek Daily

वीरगंजबाट प्रकाशित राष्ट्रिय “क” वर्गको दैनिक पत्रिका

0 comments:

Find us