Sunday, November 10, 2019

विद्यालय के हो ?

अनन्तकुमार लाल दास

    विद्यालय के हो ? विद्यालयले के गर्छ ?  यो प्रश्न स्वयम् शिक्षकहरूलाई सोधियो भने अलमलिन्छन्  । विद्यार्थीहरू चकित हुन्छन् । अभिभावकहरू जवाफरहित हुन्छन् । यो प्रश्न सुन्दा प्राज्ञिक जस्तो लाग्छ । यी दुई प्रश्नबीचको भिन्नताका खास कारणहरू छन् । जबसम्म हामीले विद्यालयको सही व्याख्या वा परिभाषा गर्न सक्दैनांै, तबसम्म त्यसको विकल्पको खोजी सम्भव हुँदैन । विद्यालयहरूले यस्ता सामाजिक काम गर्छन्, जुन कुनै न कुनै माध्यम वा हिसाबले गर्नैपर्ने काम हुन्छ । केही मानिसको सोचाइमा विद्यालयलाई सुधार गरेर राम्रो बनाउन सकिन्छ । तर अर्काथरीको विचारमा विद्यालय नभएपनि केही फरक पर्दैन । उनीहरू सोच्छन् विद्यालयको विकल्प नै चाहिंदैन । किनभने मानिसले आपूmलाई चाहिने शिक्षा जीवनका अरू काम, व्यवहारमार्पmत् स्वाभाविक रूपमैं प्राप्त गरिरहेका हुन्छन् । तर पनि विद्यालयको परिभाषाविना न त यसको वास्तविक अवस्था थाहा हुन सक्छ, न त यसको मूल्याङ्कन नै गर्न सकिन्छ । विद्यालयको विकल्पको योजना बनाउँदा भावी विकल्पमा विद्यालयका कुन कुन चीज चाहिन्छ र के के हटाउनुपर्छ भन्ने छुट्याउनका लागि पनि विद्यालयको परिभाषा गर्नु आवश्यक हुन्छ ।
    तर यस्तो व्याख्या सैद्धान्तिकभन्दा बढी व्यावहारिक उपयोगिताको हिसाबले गरिनुपर्दछ । हामीले विद्यालयलाई यसरी परिभाषित गर्न सक्छौं, “यस्तो संस्था जहाँ अध्ययन वा तय गरिएका पाठ्यक्रमका लागि शिक्षकको पूरा निगरानीमा सञ्चालन हुने कोठामा निश्चित उमेर समूहका मानिसको पूरा अवधि उपस्थिति आवश्यक हुन्छ ।” आम विद्यालयहरूका लागि यो परिभाषा उपयुक्त छ, सामयिक छ । शिक्षाका विकल्पहरूका बारेमा कुरा गर्दा यस्तो चलिआएको अचल मान्यताका विद्यालयहरूभन्दा भिन्न भनेर व्याख्या गर्नु राम्रो हुन्छ । यसो नगर्दा विद्यालयहरूको परम्परागत चुम्बकीय शक्तिको आकर्षणले परिवर्तनकारीहरूलाई पनि आपूmजस्तै बनाइदिन सक्छ ।
    कक्षाका लागि उमेर तोकिदिएर विद्यालयले बाल्यकाललाई नै एउटा संस्थागत चीज बनाइदिन्छ । विद्यालयले भरिएको समाजमा अहिले बाल्यकाललाई कुनै समयसीमा नभएको विश्वव्यापी परिघटनाका रूपमा लिइन्छ । तर ३०० वर्षअगाडि आजका जस्ता बच्चा थिएनन्, अहिले पनि गरीब गाउँका बच्चा चल्तीका शहरी विद्यालयका बच्चाभन्दा नितान्त भिन्न हुन्छन् । फिलिप एरिजको पुस्तक “सेन्चुरीज अफ चाइल्डहुड”का अनुसार १७औं शताब्दीभन्दा अघि बच्चाहरू वयस्कका जस्तै लुगा लगाउँथे, उनीहरूसँगै काम गर्थे, जेल हालिन्थे, वयस्कसँगै फाँसीमा चढाइन्थे । तिनले बाल्यकालमैं भोग, रोग र मृत्युका बारेमा थाहा पाइसकेका हुन्थे । त्यतिबेला बालबालिका भनेर छुट्टै प्रकारको व्यवहार र मान्यता थिएन । बाल्यकाल भन्ने कुनै संस्कार नै थिएन ।
    समाजको यथार्थ निर्माताका रूपमा विद्यालयको कुरा गर्दा त्यसको आशय बच्चासँग मात्र जोडिएको हुँदैन । त्यसले शिक्षकलाई पनि छुन्छ । किनभने विद्यालयले शिक्षक पनि पैदा गर्छ । विद्यालयहरू जन्मिनुभन्दा पहिले पनि समाजमा हेरविचार गर्ने, शारीरिक व्यायामका नियम पालना गराउने,  अनुशासन सिकाउने मानिस वा गुरुहरू हुने गथ्र्ये । यी तीनै थरीले सिकाइलाई पढाइको नतीजाको रूपमा मात्र हेर्दैन्थे । अहिलेका आधुनिक विद्यालयहरूले सिकाइलाई पढाइको उत्पादनका रूपमा व्यवहार गर्छन् ।
    विद्यालयको पढाइको प्रक्रियामा एउटा शिक्षकले एकैपटक तीनवटा भूमिका निर्वाह गर्छ । रेफ्री, न्यायाधीश र सल्लाहकारको । रेफ्रीका रूपमा शिक्षकले कुनै पनि उत्तर ठीक वा बेठीक के हो भनेर घोषणा गर्छ, नम्बर दिन्छ र उन्नति–प्रगति निर्धारण गर्छ । न्यायाधीशका रूपमा शिक्षकले चोरी गर्नेहरूलाई दोषी ठह¥याउँछ र विद्यालयको नैतिक मूल्य र मान्यता जोगाउने काम गर्छ । सल्लाहकारको रूपमा उसले कमजोर वा थप प्रगति गर्न चाहने विद्यार्थीहरूलाई विद्यालयभित्र र बाहिर समेत के गर्ने र के पढ्ने भन्ने सल्लाह दिन्छ । शिक्षकको यो त्रिआयामिक परिभाषा हामीलाई नौलो लाग्दैन किनभने समाजमा विद्यार्थीलाई नागरिक अधिकार नभएको प्राणीका रूपमा लिइन्छ । जहाँ शिक्षकको भूमिका चाहिं एउटै व्यक्ति प्रहरी, न्यायाधीश र वकील भएजस्तो हुन्छ । विद्यार्थी निरीह, निरुपाय छ भने शिक्षकसँग असीमित शक्ति छ । यस अर्थमा हामीले विद्यालयको भूमिकाको बारेमा अहिलेका चुनौतीहरूसँग जुध्न संस्थागत संवाद गर्नुपरेको छ । अहिलेका स्थानीय सरकारहरूले त्यो सरोकारका बारेमा बहुआयामिक चिन्तन गर्नुपर्ने हो  । वर्तमान संविधानले विद्यालयस्तरको शिक्षाको जिम्मेवारी स्थानीय सरकारलाई दिएको छ तर अहिलेसम्म स्थानीय सरकारका भए गरेका कामहरू, प्रगति र पहलहरू हेर्दा यो प्रश्न उनीहरूको दिमागमा आएकै छैन ।
    विद्यालय शिक्षाका लागि हुन्छ । शिक्षा विद्यालयको घोषित आदर्श र सामाजिक उद्देश्य दुवै हो । विद्यालयको यो स्थान र भूमिकाका विषयमा लामो समयसम्म खासै प्रश्न उठेन तर यतिखेर अन्तर्राष्ट्रियरूपमैं यसमा प्रश्न उठ्न थालेका छन् । शिक्षा भन्ने चीज यस्तो हो, जो एकैपटकमा सबैका लागि एउटै हुँदैन । धेरै मानिसका लागि धेरै थोक हुन सक्छ । विद्यालयहरूले आप्mनै प्रकारका धेरै काम गर्ने भएपनि अहिले सामान्यतया संसारभरिका विद्यालयले गर्ने मुख्य चारवटा सामाजिक कार्यमा समानता आउन थालेको छ । ती हुन्– विद्यार्थीको रेखदेख गर्ने, सामाजिक भूमिकाको चयन गर्ने, सिद्धान्त घोकाउने र ज्ञान तथा सीपको विकास हुने हिसाबले शिक्षा दिने । अहिलेको वास्तविकता के हो भने विद्यालयले गर्ने यिनै कामले विद्यालयलाई महँगो बनाइरहेको छ साथै यिनै तŒवका बीचको द्वन्द्वले विद्यालय शिक्षालाई सुलभ हुन दिइरहेको छैन । यी चार कामको सम्मिश्रणबाट नै विद्यालय एउटा सम्पूर्ण संस्था बन्ने हो । विद्यालयले दिने हेरचाह विश्वभरि यसरी प्रवाहित भइरहेको छ कि यसका अरू व्यवस्थाहरू बिर्सन थालिएका छन् । बालबालिकाले अवश्य पनि राम्रो हेरचाह पाउनुपर्छ, यदि तिनीहरू बालक छन् भने । तर समुदायका साना सदस्यका रूपमा गतिविधिहरूमा सहभागी हुने र उत्पादनशील हुने सवालमा भने यस्तो हेरविचार चाहिंदैन । विश्वभरिका गरीब, किसान र वञ्चित समुदायका बहुसङ्ख्यक बच्चाहरू विशेष हेरविचार नपाएर पनि सही मार्गमा सही ढङ्गले हिंडिरहेका छन् ।
    बच्चाको हेरविचारमा खर्च लाग्छ । यद्यपि विद्यालयहरूले सस्तोमा त्यस्ता सेवा उपलब्ध गराउँछन् तर धेरैजसो विद्यालयको बजेट यसैमा जान्छ । टाइम पत्रिकाका लागि एन्थोनी लाउरियाले पुर्तोरिकोमा गरेको अध्ययनले के देखाएको छ भने एक शिक्षकले आप्mनो २० प्रतिशत समय मात्र विद्यार्थीलाई सिकाउनका लागि निकाल्न सक्छ । तिनको बाँकी समय बच्चाको व्यवहार नियन्त्रण र अरू प्रशासनिक काममा बित्छ । लाउरियाको यो अध्ययनबाट के पुष्टि हुन्छ भने एउटा माध्यमिक विद्यालय उत्तीर्ण विद्यार्थीले १२ वर्षमा सिकेका कुरा दुई वर्षमा सिक्न सक्छ, त्यो पनि निकै कम प्रयत्नमा । रमाइलो कुरा के छ भने बच्चा बढ्दै गएपछि रेखदेखको क्षेत्र र खर्च पनि बढ्दै जान्छ । विद्यालयमा व्यतीत हुने समय बढ्छ, भवनहरू थप आरामदायी हुन्छन्, विद्यार्थीको प्रगतिमा सघाउने कर्मचारीको सङ्ख्या र खर्च वृद्धि हुन्छ । तर विद्यालय नभएको ठाउँमा भने बालबालिका चाँडै सामाजिक बन्छन् । हुर्कनका लागि तिनलाई धेरै सहायता पनि चाहिंदैन । प्राथमिक विद्यालयको तुलनामा माध्यमिक विद्यालयले विद्यार्थीको समय र पैसा दुवै बढी लिन्छ । कलेज र विश्वविद्यालयले त तिनको पूरै समय खाइदिन्छन् । पढाइ जति बढ्दै गयो यस्तो समय र खर्च उत्तिकै बढ्दै जान्छ । माथिल्लो तहका विद्यार्थीको हेरविचारमा प्राथमिक तहभन्दा कम खर्च हुन्छ तर माथिल्लो तहमा विद्यार्थीले विद्यालयमा बिताउने समयको मूल्य सबैभन्दा बढी हुन्छ । कलेज, विश्वविद्यालय झन् महँगा हुन्छन्।
    विद्यालयले प्रदान गर्ने हेरचाहका लागि राम्रै पैसा खर्च हुन्छ तर त्यहाँको सबैभन्दा महŒवपूर्ण पक्ष विद्यालयमा हुने बच्चाको जीवनको विस्तार हो । जस्तै कुनै धनी बुबाका छोराछोरीहरू समाजका आम युवा सदस्यका रूपमा हुर्कनु । आधुनिक जीवनको विद्यालय, काम र अवकाशमा गरिने विभाजनको यो एउटा आयाम हो । जबसम्म युवाहरू केवल विद्यार्थी रहन्छन्, तबसम्म उनीहरू बच्चा नै हुन्छन् । आर्थिक, राजनीतिक र कानूनी हिसाबले समेत अर्थात् हाम्रा विद्यालयहरूले तिनलाई सधैं बच्चा नै बनाइराख्ने काम गरिरहेका छन् ।
    विद्यालयको विकल्पका रूपमा खडा हुने संस्था वा व्यवस्था किफायती र चाहेका जति सबैले पढ्न पाउने खालको हुनुपर्छ । यो प्रभावकारी पनि हुनुपर्छ । तर किफायती भनेर कम गुणस्तरको शिक्षा दिन भने पाइँदैन । विद्यालयलाई विस्थापित गरेर ल्याइएको व्यवस्था पनि फेरि उसैगरी समाजमा हाबी हुने किसिमको हुनुहुँदैन । यस्तो वैकल्पिक माध्यम विविध र बहुसङ्ख्यामा हुनुपर्दछ । यस्ता विकल्पहरूका बीचमा प्रतिस्पर्धा हुनु जरुरी हुन्छ तर प्रतिस्पर्धा जहाँ पनि खोज्नु ठीक हुँदैन ।
    विद्यालयका विकल्पमा खडा गरिने वैकल्पिक उपायहरू के के हुन सक्छन् । सबैभन्दा पहिले शिक्षाका स्रोतहरूलाई विद्यालयबाट बाहिर निकाल्नुपर्छ । यिनमा सबै शिक्षाग्राहीको समान अधिकार स्थापित गर्नुपर्दछ । यसलाई अझ स्पष्टरूपमा यसरी बुझौं । शिक्षाका लागि छुट्याइने सरकारी रकम कि त गरीब वा शिक्षामा पहुँच नभएकाहरूको कुनै छुट्टै संस्थाको विकास गरी त्यसलाई दिन सकिन्छ वा सोझै त्यस्ता विद्यार्थीलाई पनि दिन सकिन्छ । हुनत पढ्नेका हातमा सबै स्रोतसाधन वा पैसा दिएर शिक्षा पाइने पनि होइन तैपनि यो पहिलो कदम भने हुन सक्छ किनभने यसले तिनका हातमा अवसर थमाइदिन्छ ।
    वैकल्पिक शिक्षाका लागि हामीले मुख्य दुई चीजका बारेमा जान्नु आवश्यक हुन्छ । पहिलो हामीलाई शिक्षा किन चाहिएको हो भन्ने र दोस्रो यो कुन स्रोतबाट प्राप्त हुन्छ भन्ने । यदि राम्ररी हेरियो भने यी दुवै चीज एकापसमा जोडिएका छन् । यिनलाई फरक गरेर बुझ्न सकिंदैन । हामीले  खोजेको शिक्षाले हामीलाई स्वतन्त्रता र न्यायको दुनियाँतिर डो¥याउनुपर्छ । जहाँ स्वतन्त्रता भनेको कसैले कसैलाई बलपूर्वक केही गर्न बाध्य नगर्ने र न्यायको अर्थ सम्पत्ति, शक्ति र अवसरको समान वितरण भन्ने बुझिन्छ ।
    सम्पूर्ण स्वतन्त्रताको दर्शन भनेको त्यस्तो दर्शन हो, जहाँ कुनै पनि मानिसले आप्mना गुण वा दोष अरू कसैमाथि थोपर्न सक्दैन । त्यसैले सबै मानिस अरूको नियन्त्रणबाट मुक्त हुन्छन् । वैकल्पिक शिक्षा प्रणाली पनि यस्तै हुनुपर्छ भनेर अन्तर्राष्ट्रिय बहस चलेको छ । हामीकहाँ यो बहस कोठे बहसमा मात्र सीमित छ । वैकल्पिक शिक्षामा हरेकले आप्mनो रोजाइ अनुसारको पढ्न पाउनुपर्छ । कुनै व्यक्ति जीवनमा के गर्न वा के बन्न चाहन्छ भन्ने उसैले निर्धारण गर्नुपर्ने कुरा हो । उसले आपूmले चाहे जस्तो बन्न सक्नेगरी पढ्न पाउनुपर्छ । कुनै एउटा पाठ्यक्रम वा व्यवस्थाले यो सबैको लागि उत्तम हो भनेर प्रत्याभूति गर्न सक्दैन । त्यसैले कुनै एउटा शैक्षिक कार्यक्रमले यसबाट नै सबैले चाहेजस्तो सिक्न सक्छन् भनेर ठेक्का लिन पनि सकिदैंन । अहिले विश्वव्यापीरूपमा देखिएको एउटा ठूलो समस्या, अरूको इच्छाका बारेमा “उसलाई भन्दा बढी हामीलाई थाहा छ” भन्ने जिद्दीले उत्पन्न भइरहेको छ । हाम्रा विद्यालयहरूले यस्ता सवालहरूको जवाफ खोज्दैछन् कि ? विद्यालयहरू यस दिशामा केही गर्दैछन् कि ? वर्तमान र भावी पुस्ताले जवाफ खोज्न ढिलो गर्नुहुँदैन ।

SHARE THIS

Author: Prateek Daily

वीरगंजबाट प्रकाशित राष्ट्रिय “क” वर्गको दैनिक पत्रिका

0 comments:

Find us