Thursday, October 10, 2019

शङ्कास्पद अवस्थामा पोखरीमा बालकको शव भेटियो

प्रस, वीरगंज, २३ असोज/
    पोखरिया नगरपालिका–५ सतवरिया बस्ने महमद गनी अन्सारीको १३ वर्षीय छोरा मेराज भन्ने अब्दुल्लाह अन्सारी असोज २० गते माछा पोखरीमा मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ।
    जवाहिर साह कानूको माछा पोखरीमा शव भेटिएको इलाका प्रहरी कार्यालय, पोखरियाले जनाएको छ ।
    आइतवार दिउँसो घरबाट तरकारी किन्न बजार निस्केका अंसारीको पोखरीमा शव फेला परेको मृतकका परिवारजनले बताए । मृतकका बुवा अंसारीले आप्mनो छोराको हत्या भएको दाबी गरेका छन् । उनी पोखरिया नगरपालिकाका प्रमुख दीपनारायण रौनियारको पूर्व निजी सचिवसमेत थिए ।
    हाल विद्यालयका शिक्षक रहेका अंसारीले छोराको रहस्यमय हत्या हुनुमा व्यक्तिगत रिसइवी तथा राजनैतिक कारणसमेत हुन सक्ने पोखरिया नगरपालिकाका प्रमुख रौनियारले बताए । मृतकको शरीरभरि नीलडाम, एउटा आँखामा गहिरो चोट लागेको, नाकबाट रगत बगेको अवस्थामा शव बरामद हुनुले बालकको हत्या गरी पोखरीमा फालेको हुन सक्ने स्थानीय बासिन्दाले बताएका छन् ।
    जिल्ला उच्चाङ्गल मावि पोखरियामा कक्षा ९ मा अध्ययनरत अंसारीको हत्याको घटनालाई लिएर पोखरियाको सतवरिया गाउँमा  विजयादशमीमा समेत खल्लो भएको थियो । घरबाट बेपत्ता भएको २४ घण्टापछि बालकको शव गाउँकै एक पोखरीमा फेला पर्नुले बालकको अपहरणपछि हत्या गरी पोखरीमा फालेको हुन सक्ने अनुमान गरिएको छ ।
    बालकको शव पोस्टमार्टमको लागि नारायणी अस्पतालमा ल्याएपछि गाउँबाट ठूलो सङ्ख्यामा मानिस आएपछि चिकित्सकले पोस्टमार्टम गर्न इन्कार गरेका थिए । पछि पोस्टमार्टम रिपोर्ट स्वीकार गर्ने पीडित पक्षले प्रतिबद्धता जनाएपछि मात्रै पोस्टमार्टम भएको थियो । पोस्टमार्टमपछि प्रहरीले मृतक बालकको शव आफन्तको जिम्मा लगाएको छ ।
    यस अघि पनि सतवरिया टोलमा तीनवटा हत्याका घटना भइसकेको र घटनामा संलग्नहरू पक्राउ नपरेपछि स्थानीयवासी आक्रोशित भएका छन् । घटना रहस्यमय भएकोले अनुसन्धानका लागि विज्ञसहितको विशेष टोली खटिएको पर्साका प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरले बताए ।
    यता वीरगंज राधेमाईका ९ वर्षीय बालक राजन पटेलको हत्या भएको दुई वर्ष बितिसक्दा पनि पर्सा प्रहरीले हत्यारा पत्ता लगाउन सकेको छैन ।
    ग्रेस स्कूलमा कक्षा ३ मा पढ्दै गरेका राजन २०७३ असोज १९ गते बेपत्ता भएका थिए । उनको शव त्यसको भोलिपल्ट वीरगंज चिनी मिल आवास क्षेत्र पछाडि फेला परेको थियो ।
    राजनका बुवा विनोद पटेलले  बेला बेलामा जिल्ला प्रहरी कार्यालय धाइरहेपनि २ वर्षदेखि आश्वासनबाहेक केही नपाएको गुनासो गरेका छन् ।

६ दिनदेखि बालक बेपत्ता
    पटेर्वा सुगौली–५ निचुटाबाट एकजना बालक विगत ६ दिनदेखि बेपत्ता छन् । मनोज पटेलका ९ वर्षीय छोरा कृष्ण पटेल असोज १६ गतेदेखि बेपत्ता भएको पीडितका पिताले बताए ।
    गाउँमै रहेको एक बोर्डिङ स्कूलमा युकेजीमा पढ्ने पटेल बेपत्ता भएपछि परिवारमा चिन्ता छाएको छ ।
    घटनाबारे जिल्ला प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालयमा उजूरी दिएको भएपनि खोजतलाशका लागि कुनै पहल नभएको पीडित मनोज पटेलले जानकारी दिएका छन् ।

SHARE THIS

Author: Prateek Daily

वीरगंजबाट प्रकाशित राष्ट्रिय “क” वर्गको दैनिक पत्रिका

0 comments:

Find us