Sunday, October 13, 2019

पूर्वमन्त्री आफताब आलम पक्राउ रिहा नगरे आन्दोलन –सभापति यादव

प्रस, रौतहट, २६ असोज/
    रौतहट क्षेत्र नं २ बाट निर्वाचित सांसद एवं पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई आइतवार प्रहरीले पक्राउ गरेको छ ।
    आज बिहान प्रहरी प्रधान कार्यालय काठमाडौंबाट खटेको प्रहरी टोलीले आलमलाई निजको घर राजपुर, फरहदवाबाट पक्राउ गरेको हो । प्रारम्भिक सूचना अनुसार संविधानसभा निर्वाचनमा बुथ क्याप्चर गर्ने उद्देश्यले आप्mनै घरमा बम बनाउन लाग्दा विस्फोट भई घाइते भएकामध्ये १३ जनालाई नजीकैको इँटाभट्टामा जलाएर मारेको आरोपमा उनलाई पक्राउ गरेको थाहा हुन आएको छ । 
    रौतहट, राजपुर–४ खरहवामा भएको सो विस्फोटनमा घाइते भएपछि जलाइएका दुईजना युवक त्रिलोकप्रताप सिंहका बाबु र कौशी अख्तर मियाँकी आमाले आलममाथि कारबाईको माग गर्दै जिल्ला प्रहरी कार्यालय, रौतहटमा निवेदन दिएका थिए । तर प्रहरीले आलमविरुद्ध जाहेरी नलिएपछि उनीहरू सर्वोच्च अदालतको शरणमा पुगेका थिए ।
    रिटमाथि सुनवाइ गर्दै तत्कालीन न्यायाधीशद्वय सुशीला कार्की र भरतबहादुर कार्कीको संयुक्त इजलासले १६ जेठ २०६९ मा दोषी आरोपित आलमसहित पाँचजनालाई गिरफतार गरी कारबाई प्रक्रिया अघि बढाउन आदेश दिएको थियो ।
    अदालतको आदेशपछि पनि आलमलाई प्रहरीले पक्राउ गर्न सकेको थिएन । आदेशको ६ वर्षपछि र
घटनाको एक दशकपछि आज एक्कासि प्रहरीले पूर्वमन्त्री आलमलाई पक्राउ गरेको छ ।
    यसैबीच पूर्वमन्त्री आलमलाई पक्राउ गरेको विरोधमा नेपाली कांग्रेस, रौतहटका सभापति कृष्णा यादवले पत्रकार सम्मेलन गरेर निन्दा गरेका छन् ।
    आज दिउँसो आयोजित पत्रकार सम्मेलनमा सभापति यादवले कम्युनिस्ट सरकारले विपक्षीलाई हेर्न नचाहने, सरकारविरुद्ध बोल्नेलाई पक्राउ गरी यातना दिइरहेको आरोप लगाए । उनले नेकाको कार्यक्रमलाई प्रभावित पार्न पूर्वमन्त्री आलमलाई पक्राउ गरिएको बताए ।
    सर्वोच्च अदालतमा विचाराधीन मुद्दामा प्रहरीले पक्राउ गर्नु उचित नभएको यादवले बताए । पूर्वमन्त्री  आलमलाई अविलम्ब रिहा नगरे चरणबद्ध आन्दोलन गर्ने उनले चेतावनी दिए ।

SHARE THIS

Author: Prateek Daily

वीरगंजबाट प्रकाशित राष्ट्रिय “क” वर्गको दैनिक पत्रिका

0 comments:

फरक समाचार

Find us