Thursday, October 10, 2019

सुनीता महतोमाथि बज्रपात, जीवन रक्षाको अपिल

विमला गुप्ता, वीरगंज, २३ असोज/
    बाराको सुनीता महतोलाई पतिले छोडेर गएको २० वर्षपछि उनको जीवनमा दोहोरो बज्रपात भएको छ । यही भदौ १ गते उनलाई ब्रेन ट्युमर भएको थाहा पाएपछि अहिले उनी मृत्युसँग लडिरहेकी छन् । उपचारको लागि पर्याप्त पैसा नपुग्दा ज्यानको रक्षा गरिदिन अहिले उनी सहयोगी हातको पर्खाईमा छिन् ।
    आर्थिक समस्याका कारण उपचार पाउन नसकेकी उनले आर्थिक सहयोग दिएर ज्यानको रक्षा गरिदिन आग्रह गर्दैछिन् । सामान्य चिया पसल सञ्चालन गर्दै आएकी महत्तो विगत दुई महीनादेखि मृत्युसँग लड्दै आइरहेकी छन् । महतोको मस्तिष्कको अपरेशन गर्नुपर्ने भएकोले दश लाख रुपियाँ आवश्यक परेको पीडित सुनीता महतोले बताइन् ।
    बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका–४ बिसौलियाकी ४० वर्षीया महतोले छोरी पाएको थाहा पाएपछि पतिले छोरीको मुख पनि नहेरी छोडेर गए । यसरी एकल महिला भएर बसेकी आफ्नो र छोरीको आजीविकाको लागि विगत १८ वर्षदेखि अरूको घर घरमा गएर भाडा माझ्ने काम गर्दै गुजारा गर्दै आएकिथिइन् । व्यापार गर्नुपर्ने सोचले उनले  दुई वर्ष अघि छोरीको सहयोगमा एउटा चिया पसल सञ्चालन गरिन् । अहिले उनकी छोरी २० वर्षकी भएकी छिन् ।
    परिवारमा कमाउने कोही नभएपछि छोरी सपना कुमारीले कक्षा ८ सम्ममात्र आप्mनो पढाइलाई निरन्तरता दिन सकिन् । विगत ४ वर्षदेखि पढाइ छोडेर चिया पसलमा सघाउँदै आएकी छोरी सपना आमाको स्वास्थ्य अवस्था देखेर चिन्तित छिन् । घरमा कमाउने कोही नभएको बेला आर्थिक अभावका कारण औषधि उपचारको खर्च कहाँबाट जुटाउने भन्ने चिन्ताले आमाछोरीलाई सताएको छ ।
    पहिलेदेखि हल्का टाउको दुखाइलाई सामान्यरूपमा लिएकी पीडित महतोलाई यही भदौ १ गते एक्कासि सहन नसक्ने दुखाइ शुरू भएपछि वीरगंजस्थित न्युरो अस्पतालमा उपचार गराइन् तर यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि काठमाण्डौंस्थित न्युरो अस्पतालमा लगियो ।
    काठमाण्डौंमा उपचार गरेपछि त्यहाँका चिकित्सकहरूले बिरामी सुनीतालाई ब्रेन ट्युमर भएको जानकारी गराउँदै मस्तिष्कको अपरेशन गर्नुपर्ने सुझाव दिएका छन् ।
    उनको आर्थिक अवस्थालाई हेर्दै अहिले जितपुर सिमराका स्थानीय सामाजिक अभियन्ताहरूले सुनीता बचाऊ अभियान नै सञ्चालन गरेका छन् । अभियान अन्तर्गत बिरामीकै छोरी सपना कुमारीको नामको बैंकमा खातासमेत खोलिएको छ । एस.बि.आई बैंक सिमरा बारामा सपना कुमारीको नाममा खोलिएको खाता नम्बर २५३१५२४३२००००४ मा सम्पूर्ण नेपालीले आर्थिक सहयोग गरेर सुनीता बचाऊ अभियान सफल पार्न अभियानका अगुवा श्यामबाबू गुप्ताले अपिल गरेका छन् ।
    अभियान अन्तर्गत अहिलेसम्म स्थानीय व्यक्तिद्वारा ३२ हजार सहयोग उपलब्ध भएको छोरी सपनाले जनाएकी छन् ।
    दश लाख रुपियाँँको खाँचो भएकोले सुनीताको जीवन रक्षाको लागि अझै बढी सहयोगी हातहरूको खाँचो रहेको बताउँदै स्थानीय श्यामबाबू गुप्ताले रोगले सानो ठूलो नगन्ने र जो कोही पनि बिरामी हुन सक्ने भएकाले सुनीतालाई सहयोग गर्न सबै जुटनुपर्ने कुरामा जोड दिएका छन् ।

SHARE THIS

Author: Prateek Daily

वीरगंजबाट प्रकाशित राष्ट्रिय “क” वर्गको दैनिक पत्रिका

0 comments:

Find us