Thursday, October 10, 2019

किन बढ्दै छ व्यापार घाटा ?

शीतल महतो
    मुलुकको आर्थिक विकासको मेरुदण्डको रूपमा व्यापारलाई लिने गरिन्छ । रोजगार सिर्जना गरी जनताको जीवनस्तर उकास्नु तथा गरीबी न्यूनीकरणमा व्यापार क्षेत्रको अहम् भूमिका हुन्छ । कुनै पनि मुलुकको अर्थतन्त्रलाई गतिशील बनाउन त्यहाँको व्यापारको महŒवपूर्ण भूमिका हुने गर्छ । निर्यातभन्दा आयातको आर्थिक भार वृद्धि भई असन्तुलित हुनु नै व्यापारघाटा हो । नेपालमा व्यापारघाटा बर्सेनि बढ्दो छ ।
    नेपालको वैदेशिक व्यापारको संरचना हेर्दा निर्यातको तुलनामा आयात अधिक रहेको छ । भूपरिवेष्ठित मुलुक भएकोले वैदेशिक व्यापारमा समुद्रसम्मको पहुँचका लागि भारतमाथि निर्भर हुनुपर्ने र यातायात खर्च बढी लाग्ने भएकोले सामानको लागत पनि स्वतः बढ्ने गरेको पाइन्छ । भौगोलिक कारणले गर्दा पनि नेपालको वैदेशिक व्यापारको झन्डै दुई तिहाई अंश भारततर्पm निर्भर रहेको छ । व्यापार उदारीकरणको नीति अवलम्बन गरेपश्चात् नेपालको बाह्य व्यापारमा खुलापनमा वृद्धि भएपनि आयात र निर्यातमा विविधीकरण हुन नसक्नुले नै व्यापारघाटा उच्च दरले बढ्दै गएको छ । व्यापार खुलापनको सूचकका रूपमा रहेको कुल व्यापारको कुल गार्हस्थ्य उत्पादनसँगको अनुपात आर्थिक वर्ष २०४७–४८ मा २५.४ प्रतिशत रहेकोमा यसमा वृद्धि भई आर्थिक वर्ष ०७२–७३ सम्म आइपुग्दा ३७.५ प्रतिशत पुगेको छ । सोही अवधिमा व्यापारघाटाको कुल गार्हस्थ्य उत्पादनसँगको अनुपातमा भने १३.२ प्रतिशतबाट वृद्धि भई ३१.३ प्रतिशत रहन पुगेको छ ।
व्यापारघाटा उच्च हुनुका प्रमुख कारण
    विगत केही वर्षदेखि समग्र व्यापारघाटा वृद्धिदर उच्च रहेको छ । विप्रेषणमुखी उपभोगको विस्तारसँगै वस्तु आयात उच्च दरले बढेको तथा वस्तु निर्यातको वृद्धिदर आयातको तुलनामा न्यून रहेकोले कुल वैदेशिक व्यापारमा व्यापारघाटा उच्च रहेको हो । अधिकांश नेपालीको रोजगारको क्षेत्र कृषि भए पनि केही वर्ष यता कृषिजन्य वस्तुको आयात पनि उच्च दरले बढेको छ । कृषि क्षेत्रको उत्पादन तथा उत्पादकत्व बढाउन सकिएको छैन । आन्तरिक बजारमा रोजगारका अवसर सिर्जना गर्न नसक्दा बाह्य मुलुकतर्पm कामदार जाने क्रम बढ्दो छ । फलस्वरूप कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व बढाएर कृषिजन्य वस्तुको आयात प्रतिस्थापन गर्ने कार्य चुनौतीपूर्ण बन्दै गएको छ ।
    त्यसैगरी कुल आयातमा करीब २० प्रतिशत हिस्सा रहेको पेट्रोलियम पदार्थको उपयोगमा भएको वृद्धिदर उच्च व्यापार घाटाका प्रमुख कारण रहेको छ । आयात गरिएका पेट्रोलियम पदार्थको वैकल्पिक प्रयोग गर्ने र जलविद्युत्लगायत अन्य ऊर्जाका स्रोतहरूको पर्याप्त उत्पादन गर्ने हाम्रो रणनीति र कार्ययोजना हुनुपर्दछ । जसले गर्दा पेट्रोलियम पदार्थको आयातमा न्यूनीकरण गरी समग्र आयातको प्रतिस्थापनमार्पmत उच्च व्यापारघाटा न्यूनीरकण गर्न सकिन्छ ।
व्यापारघाटा कसरी कम गर्ने ?
    नेपालले वैदेशिक व्यापारबाट फाइदा लिने हो भने यसलाई सर्वप्रथम व्यापारिक तथा व्यावसायिक हिसाबले हेर्नु आवश्यक छ । देशको आर्थिक एजेन्डामा राजनीतिक सहमति र सहकार्य आवश्यक छ । सरकारले यस क्षेत्रमा रहेका नीतिगत अस्पष्टताहरूलाई हटाउनुपर्छ र आप्mनो भूमिकालाई पूर्वाधारहरूको निर्माण गर्ने, विभिन्न देशहरूसँग व्यापारिक सम्झौता गर्ने, भन्सारजन्य अवरोध हटाउन सहयोग गर्ने कार्यमा केन्द्रित गर्नुपर्छ । निर्यातजन्य सूचीमा परेका वस्तुको गुणस्तर बढाउने र लागत घटाउने किसिमका नीति लागू गर्दै जानुपर्छ । भूपरिवेष्ठित मुलुक भएको कारण समुद्रको पहुँच र यातायातका कारण लागत मूल्य उच्च पर्ने जोखिमलाई कम गर्न राज्यले दीर्घकालीन योजना बनाई सोही अनुरूप रणनीतिक लक्ष्य हासिल गर्नका लागि बृहत् कार्ययोजना बनाउनु आवश्यक छ ।
    तुलनात्मक र प्रतिस्पर्धात्मक लाभका दृष्टिले नेपालको कृषि, पर्यटन र जलविद्युत् उच्च सम्भावना भएका क्षेत्रहरू छन् । व्यापारघाटा कम गर्न मुख्य व्यापार साझेदारीका रूपमा रहेको भारत र चीनतर्पmको तुलनात्मक र प्रतिस्पर्धात्मक लाभ भएका वस्तु तथा सेवाको खोजी गर्ने र त्यसको उत्पादन र निर्यात गर्ने नीति अवलम्बन गर्नु आवश्यक छ । यसका लागि अहिले देखिएको भारतसँगको व्यापारघाटा कम गर्ने सबैभन्दा उपयुक्त उपाय भनेको कृषि, पर्यटन र जलविद्युत् क्षेत्रको विकास गरी करीब २० प्रतिशत हिस्सा रहेको पेट्रोलियम पदार्थको आयातलाई प्रतिस्थापन गर्ने र विद्युत् भारततर्पm निर्यात गर्ने नै हो । त्यसैगरी चीनतर्पmको व्यापारमा सुधारका लागि यातायात पूर्वाधारको विकास गरी चीन र नेपाललाई सहज रूपमा जोड्नु नै हो ।
    यसरी कृषि, पर्यटन तथा जलविद्युत् क्षेत्रको दिगो र प्रभावकारी व्यवस्थापनमार्फत यसको व्यावसायिक विकासमा लाग्ने हो भने नेपालमा आत्मनिर्भरमूखी अर्थतन्त्रको विकास गर्न सकिन्छ । यसका लागि आम नेपालीलाई धेरै समय कुरेर बस्नुपर्दैन । स्पष्ट र विशेष रणनीति बनाएर त्यसलाई पूर्ण राजनीतिक प्रतिबद्धताका साथ कार्यान्वयन गर्न सक्यौं भने हामीले छोटो समयमा नै आत्मनिर्भरमुखी अर्थतन्त्रको निर्माण गर्न सक्छौं । आर्थिक विकासको ठूलो सम्भावना भएको कृषि, पर्यटन र जलविद्युत् क्षेत्रको दिगो व्यावसायिक विकास गर्न सक्यौ भने यसले व्यापार घाटालाई न्यून गर्न सक्दछ ।
    नेपालको प्रमुख उत्पादन कृषिजन्य वस्तु हो । निकासी हुने वस्तुमा अप्रशोधित वा अर्धप्रशोधित जडीबुटी प्रमुख सम्भावना भएका बस्तु हुन् भने अदुवा पनि ठूलो परिमाणमा भारततर्फ निकासी हुने वस्तु हो । तर यी वस्तुको निकासीमा भारतमा भन्सार र गैरभन्सार अवरोध प्रशस्त देखिएको छ । नेपालवाट कृषिजन्य वस्तु निर्यात गर्दा पटक–पटक प्लान्ट क्वारेन्टाइनसम्बन्धी समस्या सिर्जना गर्ने गरिएको छ ।
    यसका साथै नेपाल बहुधार्मिक, बहुसांस्कृतिक र बहुभाषिक मुलुक भएकोले यहाँ धार्मिक तथा सांस्कृतिक पर्यटनको पनि ठूलो सम्भावना छ । यो क्षेत्रमा धेरै भारतीय पर्यटकलाई आकर्षित गर्न सकिन्छ । विशेषगरी नेपालमा सबैभन्दा बढी पर्यटक भारतबाट आउने भएकाले सोको सहजीकरणका लागि आवश्यक व्यवस्था गर्नुपर्ने देखिन्छ । हिन्दू र बुद्धिस्ट सर्किट बनाई नेपालमा भारतीय धार्मिक पर्यटक भिœयाउन सकिन्छ र यसका लागि नेपालले विशेष कूटनीतिक पहल गर्नु आवश्यक छ ।
    नेपाल आउने भारतीय पर्यटकहरू सुरक्षित रहने सन्देश प्रवाहित गर्नु आवश्यक छ । तर त्यसका लागि ती गन्तव्यसम्म पुग्ने सहज वातावरणको निर्माण, सुविधा सम्पन्न वासस्थान र सुरक्षा व्यवस्थापन तथा नयाँ गन्तव्यको पहिचान र प्रवद्र्धन गर्न सक्नुपर्दछ । नेपाल बुद्धको भूमि भएको र चिनियाँहरू नेपालको लुम्बिनीसम्मको सहज यातायातको पूर्वाधार भएमा नेपालमा चीनबाट पर्यटकहरूलाई आकर्षित गर्न सकिने बलियो सम्भावना रहेको छ । सहज यातायातको पूर्वाधार भएमा विश्वका अन्य मुलुकहरूबाट पनि पर्यटकहरूलाई आकर्षित गर्न सक्ने ठूलो सम्भावना छ । चीनको पछिल्ला वर्षहरूमा निरन्तर उच्च आर्थिक वृद्धिका साथ आप्mनो अर्थतन्त्र बलियो बनाउँदै लगेको र चिनियाँ जनता नेपालमा घुम्न धार्मिक कारणले पनि सम्भव रहेको हुँदा आर्थिक तथा धार्मिक कारणबाट चीन तथा भारतका पर्यटकहरूलाई नेपालमा आकर्षित गर्न सकिन्छ । यसका लागि यातायात पूर्वाधारको विकास अपरिहार्यजस्तै छ ।
    लामो प्रयासका बावजुद पनि विकासका पूर्वाधारहरू निर्माण गर्न नसकिएको अवस्था रहेको सन्दर्भमा चिनियाँ रेलमार्गलाई नेपाली नाकासम्म र चिनियाँ नाकाबाट काठमाडौं, पोखरा, लुम्बिनीसम्म जोड्ने अहिलेको बहसलाई सार्थक तुल्याई अगाडि बढ्नु आवश्यक छ । त्यसका साथै तुलनात्मक लाभ बढी भएका एवं बढी मूल्यवान् वस्तुहरूलाई देशगत विविधीकरण गर्नुपर्ने र प्रचारप्रसार गर्नुपर्ने आवश्यकता छ ।
    अर्कोतर्फ भारतीय सप्mटवेयर कम्पनीहरूलाई नेपालमा लगानी गर्न प्रोत्साहित गर्नुपर्ने आवश्यकता त्यतिकै देखिएको छ । युनिलिभर र डाबर नेपालको उदाहरण दिएर अन्य भारतीय कम्पनीलाई नेपालमा लगानी गर्न आकर्षित गर्न सक्नुपर्दछ । यसका लागि त्यहाँका उद्योगी व्यवसायीहरूलाई नेपालमा लगानी मैत्री वातावरण रहेको विश्वास नेपालले दिलाउन सक्नुपर्दछ ।
    यसरी उच्च आयात र त्यसको प्रभावसँगै जन्मेको कहालीलाग्दो व्यापार घाटा नियन्त्रण गर्ने एकमात्र प्रभावकारी विधि भनेको नै आन्तरिक उत्पादन वृद्धि गर्नु हो । सबै वस्तुमा आत्मनिर्भरता सम्भव नभएपनि कम्तीमा कृषिजन्य वस्तु, पर्यटन र स्वदेशी कच्चा पदार्थमा आधारित उद्योगहरूको क्षमता बढाई आन्तरिक उत्पादनको आधार बढाउनुको अर्को विकल्प छैन ।

SHARE THIS

Author: Prateek Daily

वीरगंजबाट प्रकाशित राष्ट्रिय “क” वर्गको दैनिक पत्रिका

0 comments:

Find us