Friday, October 25, 2019

साहित्यको सम्मान र महाकवि देवकोटा

सञ्जय मित्र
    नेपाली साहित्यमा महाकवि लक्ष्मीप्रसाद देवकोटालाई मानिएको छ ।
    देवकोटाको जन्म २७ कात्तिक १९६६ मा काठमाडौंमा भएको हो । त्यो वर्ष त्यस दिन लक्ष्मीपूजा थियो । तराई मधेसमा दीपावली र अन्यत्र लक्ष्मीपूजा भनेर त्यत्ति बेला चिनिने यो पर्वकै दिन राति लक्ष्मीको पूजा गरिसकेपछि जन्म भएकोले लक्ष्मीको प्रसाद मानेर यिनको नाम नै लक्ष्मीप्रसाद राखिएको थियो । कालान्तरमा यिनी लक्ष्मीप्रसाद बन्नुभन्दा सरस्वतीप्रसाद बन्न पुगेका थिए ।
    देवकोटाको जीवन निकै उतारचढावपूर्ण रहेको थियो । धनको लागि कहिल्यै उनी मरिहत्ते गरेनन् । आप्mनो आदर्श बनाए लेखनको मर्मलाई । मानवतावादका उनी आपैंmमा उदाहरण थिए । मानिसलाई नै देवता मान्दथे । ईश्वरमाथि विश्वास थिएन भन्ने होइन । दुःखी र पीडितको भावमा ईश्वरको बोली हुन्छ भन्ने उनका रचना र जीवनदर्शन तथा व्यवहारले अन्य धेरैलाई पनि मानवतावादको बाटोमा डो¥याउन सफल भएका थिए ।
    देवकोटाले साहित्यका प्रायः सबैजसो विधामा कलम चलाएका छन् । उनको लेखनीको जादूले तत्कालीन विश्वका साहित्यकारहरू मोहित भएका थिए । एकजना प्रसिद्ध भारतीय साहित्यकारले देवकोटाको प्रतिभाको प्रशंसा गर्दै भनेका थिए– पन्त, प्रसाद, निरालाको समन्विति देवकोटा हो ।    त्यति बेला भारतमा छायावाद उत्कर्षमा थियो । बङ्गाली कवि रवीन्द्रनाथ टैगोरको छायावादले भारतमा निकै चर्चा पाएको थियो । पाश्चात्य साहित्यमा भने रोमान्टिज्मले केही दशकदेखि प्रभुत्व जमाएको थियो र भारतमा तत्कालीन अवस्थामा रहेको ईश्वरभक्तिको मूल भावनाबाट छायावाद केही हदसम्म प्रभावित थियो । त्यसैको थोरबहुत प्रभाव देवकोटामा पनि परेको देखिन्छ । देवकोटाको प्रभावमा छायावाद आइसकेपछि नेपालीमा स्वच्छन्दतावाद धारा कहलिएको हो । नेपाली साहित्यमा स्वच्छन्दतावादी धाराको प्रारम्भकर्ता पनि देवकोटालाई नै मानिन्छ र उनी नै यस धाराका केन्द्रीय प्रतिभा पनि हुन् ।
    छायावादको अनुकरण हो स्वच्छन्दतावाद कि अनुवाद हो भन्ने विषयमा बहस गर्न सकिन्छ । कतिपयले छायावादकै नेपालीकरण अर्थात् नेपाली मौलिक विशेषतासहितको छायावाद नै स्वच्छन्दतावाद हो भनेका छन् ।
    मुक्तक गीति शैली अर्थात् वैयक्तिकता, भावात्मकता, साङ्गीतिकता, संक्षिप्तता, कोमलताका साथै प्रतीकात्मकता, प्राचीन एवं नवीन अलङ्कारहरूको प्रचुर मात्रामा प्रयोग, मानवीकरण, विरोधाभास तथा कोमलकान्त संस्कृतमय शब्दावलीलाई छायावादका विशेषता मानिएको पाइन्छ । छायावादको विषयमा त्यत्ति धेरै प्रकाश पारिएको पाइन्न जति धेरै स्वच्छन्दतावादको विषयमा चर्चा गरिएको पाइन्छ । नेपाली काव्यधारामा पनि स्वच्छन्दतावाद सबैभन्दा बढी चर्चा गरिएको साहित्यिकवाद हो ।
    हुनत देवकोटा कवि हुन् । अझ उनलाई सबैले कवि भनेर चिन्दछन् । तर उनी कवि नभएका भए के हुन्थे ? भनेर प्रश्नको जवाफ खोजी गर्ने हो भने निबन्धकार आउँछ उत्तरमा । हो, उनी निबन्धकार कहलाउँथे । अहिलेसम्म नेपाली साहित्यमा महानिबन्धकार कसैलाई किन भनिएको छैन भने देवकोटाको निबन्धात्मक उचाइ बराबरको निबन्ध अरू कसैले लेख्नै सकेनन् । हो, अमूर्त निबन्धलेखनमा शङ्कर लामिछानेले निकै ठूलो उचाइ प्राप्त गरेका छन्, यसमा कसैको विमति छैन तर देवकोटाको निबन्धको उचाइसित कसैको तुलना नै गर्न मिल्दैन भन्ने तर्क पनि कमजोर होइन । सर्वसाधारणले पनि देवकोटालाई महाकविको रूपमा स्वीकार गरेकोले पनि उनी महाकविमा सीमित भएका हुन् । हो, देवकोटालाई महाकविमा सीमित गरिएको पनि भन्छन् किनभने देवकोटा काव्य क्षेत्रका मात्र महान् सर्जक थिएनन् । उनको सिर्जनाको आयाम नेपाली साहित्यमा तत्कालीन अवस्थामा प्रचलनमा रहेका प्रायः सबैजसो विधासम्म पैmलिएको हुनाले उनलाई महासाहित्यकार किन नभन्ने ? भन्नेतर्पm यदाकदा उठ्ने गरेका छन् ।
    हुनत साहित्यको पर्यायको रूपमा कवितालाई पहिले नलिइएको होइन । काव्य भनेपछि कविता मात्र नबुझेर सम्पूर्ण साहित्य नै बुझिने युग पनि थियो । यस कारण कवि भनेपछि कविता लेख्ने मात्र नबुझेर साहित्यको जुनसुकै विधामा कलम चलाउने हुन् भनेर बुझिन्थ्यो । आजसम्म पनि यस धारणाबाट हाम्रो समाज पूर्णरूपमा मुक्त हुन सकेको छैन । कवि भनेर सम्पूर्ण साहित्यसर्जकलाई बुझाउनुलाई अस्वाभाविक पनि मानिन्न । साहित्यकारहरूले पनि यसलाई स्वीकार गरेको पाइन्छ । यस तर्कको आधारमा देवकोटालाई महाकवि भन्नु महासाहित्यकार मान्नु पनि हो ।
    यदि स्वच्छ शब्दको अर्थ सफा र मनमोहक हो भने देवकोटाको परिचय निरन्तर स्वच्छन्द विस्तार भइरहेको छ । देवकोटाको परिचयलाई कुनै छायाले छेक्न सकेको छैन । कसैले छेक्ने प्रयास पनि गरेको छैन । देवकोटाका समकालीनहरूमध्ये शायदै कसैले उनको आलोचना गरेका होलान् । यसको विपरीत देवकाटाका समकालीन तथा अग्रज साहित्यकारसमेतले उनको गर्नुसम्म प्रशंसा नै गरेका छन् । देवकोटाको प्रशंसाले देवकोटाको आयामलाई विस्तार गरेको हो जस्तो लाग्दैन । बाध्यतावश देवकोटाको प्रशंसा गरेका उदाहरणहरू पर्याप्त छन् । देवकोटाको आलोचना गर्न नसकेर पनि प्रशंसा गरेका हुन् ।
    वास्तवमा साहित्यको क्षेत्रमा भर्खर लागेकाहरूले अग्रजहरूलाई सोझो प्रश्न गर्दछन् कि मैले कुनै एकजनाको दुई/चार वटा कृति पढ्नु पर्दा पहिले कुन साहित्यकारको कृति पढूँ ? तब सजिलै जवाफ दिन बाध्यता हुन्छ कि देवकोटाको । हो, यदि प्रश्नमा अरू केही विशेषण थपिएको छ भने त्यसको उत्तर फरक आउन सक्ला तर देशको नेपाली भाषाको सबैभन्दा ठूलो साहित्यकार, देशको सर्वोत्कृष्ट साहित्यकार तथा सर्वोच्च साहित्यकारको रूपमा कसैले आपूmलाई वा देवकोटाबाहेक अन्यलाई चिनाउने हिम्मत गरिहाल्ने अवस्था आएको छैन ।
    देवकोटाको भौतिक देहावसान भएको पचासौं वर्ष बितिसकेको भएपनि उनको ठाउँमा, उनको साहित्यिक उचाइको ठाउँमा, उनलाई छायामा पार्ने गरी कोही आउन नसक्नुमा देवकोटाको समर्पण, त्याग र साहित्यमा भएको लगानी नै हो । देवकोटा अद्वितीय प्रतिभाका थिए । उनी नेपाली साहित्यका वरदान नै थिए । साहित्य उनको जीवन थियो । यसैले उनी आप्mनो जीवनजस्तै साहित्यमा पनि बग्दै गए । उनको प्रतिभाको विस्तार हुँदै गयो । साहित्यमा विचारको परिमार्जन हुँदै गयो । हुन सक्छ प्रारम्भमा देवकोटालाई साहित्यले चिनाएको होला तर नेपाली साहित्यलाई देवकोटाले चिनाएका हुन् । देवकोटाको लेखनको स्तरले नेपाली साहित्यको स्तरवृद्धि भएको हो । उनको लेखनीले नेपाली भाषाको स्तरमा पनि वृद्धि भएको हो । नेपाली साहित्यको मान र सम्मान विश्वमा वृद्धि भएको हो ।
    देवकोटाले धेरै कृति लेखे । धेरै कृति लेख्नु ठूलो कुरो होइन । कृतिको सङ्ख्या अन्य साहित्यकारको पनि धेरै हुन सक्छ । ती कृतिले नेपाली साहित्यमा दिएको योगदान तथा नेपाली समाजले प्राप्त गरेको उपलब्धिसमेतलाई पनि विचार गर्नुपर्छ । देवकोटाको मुनामदन कृति नेपाली साहित्यमा अहिलेसम्म सबैभन्दा बढी बिक्री हुने पुस्तकको रूपमा रहेको छ ।
    देवकोटाको जन्म केका लागि भएको थियो ? सम्भवतः अध्यात्मवादीहरूले यस प्रकारको पनि उत्तर दिन सक्लान्– उनी साहित्यकै लागि जन्मिएका थिए ।
    नेपाली साहित्यमा छायावादको प्रवेश, स्वच्छन्दतावादको उन्नयन तथा प्रगतिवादी साहित्यको प्रवद्र्धनमा देवकोटाको योगदान नेपाली साहित्यको अमूल्य सम्पत्तिको रूपमा रहेको छ ।


SHARE THIS

Author: Prateek Daily

वीरगंजबाट प्रकाशित राष्ट्रिय “क” वर्गको दैनिक पत्रिका

0 comments:

Find us