Friday, October 18, 2019

को हुन् सात बहिनी जगदम्बा ?


सञ्जय मित्र
    देहातको हरेक गाउँ जहाँ हिन्दूको बसोबास छ, त्यस गाउँमा ब्रह्म भगवतीको मन्दिर हुन्छ नै । गाउँमा ब्रह्म भगवती भनिए पनि सात बहिनी जगदम्बाको स्थान पनि भनिन्छ । सात बहिनी जगदम्बालाई कतिपय स्थानमा राम्रो मन्दिर बनाएर पूजा गरिएको पाइन्छ भने कतै परम्परागत गहबर शैलीको मन्दिरमा नै पूजा भइरहेको छ ।
    ब्रह्म भगवतीको महŒव कति छ भने आजसम्म कुनै पनि गाउँमा कतैबाट जन्ती आउँदा दुलहालाई दुलहीका पिताको घरमा लैजानुभन्दा पहिले ब्रह्म भगवतीमा अवश्य ढोग्न लगाउन लगिन्छ । यसैगरी, गाउँबाट जन्ती लिएर दुलहा निस्कँदा वा गाउँमा कोही केटीको बिहे हुँदा ब्रह्म भगवती पूजा अनिवार्य हुन्छ । यो आम संस्कृति हो । आजसम्म यसलाई जस्ताको त्यस्तै निर्वाह गरिंदै आएको छ देहात समाजले ।
    वर्षमा कमसेकम एकचोटि ब्रह्म भगवतीको गमाला (सार्वजनिक) पूजा अवश्य हुन्छ गाउँमा । वर्षभरि पूजा भइरहन्छ तर गमाला पूजा चाहिं दशैंको महानवमीको दिन हुन्छ अधिकांश गाउँमा । यसै दिन हुनुपर्छ भन्ने होइन तर अधिकांश गाउँमा गमाला पूजा दशैंमा नै गरिन्छ । हरेक शुभ कार्यमा ब्रह्म भगवतीको पूजा गरिन्छ नै । हरेक शुभ दिनमा ब्रह्म भगवतीलाई मानिसले पूजा नगरी हुँदैन । हरेक धार्मिक यात्राको शुभारम्भ गर्दा ब्रह्म भगवतीलाई पूजा गरेर मात्र बाहिरको यात्रा गर्ने आम चलन छ ।
    ब्रह्म भगवतीमा भगवती भनेका को हुन् त ? मनमा धेरै वर्षदेखि खुल्दुली रहेको थियो । भगवतीको गहबरमा सातवटा स्थान बनाइएको हुन्छ प्रायः । लोकव्यवहारमा पनि सात बहिनी जगदम्बाको कुरा आउँछ । जबकि दशैंमा दश रूपको पूजा हुन्छ । दशैंमा दुर्गा पूजामा दुर्गासमेत दशजनाको पूजा दश दिन हुने तर गाउँको गहबरमा भने सात बहिनी भनेर पूजा हुने । दुर्गा पूजाका दश देवीमध्ये सात देवी उनै हुन् कि फरक हुन्जस्ता जिज्ञासा पनि कहिलेकाहीं मनमा उठ्थ्यो । खुल्दुलीलाई शान्त पार्न सक्ने सामथ्र्य भएका तथा नझर्किने र जानेको कुरो बताइदिने व्यक्तिको खोजीमा थिएँ ।
    मध्य रौतहटको सम्भवतः सर्वप्राचीन गाउँ पुर्नीगेडही हो । त्यहाँको गहबरमा वर्षौंवर्ष पूजा गरेका एकजना भक्त छन्, जसले अहिले आप्mनो परम्परागत धार्मिक मत बदलेका छन् । हिन्दू धर्म परिवर्तन गरेका चाहिं होइनन् । हिन्दू धर्मकै एक सम्प्रदायसित बढी नजीक भएका छन् । उनी हुन् ५१ वर्षीय उचित मुखिया बिन । उनले मेरो जिज्ञासा शान्त पार्न सक्छन् र खुल्दुली मेटाउन सक्छन् भन्ने विश्वास थियो मलाई । उनले जे बताए विस्मित हुने गरी । लोकविश्वास, लोकमान्यता वा मिथक जे नाम दिएपनि उनको तर्कमा भने नवीनता छ ।
    सात बहिनी जगदम्बा भनेर गहबरमा स्थान भएकामा बुढियामाई, पूmलमत, राजल, शीतल, डकही, बगेसरी र जगदम्बा हुन् । यी सात बहिनी आजन्मा हुन् अर्थात् मातापिता छैनन् । बुढियामाई भनेका आदशक्ति (सम्भवतः आद्यशक्ति) हुन् । उनैबाट सृष्टिको सृजना भएको हो । ब्रह्मा, विष्णु र महेश बुढियामाईकै सन्तान हुन् । बुढियामाईकै नाभी (नाइटो)बाट ब्रह्मा, विष्णु र महेशको उत्पत्ति भएको हो । सरस्वती, लक्ष्मी र पार्वती तीनै बुढियामाईकै रूप हुन् । बुढियामाईको इच्छा अनुसार आप्mनै सन्तानसित सृष्टि चलाउन विभिन्न स्त्रीरूपमा ब्रह्मा, विष्णु र महेशसित बिहे भएको हो ।
    दशैंको अवधिमा पूजा गरिने देवीहरूमा शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी, सिद्धिदात्री हुन् र यस अवधिमा महाकाली, महालक्ष्मी तथा महासरस्वतीको पनि आराधना गरिन्छ । हरेक दिन एक देवीको दिन मानिन्छ र दशमीको दिन दुर्गा भगवतीको पूजा गरिन्छ भन्ने मान्यता छ ।
    दशैंको अवधिमा गरिने देवीहरूको पूजा र देहातका सात बहिनी जगदम्बाको नाम हेर्दा मेल खाएको अवस्था देखिंदैन । दशैं जसरी औपचारिक र शास्त्रीय पर्व हो । दशैंमा पूजा गरिने देवीहरू पनि शास्त्रीय देवीहरू हुन् । यी देवीहरूको पूजाको विधान पनि छ तर देहातका गहबरमा पूजा गरिने देवीहरूको नाम हेर्दा शास्त्रीय देवीजस्तो देखिंदैन । हुन सक्छ मलाई नाम बताउनेलाई थाहा नभएको होला वा दशैंका शास्त्रीय देवीहरूको अर्को नाम नै बिनले बताएका नामहरू होलान् तर पूजाको विधिविधान पनि लोकमान्यताअनुरूपकै छ । देहातको गहबरमा पूजा गर्ने परम्परागत शैली रहेको छ । पूजा गराइदिन कोही अरू मान्छे नचाहिने रहेछ अर्थात् यसमा पण्डितजी र साधु महाराजको आवश्यकता नपर्ने देखिन्छ ।
    एक/दुई होइन, सैकडौं वा हुन सक्छ हजारौं गाउँमा ग्रामदेवीको रूपमा सर्वपूजित सात बहिनी जगदम्बा लोकदेवी हुन् कि ? ब्रह्मा, विष्णु र महेशलाई जन्माउने, जगत्को उद्धार गर्ने तथा सृष्टिमा मानवजीवनको सुरुआत गर्ने सम्बन्धमा रहेका लोकमान्यताहरूको पनि आप्mनो मूल्य हुनुपर्छ । यो लोकमान्यता निकै मूल्यवान् छ । भक्त बिनले जुन मिथक सुनाए, त्यसको लोकसांस्कृतिक मूल्य उच्च छ ।
    मध्य रौतहटको देहाती समाजको लोकमान्यता र अन्यत्रको लोकमान्यतामा पार्थक्य पनि पाइएला । यिनीहरूका पनि अध्ययन जरुरी छ । कुनै पनि कुराको अन्ध अनुकरण गर्नेहरू छन् तर त्यसपछाडिका कारणबारे जान्न चाहने निकै कम हुन्छन् । गहबरमा पूजा नगर्ने देहाती शायदै कोही होलान् तर मैले कसलाई पूजा गरें भनेर ठोस जानकारी नराखी परम्परागत लोकमान्यताप्रति अन्धविश्वास गरेर परम्पराको निर्वाह गर्दछन् । आपैंmलाई सन्तुष्ट बनाउने अर्थात् आत्मसन्तुष्टि वा मानसिक सन्तुष्टि लिने पूजा कतिपयको लागि देखावा मात्र पनि हुन्छ । कतिपयले अन्तर्हृदयदेखिको श्रद्धा पोख्तछन् ।
    हाम्रो समाजमा रहेका अनेक लोकमान्यता वा मिथकहरू हराइरहेका छन् । मिथकको वैज्ञानिक आधार हुँदैन, शास्त्रीय पुष्टि हुँदैन तर लोकमान्यतामूलक सम्पत्ति हुन्छ । यस प्रकारको सम्पत्तिको संरक्षण देश विदेशमा भइरहेको छ । समाज नै संरक्षणको लागि अगाडि सरेको छ । हामीकहाँ नेपाल प्रज्ञा प्रतिष्ठानले भने अलिकति काम गरेको देखिन्छ तर सीमित । आधुनिक युवाहरूको लागि मूल्यहीनजस्ता लाग्ने यस्ता सम्पदाहरू अत्यन्त तीव्र गतिमा क्षय भइरहेका छन् । क्षयीकरणबाट जोगाउने पो कसरी ?

SHARE THIS

Author: Prateek Daily

वीरगंजबाट प्रकाशित राष्ट्रिय “क” वर्गको दैनिक पत्रिका

0 comments:

Find us