Friday, October 11, 2019

निरक्षर भनिएको जिल्लाबाट १८७ जना भए स्थायी शिक्षक


सञ्जय साह, गरुडा, २४ असोज/
    साक्षरता दरमा देशमा सबैभन्दा पछाडि परेको भनिएको जिल्लाबाट पौने दुई सयजनाभन्दा बढी परीक्षार्थीले शिक्षक सेवा आयोगको स्थायी शिक्षक पदको परीक्षामा एकसाथ नाम निकालेका छन् । साक्षरताको तथ्याङ्कमा देशमा सबैभन्दा पछाडि रहेको भनिएको रौतहट ठेगाना भएका १८७ जना परीक्षार्थीले शिक्षक सेवा आयोगले लिएको पछिल्लो परीक्षामा विभिन्न जिल्लाबाट प्राथमिक तहको स्थायी शिक्षकमा नाम निकाल्न सफल भएको देखिएको छ ।
    शिक्षक सेवा आयोगले हालै निकालेको विभिन्न जिल्लाको प्राथमिक तहको स्थायी शिक्षकको नतीजाको विश्लेषण गर्दा रौतहट ठेगाना भएका उक्त सङ्ख्यामा स्थायी शिक्षक परीक्षामा सफल भएको पाइएको छ ।
    हिमालदेखि मधेससम्मका ४९ जिल्लाका परीक्षार्थीहरूमध्ये रौतहटेलीले स्थायी शिक्षकमा नाम निकाल्न सफल भएका हुन् । रौतहट ठेगाना भएका उम्मेदवारहरूले चितवन, रौतहट, मकवानपुर तथा गोर्खा जिल्लाबाट उल्लेख्य सङ्ख्यामा नाम निकालेको पाइएको छ । विभिन्न जिल्लाबाट थप १८ जनाले वैकल्पिक उम्मेदवारको रूपमा नाम निकालेर चित्त बुझाएका छन् ।
    प्राप्त तथ्याङ्कलाई विश्लेषण गर्दा समावेशी कोटामा रौतहटेलीले पर्याप्त नाम निकालेका छन् । समावेशी आधारलाई हेर्ने हो भने सबैभन्दा बढी मधेसी, त्यसपछि खुल्ला, आदिवासी जनजाति, महिला, अपाङ्गता, दलित र मुस्लिम महिलासमेतको कोटामा पर्याप्त सङ्ख्यामा परीक्षार्थीहरूले सफलता प्राप्त गरेका छन् । १८७ जना सफल परीक्षार्थीमध्ये समावेशीतर्पm ११९ र खुल्लातर्पm ६८ जनाले मात्र नाम निकालेका छन् ।
    रौतहटेली परीक्षार्थीले सबैभन्दा बढी चितवन र रौतहटबाट समान २४/२४ जनाले नाम निकालेका छन् भने मकवानपुरबाट १३ तथा गोर्खाबाट १२ जनाले नाम निकालेका छन् । यसैगरी, अछामबाट एक, बझाङबाट एक, बैतडीबाट पाँच, दार्चुलाबाट एक, कालीकोटबाट दुई तथा हुम्ला र जुम्लाबाट एक/एक जनाले नाम निकालेका छन् । यसैगरी, जाजरकोटबाट दुई, मुगुबाट एक, रुकुमबाट दुई, प्युठानबाट एक, झापाबाट दुई, पाँचथरबाट एक, भोजपुरबाट एक, ओखलढुङ्गाबाट एक, ललितपुरबाट दुई, भक्तपुरबाट एक र काठमाडौंबाट तीनजना रौतहटेली परीक्षार्थीले स्थायी प्राथमिक शिक्षकमा नाम निकालेका छन् ।
    यसैगरी, मनाङ, मुस्ताङ र नुवाकोटबाट एक/एक, रसुवाबाट दुई, म्याग्दीबाट तीन, बागलुङबाट चार तथा लमजुङबाट सातजनाले नाम निकालेका छन् । त्यस्तै, धनुषाबाट एक, पर्वतबाट दुई, काभ्रेपलाञ्चोक र सर्लाहीबाट चार/चार तथा कास्की र धादिङबाट छ/छ जनाले नाम निकालेका छन् । यसैगरी, सिन्धुली र सिन्धुपाल्चोक जिल्लाबाट दुई/दुई, रामेछापबाट चार, महोत्तरी र बाराबाट पाँच/पाँच तथा तनहुँबाट आठजनाले नाम निकालेका छन् । साथै दोलखा, सोलुखुम्बु र पर्साबाट एक/एक, अर्घाखाँचीबाट दुई, गुल्मीबाट तीन, पाल्पाबाट चार र स्याङजाबाट छजनाले नाम निकालेका छन् ।
    देशमा सबैभन्दा बढी प्रतिस्पर्धी मानिने झापा, स्याङ्जा तथा काठमाडौंबाट पनि रौतहटेलीले सफलतापूर्वक नाम निकाल्न सक्नुलाई रौतहटका शिक्षितमा पनि पर्याप्त प्रतिस्पर्धात्मक क्षमता रहेको विश्लेषण गरिएको छ।
    नेपाल राष्ट्रिय शिक्षक सङ्गठन रौतहटका अध्यक्ष धर्मेन्द्रकुमार सिंहले देशको सबैभन्दा बढी निरक्षर कहलिएको जिल्लाबाट यति धेरै सङ्ख्यामा शिक्षक बन्न पुग्नु सम्मानयोग्य भएको प्रतिक्रिया दिएका छन् । उनी भन्छन्– “विविध कारणले रौतहटमा साक्षरता कम देखिएको हुन सक्छ तर देशमा प्रतिस्पर्धा गरेर अगाडि बढ्न रौतहटेली शिक्षित युवा तयार देखिएका छन् ।” झन् वैकल्पिक योग्यताको सूचीमा पनि पर्याप्त रौतहटेली युवकले नाम निकालेर आपूmमा सक्षमता रहेको पुष्टि गरेका छन् ।
    शिक्षक सेवा आयोगले हालसालै निकालेको माध्यमिक तथा निम्न माध्यमिक तहको स्थायी शिक्षक पदको नतीजामा सफल रौतहटेलीको यहाँ गणना गरिएको छैन ।

SHARE THIS

Author: Prateek Daily

वीरगंजबाट प्रकाशित राष्ट्रिय “क” वर्गको दैनिक पत्रिका

0 comments:

Find us