Friday, September 13, 2019

एक लाख घूस रकमसहित ६ जना शिक्षक

प्रस, परवानीपुर, २७ भदौ/
    अख्तियार दुरुपयोग अनुसन्धान आयोग, हेटौंडा कार्यालयले एक लाख घूस रकमसहित तीनजना शिक्षक र तीनजना विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरूलाई पक्राउ गरेको छ ।
    वीरगंज–३१ बेलवास्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालय बेलवा प्रसौनीमा भोलि आधारभूत तहको गणित विषयको शिक्षकलाई करारमा नियुक्त गर्न तोकिएको परीक्षामा पास गराइदिने भन्दै आवेदकसँग १ लाख रुपैयाँ घूस लिएको अवस्थामा वीरगंज–८ वीरगंज आँखा अस्पतालनजीकको नास्तापसलबाट अख्तियारले उनीहरूलाई समाएको हो ।
    पक्राउ पर्नेमा विद्यालयका प्रधानाध्यापक सचिन्द्रकुमार कापर, सहायक प्रधानाध्यापक मनीर मियाँ, शिक्षक सुरेश महतो, विद्यालय व्यवस्थापन समितिका सदस्यद्वय जालिम मियाँ, हजलास मियाँ तथा विद्यालय व्यवस्थापन समितिकी सदस्य सविता खातुनका पति नजमुद्दीन देवानलाई सबुतप्रमाणसहित नियन्त्रणमा लिएको अख्तियारको कार्यालय हेटौंडाकी प्रमुख हुमकला पाण्डेले बताइन् । प्रनि लक्ष्मण खड्का नेतृत्वको टोलीले छापा मारी अभियुक्तहरूलाई पक्राउ गरी हेटौंडातर्पm लगेको र थप अनुसन्धान भइरहेको उनले जानकारी गराइन् ।
    विद्यालयले करारमा शिक्षक नियुक्त गर्न भदौ २८ गते शनिवारका दिन लिखित परीक्षाको समय तोेकेको थियो । त्यसैको पूर्वसन्ध्यामा शुक्रवार साँझ विज्ञापन अनुसार आवेदन दर्ता गराएका एकजना आवेदकसँग परीक्षा पास गराइदिने भन्दै ६ जना मिलेर १ लाख रुपैयाँ लिइरहेका थिए ।

SHARE THIS

Author: Prateek Daily

वीरगंजबाट प्रकाशित राष्ट्रिय “क” वर्गको दैनिक पत्रिका

0 comments:

Find us