Friday, September 13, 2019

रात्रिकालीन सरसफाइ

    वीरगंज महानगरमा रात्रिकालीन सरसफाइको थालनी भएको छ । निजी–सार्वजनिक साझेदारी कार्यक्रम अन्तर्गत यसै साता शुरू भएको रात्रिकालीन सरसफाइ वीरगंजको मुख्यस्थल श्रीपुर, मुर्ली, घण्टाघर, माईस्थान, आदर्शनगर, बिर्ता, छपकैयालगायत पुरानो वीरगंज क्षेत्रमा लागू भएको छ । सरसफाइकर्मीहरू राति १० देखि बिहान ५ बजेसम्म काम गर्छन् । वीरगंजको लागि यो नयाँ थालनी हो । निकै चुनौतीपूर्ण पनि छ । रात्रिकालीन सरसफाइ सफल हुने या नहुने  नगरवासीको चेतनास्तरमा भर पर्छ । त्यसैगरी, नगरपालिकाको स्रोतसाधन र जनशक्तिको पनि हात रहन्छ । सरसफाइकर्मीले फोहोर उठाउँदै जाने र पछिपछि घरघरबाट सडकमा फोहर प्mयाँक्ने गरियो भने कार्यक्रम सफल हुँदैन । यसनिम्ति सबैभन्दा पहिले नगरवासी सचेत, सभ्य, सतर्क र सकारात्मक धारणाको विकास भएको हुनुपर्छ । जुन कुरा गर्नुहुँदैन भन्यो त्यही कुरा खोजीखोजी गर्नेुपर्ने प्रवृत्तिका मानिसहरू पनि समाजमा हुन्छन् । त्यस्तालाई तह लगाउन नगरका विभिन्न स्थानमा भएका सिसिटिभी सक्रिय गर्ने, नभएको स्थानमा जडान गर्ने, नगर प्रहरीले निगरानी बढाउने र अटेर गर्नेविरुद्ध निर्मम कारबाई ठोक्ने पनि गर्नुपर्छ । आप्mनो घरको फोहोर डस्टबिनमा सङ्कलन गरी सरसफाइको गाडी आउँदा खन्याइदिने काम पनि गर्दैनन् भने त्यहाँ माफी, मिनाहा वा माया–दया गर्नु जरुरी छैन ।
    वीरगंज नगर क्षेत्रमा प्रभातयात्रा गर्दा मानिस स्वस्थ होइन कि रोगी बन्ने गर्छ । फोहर, दुर्गन्ध, त्यसैमा बिहानको सरसफाइ गर्दाको छारो धूलोले श्वास फेर्नै नसकिने हुन्छ । नगरका चोकहरूमा बिहान कतै बसेर चिया पिउन पनि गा¥हो हुन्छ । फोहरकै कारण नगर क्षेत्रमा प्रभातयात्रा गर्नेहरूको सङ्ख्या अति न्यून छ । बिहान विद्यालय तथा कलेज जानुपर्ने विद्यार्थीहरू पनि मास्क लगाएर हिंड्नुपर्ने अवस्था छ । विद्यार्थी हिंड्ने समय र बिहानको फोहर उठाउने तथा झाडु लगाउने समय एउटै हुन्छ । नगर क्षेत्रमा बिहानै हिंड्दा मनमस्तिष्कमा ताजगी आउनुपर्नेमा झन् शिथिलता आउने अवस्था नगरवासीले भोग्दै आएका छन् । रात्रिकालीन सरसफाइ भइदिंदा यी समस्याबाट मुक्ति पाउन थालिएको छ । दुई/चार दिनको अवधिमा नै वीरगंजमा बिहानीको रौनक देखिन थालेको छ । फेरि पनि बिहानै लगेर सडकमा फोहर बिसाउने पुरानो बानी केही ठाउँमा देखिएको छ । राति सफा गरिएका सडकहरूमा बिहान पनि केही फोहर फेला परिरहेका छन् । त्यस्ता घर, चोक एवं सडकमा महानगर र नगरवासीले कडा निगरानी गर्नु जरुरी छ ।
    रात्रिकालीन सरसफाइले नगर क्षेत्र प्रभात–यात्रा एवं चिया–चौतारी र बिहानी भेटघाटका लागि महŒवपूर्ण स्थलको रूपमा विकास हुने निश्चित छ । यसको अलावा रात्रिकालीन सरसफाइले महानगर क्षेत्रमा रातको समयमा हुन सक्ने अपराध तथा घूसपैठमा पनि न्यूनीकरण आउनेछ । नगर कर्मचारीको चहलपहल भइरहँदा नगरवासीले सुरक्षित महसूस गरिरहेका हुन्छन् । यस अभियानका लागि अर्को बाधक ठूला सवारीसाधन हुन् । राति ट्राफिक प्रहरीले सडक छाडेदेखि बिहान पुनः ट्राफिक प्रहरी सडकमा नखटुन्जेल निर्बाधरूपमा ठूला सवारीहरू घण्टाघर क्षेत्रमा तीव्र गतिले हुइँकन्छन् । यसरी हुइकँदा बिहानीपखका विद्यार्थीहरूले समस्या भोग्दै आएका छन् । रातको समयमा दुर्घटना हुन पनि सक्छ । रात्रिकालीन सरसफाइमा खटेका सवारी साधन र कर्मचारी ठूला सवारीको चपेटामा नपर्ला भन्न सकिन्न । यसर्थ उक्त क्षेत्रमा रात्रिकालीन ठूला सवारीहरूलाई प्रवेशमा वर्जित गरिनुपर्छ । 

SHARE THIS

Author: Prateek Daily

वीरगंजबाट प्रकाशित राष्ट्रिय “क” वर्गको दैनिक पत्रिका

0 comments:

Find us