Friday, September 13, 2019

बारा खुला दिसामुक्त जिल्ला घोषित

रवीन्द्रप्रसाद साह, कलैया, २७ भदौ/
    बारा शुक्रवारदेखि खुला दिसामुक्त जिल्ला घोषणा भएको छ ।
    जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिको आयोजनामा कलैया–४ स्थित जानकी चलचित्र मन्दिरको सभाकक्षमा आयोजित कार्यक्रममा बारा जिल्लालाई मुलुकको ६९औं खुला दिसामुक्त जिल्ला घोषणा गरिएको हो ।
    प्रदेश नं. २ का भौतिक पूर्वाधार तथा यातायात विकासमन्त्री जितेन्द्र सोनलले बारालाई खुल्ला दिसामुक्त जिल्ला घोषणा गरेका हुन् ।
    जिल्ला समन्वय समिति, बाराका प्रमुख तथा जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिका अध्यक्ष नवलकिशोर सिंहको अध्यक्षतामा   घोषणासभा भएको थियो । बारा जिल्लाका कुल एक लाख ५ हजार १५ घरधुरीमा व्यक्तिगत तथा साझेदारी रूपमा चर्पी निर्माण भइसकेको आयोजक कमिटीले जनाएको छ ।
    कार्यक्रमका सभापति सिंहले बारावासीले पालन गर्नुपर्ने आचारसंहिता पढेर सुनाएका थिए । घोषणाको अवसरमा आज कलैयामा प्रभातफेरी आयोजना गरिएको थियो ।
    घोषणासभामा प्रदेशसभा सदस्यहरू, १६ वटै स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरू, विभिन्न दलका प्रतिनिधि एवं सङ्घसंस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको कार्यक्रममा स्वागत समितिकी सदस्य तथा महिला सञ्जाल बाराकी अध्यक्ष बबिता जयसवालले मन्तव्य व्यक्त गरेकी थिइन् । कार्यक्रमको सहजीकरण आयोजक समितिका सदस्य जकी अहमद अन्सारीले गरेका थिए ।

SHARE THIS

Author: Prateek Daily

वीरगंजबाट प्रकाशित राष्ट्रिय “क” वर्गको दैनिक पत्रिका

0 comments:

Find us