Thursday, September 12, 2019

उदयपुर र धौलागिरि डिस्टिलरीका सञ्चालक जेल चलान, ३१ करोड धरौटी नबुझाएपछि पक्राउ

प्रस, परवानीपुर, २६ भदौ/
    आन्तरिक राजस्व कार्यालय, वीरगंजले पर्सामा सञ्चालित उदयपुर डिस्टिलरी प्रा.लि. रामगढवा र जयश्री धौलागिरि डिस्टिलरी बसतपुर, पोखरियाका दुईजना सञ्चालकलाई आन्तरिक राजस्व कार्यालयले
अन्तःशुल्कको स्टीकर दुरुपयोग गरेको आरोपमा जेल चलान गरेको छ ।         आन्तरिक राजस्व कार्यालयले स्टीकर दुरुपयोग गरेको आरोपमा उदयपुर डिस्टिलरीका सञ्चालक ओमप्रकाश कलवारलाई २६ करोड १६ लाख ७९ हजार ८ सय ४७ रुपैयाँ धरौटी माग गरेको थियो । त्यसैगरी, जयश्री धौलागिरि डिस्टिलरीका सञ्चालक शम्भुशरणप्रसाद कलवारसँग ५ करोड ४८ लाख २९ हजार २ सय ५० रुपैयाँ धरौटी माग गरेकोमा धरौटी बराबरको रकम नबुझाउँदा आजै वीरगंज कारागार चलान गरिएको आन्तरिक राजस्व कार्यालय, पर्साका प्रमुख गोपीकृष्ण कोइरालाले बताए ।
    उदयपुर डिस्टिलरीले आर्थिक वर्ष २०७१/७२ देखि २०७५/७६ सम्म खरीद गरेको स्टीकरमध्ये ३६ लाख ६९ हजार ७ सय ४२ थान आन्तरिक राजस्व कार्यालयको अन्तःशुल्क स्टीकर हिनामिना गरेको अनुसन्धानको क्रममा भेटिएको थियो ।
    जयश्री धौलागिरि डिस्टिलरीले आर्थिक वर्ष २०७४/७५ देखि २०७५/७६ सम्म ७ लाख ४५ हजार थान स्टीकर हिनामिना गरेको भेटिएपछि दुवैलाई कारबाई गरिएको कोइरालाले बताए । अभियुक्तहरूले मदिरा उत्पादन गर्ने र उत्पादित मदिरा विनास्टीकर अवैधरूपमा भारत पठाउने गरेको पूर्वसूचनाको आधारमा तीन महीनादेखि छानबिन शुरू गरिएको कर अधिकृत उदयराम केसीले बताए ।

SHARE THIS

Author: Prateek Daily

वीरगंजबाट प्रकाशित राष्ट्रिय “क” वर्गको दैनिक पत्रिका

0 comments:

Find us