Thursday, August 15, 2019

बाढीले भत्काएको सडक मरम्मतपछि सञ्चालनमा

प्रस, पचगावाँ, ३० साउन/
    सखुवापरसौनी गाउँपालिका अन्तर्गत थरूहट सडक खण्डको श्रीपुरपचगाँवा–पटेर्वासुगौली सडक मरम्मतपछि सञ्चालनमा आएको छ ।
    असारमा आएको बाढीले सो सडकखण्ड क्षतिग्रस्त भएको थियो । स्थानीयले सडक मरम्मतका लागि वडाध्यक्षको ध्यानाकर्षण गराएको र ह्युमपाइप जडान गरी सडक मरम्मत गरेपछि सडक सञ्चालनमा आएको छ ।
    बाढीले सडक बिगार्दा सो सडकखण्डमा सञ्चालित सवारीसाधन अन्यत्रबाट सञ्चालन गर्दा समस्या भएको थियो । बर्सेनि यो सडक वर्षायाममा बिग्रने गर्छ । पानीको निकास नहुनाले सडक भत्किने गरेको भन्दै स्थानीयले वर्षाको पानी निकासका लागि ह्युमपाइप जडान गर्न वडाध्यक्षसँग माग गरेका थिए ।
    पानी निकासका लागि सो सडकखण्डमा तीनवटा ह्युमपाइप जडान गरिएको छ ।
    स्थानीयले ह्युमपाइप अस्थायी समाधान भन्दै गापालाई कलभर्ट निर्माण गर्न आग्रह गरेका छन् । गापा अध्यक्ष प्रदीपकुमार जयसवालले सडक मरम्मत गरिएको र स्थायी समाधानका लागि कलभर्ट निर्माण गरिने आश्वासन दिएका छन् ।

SHARE THIS

Author: Prateek Daily

वीरगंजबाट प्रकाशित राष्ट्रिय “क” वर्गको दैनिक पत्रिका

0 comments:

Find us