Wednesday, August 14, 2019

सम्पन्न जिल्लामा विपन्न गाउँ

प्रस, सेढवा, २९ साउन/
    पर्सा जिल्लाको ठोरी गाउँपालिका–३ शिकारीवासका ४५ घर परिवार अहिले पनि स्वच्छ खानेपानीबाट वञ्चित छन् ।
    स्थानीय तह गठनपछि पनि शिकारीवास गाउँका ४५ घरपरिवार चितवन राष्ट्रिय निकुञ्जको जङ्गलदेखि ५ किमि टाढा रहेको चिलमेररा खोलाको पानी खान बाध्य छन् । यो बस्ती पर्सा र चितवन राष्ट्रिय निकुञ्जको बीचमा छ । डेढ दशक अघि ५ किमि टाढा आरक्षभित्र रहेको चिलमेररा खोलामा गएर खानेपानी ल्याउने, लुगा धुनेलगायत काम गर्न बाध्य ४५ परिवार अहिले खोलाबाट कुलो बनाई गाउँसम्म पानी ल्याउन सफल भएका छन् । तर स्वच्छ पानी पिउन सकेका छैनन् ।
    खोलाबाट कुलो बनाएर ल्याएको पानीमा उनीहरूको सबै कार्य भइरहेको छ । लुगा धुने, भाँडा माझ्ने, नुहाउनेदेखि लिएर पिउने पानीको जोहो कुलोबाट हुने गरेको छ । यही कुलोमा पशुपक्षी पनि आश्रित छन् । स्थानीय तह गठनपछि स्वच्छ पानी पिउन पाउने उनीहरूको अभिलाषा थियो तर दुई वर्ष बित्दा पनि उनीहरूको समस्या गाउँपालिका–वडापालिकाले हेरेको छैन ।
    बिगा महतो थारूले सानैदेखि कुलोको पानीमा आश्रित हुनुपरेको बताए । उनले यसबारे गापाको ध्यानाकर्षण गराएको भएपनि समस्या समाधान नभएको बताए । उनले बाढीले कुलो भत्काएको र आरक्षभित्र चिलमेररा खोलामा गएर पानी ल्याउनुपर्ने बाध्यता रहेको बताए ।
    ओमप्रकाश महतोले वर्षायाममा छानामा परेको पानी सङ्कलन गरी पिउनुपर्ने बाध्यता रहेको बताए ।
    ठोरी गापा–३ का अध्यक्ष सूर्य बहादुरले गत आवमा जङ्गलभित्र खानेपानी शुद्धीकरणका लागि इम्पेक्ट निर्माण सम्पन्न गरेको बताए । उनले चालू आवभित्र पाइप जडान गरी गाउँमा खानेपानी भिœयाउने कार्य सम्पन्न हुने जानकारी गराएका छन् ।

SHARE THIS

Author: Prateek Daily

वीरगंजबाट प्रकाशित राष्ट्रिय “क” वर्गको दैनिक पत्रिका

0 comments:

Find us