Wednesday, August 14, 2019

दुई वर्षदेखि गोदाममैं थन्किए छ एक्सरे मेशीन

जीतलाल श्रेष्ठ, निजगढ, २९ साउन/
    निजगढस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा रहेको दुईवटा एक्सरे मेशिन दुई वर्षदेखि त्यसै थन्किएको छ ।
    निजगढ नगरपालिकाले स्थानीय निकाय निर्वाचन अघि निश्शुल्क उपलब्ध गराएको एक थान आधुनिक डिजिटल भिडियो एक्सरे मेशीन सञ्चालनमा नै नआई थन्किएको छ भने स्वास्थ्य विभागबाट प्राप्त एक्सरे मेशीनको अवस्था पनि उस्तै छ ।
    स्थानीय सेवाग्रही र बिरामीको प्राथमिक स्वास्थ्य केन्द्रप्रति आर्कषण बढोस् र विरामीहरूले सहज, सुलभ उपचार पाऊन् भन्ने उद्देश्यले निनपाका तत्कालीन कार्यकारी अधिकृत विमल पोखरेलको कार्यकालमा ५ लाखभन्दा बढी मूल्यको सो आधुनिक भिडियो एक्सरे मेशीन उपलब्ध गराइएको हो । निनपाबाट प्राप्त उक्त आधुनिक भिडियो एक्सरे मेशीन दक्ष जनशक्तिको अभावमा सञ्चालनमा ल्याउन नसकिएको प्राथमिक स्वास्थ्य केन्द्र निजगढका प्रमुख डाक्टर अनुराधा जायसवालले बताइन् ।
…मेशिन उपलब्ध भएको दुई वर्ष भइसक्यो । खोलेर हेर्नेबाहेक काम हुन सकेन । गोदाममैंं थन्किएको छ । सो मेशिन प्रयोगमा ल्याउन प्रविधि सिक्नुपर्ने हुन्छ । जसका लागि खर्चको आवश्यकता हुन्छ । यसको ब्यवस्थापन हुन नसक्दा एक्सरे मेशिन सञ्चालनमा आउन नसकेको हो”—डा. जायसवालले भनिन् ।
    त्यसैगरी प्राथमिक स्वास्थ्य केन्द्र, निजगढको ११ नम्बर एक्सरे मेशिन राखिएको कोठामा ताला लागेको अढाइ वर्ष नाघ्यो । स्वास्थ्य विभागले खरीद गरेको साधारण एक्सरे मेशिन एक थान निजगढ स्वास्थ्य केन्द्रमा आएको थियो तर डेढ महीना प्रयोग गर्न नपाउँदै समस्या आएको अहेब बेचुलाल चौधरीले बताए ।
    मेशिनमा रहेको ट्युबमा समस्या थियो र विद्युत् सप्लाइका लागि ११ केभीको स्टेपलाइजर आवश्यक पर्ने भएकोले त्यसको अभावमा मेशिन चल्न नसकेको बुझिएको छ । स्वास्थ्य केन्द्रमा ८ केभीको स्टेपलाइजर भएपनि त्यसबाट विद्युत् सप्लाई नपुग्ने र मेशिन सञ्चालन गर्ने जनशक्ति नहुँदा दुवै एक्सरे मेशिन थन्किएको स्वास्थ्यकर्मीहरू बताउँछन् ।
    स्थानीय निकायको निर्वाचन सम्पन्न भएसँगै वडाअध्यक्ष यस स्वास्थ्य केन्द्र व्यवस्थापन समितिको अध्यक्ष हुने कानुनी अधिकार छ । तर एक्सरे मेशिन वर्षौदेखि थन्किएपनि राज्यले उपलब्ध गराउने औषधीभन्दा बढी प्रकारमा औषधी भने स्वास्थ्य केन्द्रमा पाइन थालेको छ ।

SHARE THIS

Author: Prateek Daily

वीरगंजबाट प्रकाशित राष्ट्रिय “क” वर्गको दैनिक पत्रिका

0 comments:

Find us