Thursday, August 15, 2019

डाबर नेपाल, लाभांश र लगानीको स्रोत

शीतलप्रसाद महतो
    विदेशी लगानीकर्ताले नेपालमा कति कमाउँछन् भन्ने उदाहरण दिनुपर्दा नेपालले डाबर नेपाल र युनिलिभरको उदाहरण दिने गरेको छ । नेपालमा व्यवसाय गरेर राम्रो लाभांश विदेश लैजाने कम्पनी हो, डाबर नेपाल । तर, डाबर नेपाल स्थापना भएको ३० वर्षपछि नेपाल राष्ट्र बैंकले कम्पनीमा आएको वैदेशिक लगानीको स्रोत खोजेको छ । राष्ट्र बैंकले डाबर नेपाल प्रालिले कति रकम कुन प्रणालीबाट कहिले भिœयाएको हो ? त्यसको विवरण खोजेको हो । सो विवरण नदिंदासम्म विदेशी लगानीकर्तालाई नेपालबाट कमाएको रकमबाट प्राप्त लाभांश लैजान राष्ट्र बैंकले रोक लगाएको छ । कुन मितिमा कति रकम डाबर नेपाल प्रालिले विदेशी लगानी भिœयाएको हो, त्यसको विवरण उपलब्ध गराएपछि लाभांश लैजान मिल्ने नेपाल राष्ट्र बैंकका विदेशी विनिमय विभागले जनाएको छ । राष्ट्र बैंकका अनुसार डाबर नेपालले आर्थिक वर्ष २०७३–७४ देखि लाभांश लगेको छैन । डाबरले कुन समयमा कति लगानी ल्याएको हो, त्यसको विवरण नै पेश गर्न नसकेको कारण राष्ट्र बैंकले लाभांश लान स्वीकृति नदिएको हो । राष्ट्र बैंकले लगानीको विवरण खोजेपछि डाबरले स्ट्यान्डर्ड चार्टर्ड बैंकले विवरण दिन नसकेको भन्दै राष्ट्र बैंकलाई इमेल लेखेको छ । यसको जवाफमा राष्ट्र बैंकले डाबरलाई चार्टर्ड बैंकबाट लिखित जवाफ माग्न माग गरेको छ । राष्ट्र बैंकले डाबर नेपालसहित ५५ कम्पनीको लाभांश रोकेको छ । लाभांश रोकिएका अन्य चर्चित कम्पनीहरूमा हयात होटल तथा चितवन मेडिकल कलेज रहेका छन् । राष्ट्र बैंकले हयात होटलसँग संशोधित शेयर खरीदबिक्री सम्झौता (एसपिए) मागेको छ भने चितवन मेडिकल कलेजसFग कर चुक्ताको प्रमाणपत्र मागेको छ । राष्ट्र बैंकले साउन ५ गते सूचना जारी गर्दै ३० दिनभित्र आवश्यक कागजात बुझाउन भनेको छ । यसरी ३० वर्षपछि लगानीको स्रोत खोज्दा विदेशी लगानीको वातावरण बिग्रिने जानकारहरू बताउँछन् । विशेषगरी एनसेलको कर विवाद आएपछि सरकारी नियकायहरूले विदेशी लगानीका कम्पनीलाई बढी निगरानीमा राख्न थालेका छन् ।
    बहुराष्ट्रिय कम्पनी डाबर नेपालले गत आर्थिक वर्ष २०७५–७६ (२०१९ को मार्च मसान्त) मा रु ११ अर्ब १९ करोडको कारोबार गरी रु. ६८ करोड ५२ लाख नाफा गरेको छ । नेपालका ठूला उत्पादनमूलक उद्योगमध्येको एक डाबर नेपालले उक्त आवमा रु ६ अर्ब ३० करोड बराबर उत्पादन निर्यात गरेको छ । अघिल्लो आव २०७४–७५ मा कम्पनीले रु ६ अर्ब ५ करोड बराबर निर्यात गरेको थियो । सरकारले डाबर नेपाल प्रालिलाई भारतमा सबैभन्दा बढी निर्यात गरेको भन्दै महŒवपूर्ण व्यावसायिक व्यक्ति
(सिआइपी) सम्मान दिन लागेको छ । यस्तै सबैभन्दा बढी विदेशी मुद्रा भिœयाएको भन्दै सरकारले हयात होटललाई पनि सो सम्मान गर्न लागेको छ ।
    व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका अनुसार आर्थिक वर्ष २०७३–७४ र २०७४–७५ मा डाबर नेपाल प्रालिले भारततर्फ १२ अर्ब ७० करोड रुपियाँ बराबर निर्यात गरेको थियो । गत आवमा आर्थिक अस्थिरता, तरलता सङ्कट, ब्याजदरमा वृद्धि, मौसमी जटिलतालगायत चुनौतीको सामना गर्नुपरेकोले कम्पनीको नाफामा नकारात्मक असर परेको डाबरको वार्षिक प्रतिवेदनमा उल्लेख छ । यद्यपि त्यस्तो अवस्थामा पनि बजारमा स्वस्थ प्रतिस्पर्धा कायम गर्न सफल भएको कम्पनीको दाबी छ । वार्षिक प्रतिवेदन अनुसार कम्पनीले आव २०७५–७६ मा नेपालभित्र रु ४ अर्ब ८१ करोड बराबरको सामग्री बिक्री गरेको छ । अघिल्लो आवमा यसले रु ४ अर्ब ४४ करोड बराबरको उत्पादन नेपालमा बिक्री गरेको थियो । यसले कम्पनीको नेपालमा हुने कारोबार बढेको देखिन्छ ।
    मुलुकको सबैभन्दा ठूला एफएमसिजी कम्पनीमध्येको एक डाबर नेपालले रियल जुस, च्यवनप्राश, टुथपेस्ट, अमला हेयर आयल, हनी, डाबर ग्लुकोज डी, गुलाबरी, फेम, प्रोइस्टाइल, ओडोनिल उत्पादन गर्दै आएको छ । कम्पनीका अनुसार खाद्य पदार्थको बजार द्रूत गतिमा विस्तार भएको छ र कम्पनीको कुल कारोबारमा त्यसले करीब ७० प्रतिशत अंश ओगटेको छ । रियल जूस उत्पादन गर्ने यस कम्पनीले नेपालबाट विदेशी मुलुकमा जूस निर्यात गर्दै आएको छ । तर प्रतिकूल मौसम र तीव्र प्रतिस्पर्धाका कारण जूस व्यवसायमा असर परेको कम्पनीको भनाइ छ ।
    सन् १९८९ मा स्थापना भएको डाबर नेपालले व्यावसायिक उत्पादन सन् १९९२ देखि शुरू गरेको थियो । पहिलो वर्ष रु ५३ लाखको कारोबार गरेको यो कम्पनी अहिले झन्डै १२ अर्बको कारोबार गर्ने गर्दछ । कम्पनीले प्रत्यक्षरूपमा एक हजार मानिसलाई रोजगार दिएको छ भने अप्रत्यक्षरूपमा २० हजारलाई रोजगार दिएको छ । आयुर्वेदिक र प्राकृतिक स्वास्थ्यको क्षेत्रमा सबभन्दा ठूलो कम्पनीको रूपमा स्थापित डाबरसँग संसारभर १९ भन्दा बढी विश्वस्तरीय उत्पादनका केन्द्रहरू छन् । नेपालसहित विश्वका ७ राष्ट्र युनाइटेड अरब इमिरेट्स, इजिप्ट, नाइजेरिया, टर्की, श्रीलङ्का, बङ्गलादेश र भारतमा १२ वटा गरी जम्मा १९ वटा यसका उत्पादन केन्द्रहरू छन् । डाबरका उत्पादनहरू विश्वका १२० राष्ट्रका ६० लाख पसलहरूमा उपलब्ध छन् ।
    डाबर नेपाल, २०४७ सालपछि नेपालले आर्थिक उदारीकरणको नीति लिंदा नेपालमा स्थापना भएका शुरूका बहुराष्ट्रिय कम्पनीहरूमा पर्छ । डाबर नेपालको बहुमत शेयर भारतको डाबर समूहको छ । डाबर इन्टरनेशनलको ९७.५ प्रतिशत लगानी रहेको डाबर नेपाल ठूलो उत्पादन र निर्यात गर्ने कम्पनीमध्ये एक हो । नेपालबाट भारततर्फ निर्यातको १० प्रतिशत हिस्सा डाबर नेपालले ओगट्ने गर्छ । उत्पादनमूलक उद्योगमार्फत कर, रोजगार सिर्जना तथा आर्थिक क्रियाकलापको विस्तारमा डाबर नेपालको योगदान महŒवपूर्ण रहेको छ । बढ्दो आयातका कारण ठूलो व्यापार घाटा खेपिरहेको नेपालमा डाबर नेपालले निर्यात व्यापारमा महŒवपूर्ण योगदान दिंदै आएको छ ।
    विदेशी मुद्रा आर्जनका प्रमुख माध्यम प्रत्यक्ष वैदेशिक लगानी हो । सरकारको नेतृत्व लिएपछि प्रधानमन्त्री केपीशर्मा ओलीले विदेशी लगानी ल्याउने बताइरहेका छन् । केही समय अघि स्वीट्जरल्यान्डको डाभोसमा भएको विश्व आर्थिक मञ्चमा उभिएर प्रधानमन्त्री ओलीले ‘नेपालले लगानी भिœयाउन चाहेको’ बताएका थिए । सरकारले लगानीको वातावरण तयार गरेको र उद्योगी व्यवसायीलाई कुनै पनि समस्या नहुने आश्वासन दिंदै उनले लगानीकर्तालाई नेपालमा आउन आग्रह गरेका थिए । तर सो अनुरूप परिणाम भने आउन सकेको छैन । कुनै पनि लगानीकर्ता सयौंपटक सोचेर र गहिरो अध्ययन–अनुसन्धान नगरी त्यसै लगानी गर्न आउँदैन । आपूmले लगानी गर्ने मुलुकको कानून कस्तो छ ?  त्यहाँको सरकारको व्यवसायीलाई हेर्ने दृष्टिकोण कस्तो छ ? करका दर र सुविधा कस्ता छन् ? स्थानीय र विदेशी बजारसम्मको पहुँच कस्तो छ ? लगानीको प्रतिफल कुन दरमा ल्याउन सकिन्छ ? सरकारले नाफा लैजान सजिलो बाटो बनाएको छ/छैन ? व्यापारमा ‘हर्डल्सहरू’ छन्/छैनन् ? मजदूर समस्या छ/छैन ? यावत् विषयमा अध्ययन नगरी हचुवाका भरमा कुनै व्यवसायी आउँदैन । जोखिम मोलेर कसैले विदेशमा लगानी गर्दैन । यो तीतो यथार्थ हो । लगानीकर्ताले राख्ने यस्ता चासोका विषय सम्बोधन गरिएको छ/छैन ? लगानी आउनु र नआउनुमा सबैभन्दा पेचिलो प्रश्न यही हो । प्रत्यक्ष वैदेशिक लगानीले मात्र रोजगार प्रवद्र्धन हुन सक्छ र परिवारको आय बढाएर गरबी निवारण गर्न सकिन्छ । उत्पादन विस्तारले आन्तरिक राजस्व बढाउँछ र राज्यलाई शिक्षा, स्वास्थ्यजस्ता सामाजिक क्षेत्रमा बजेट विनियोजन गर्न स्रोत जुटाउँछ । यसरी मुलुकको विकास र समृद्धिका लागि अपरिहार्य भएर पनि प्रत्यक्ष वैदेशिक लगानीमा आधारित उद्योगले किन प्राथमिकता पाएनन् त ? अहिले मुलुकमा यो प्रश्न सशक्तरूपमा उठ्न थालेको छ । औद्योगिक विकासविना राष्ट्रिय विकासको सबल आधार तर्जुमा नहुने भएकोले अब बिशेषतः श्रममैत्री र निर्यातमुखी उद्योग स्थापनाका लागि सरकारले प्राथमिकता दिने नीति अवलम्बन गर्नुपर्छ । वास्तवमा राजनीतिक कुशलता त्यो हो, जसले सामाजिक रूपान्तरणसहितको आर्थिक उन्नतिका ढोकाहरूलाई खुला गर्न सक्छ । अहिले सबै नेपालीको चाहना समन्यायिक आर्थिक विकास तथा समृद्ध नेपाल निर्माण गर्नु हो । त्यो तब मात्र सम्भव हुन्छ, जब मुलुकमा प्रत्यक्ष वैदेशिक लगानीको सबल वातावरण निर्माण हुन्छ ।

SHARE THIS

Author: Prateek Daily

वीरगंजबाट प्रकाशित राष्ट्रिय “क” वर्गको दैनिक पत्रिका

0 comments:

Find us