Thursday, August 15, 2019

बस्नेतले १४ महिनापछि स्मार्टकार्ड पाए, हजारौं मानिस स्मार्टकार्डबाट वञ्चित

प्रस, वीरगंज, ३० साउन/
    वीरगंज–५ निवासी श्री बस्नेतले यातायात व्यवस्था कार्यालय प्रदेश नं २ वीरगंजबाट १४ महीनामा स्मार्ट कार्ड प्राप्त गरेका छन् ।
    नवीकरणका लागि १४ महीना पहिले राजस्व तिरेका बस्नेतले हिजो भर्खरै सो स्मार्टकार्ड प्राप्त गरेका हुन् । यातायात कार्यालयमा स्मार्टकार्डबारे सोधपुछ गर्दागर्दा थाकेका बस्नेत १४ महीनापछि स्मार्टकार्ड पाएपछि निकै खुशी भएका छन् । प्रतीकसँग कुरा गर्दै बस्नेतले लामो समय कुरेर भएपनि स्मार्टकार्ड पाएकोमा खुशी जनाए ।
    ०७३ सालमा सरकारले यातायात व्यवस्था कार्यालयबाट वितरण हुने सवारी चालक अनुमतिपत्र स्मार्टकार्ड विधिबाट उपलब्ध गराउने निर्णय गरेको थियो । स्मार्टकार्ड नामाङ्करण गरिएपनि सो कार्ड लिन अहिले यातायात कार्यालयमा हजारौं मानिस एक वर्षभन्दा बढी समयदेखि पालो कुरेर बसेका छन् ।
    छपाइ विधि निकै सुस्त भएको कारण देशभरि नयाँ सवारी चालक अनुमति र पुरानोको नवीकरण गर्ने सेवाग्रही स्मार्टकार्डको पर्खाइमा छन् ।
    सरकारले स्मार्टकार्ड छपाइ कार्यमा ढिला भएपछि पछिल्लो समयमा वैदेशिक रोजगारमा जाने, विदेश भ्रमणमा जाने र भिसा लागेकाहरूको हकमा ७२ घण्टाभित्र स्मार्टकार्ड उपलब्ध गराउने नीति लिएको थियो । यसैगरी हाल आएर अत्याधुनिक छपाइ मेशिन पनि जडान गरेको छ । अबका दिनमा प्रतिघण्टा ४ सय स्मार्टकार्ड छापिने छ ।
    यातायात व्यवस्था कार्यालय, प्रदेश नं २ मा अहिले ०१ देखि ०५ सिरियल नम्बरसम्मको स्मार्टकार्ड जारी भएको सो कार्यालयले जनाएको छ । अबका दिनमा नयाँ मेशिन जडान भएकोले करीब तीन महिनाभित्र सबैले स्मार्टकार्ड पाउन सक्ने कार्यालयले बताएको छ । यातायात व्यवस्था कार्यालय, पर्साले कतिले स्मार्टकार्ड लिए र कति लिन बाँकी छन् भन्ने विषयमा यकीन तथ्याङ्क नभएको जनाएको छ ।
    प्रदेश नं २ मा ०१ देखि ०५ सम्मको ५ लाख स्मार्टकार्ड जारी भइसकेको बताइएको छ । सवारी चालक अनुमति पत्र नयाँ लिने र पुरानो नवीकरण गराउनेहरूले अहिले यातायातमा सवारी चालक अनुमतिपत्रका लागि तिरेको राजस्व रसिदका आधारमा सवारीसाधनहरू चलाउँदै आएका छन् ।         स्मार्टकार्डको लागि सो कार्यालयमा दैनिक सयौंको सङ्ख्यामा मानिसहरू सोधपुछका लागि आउने गरेका छन् । उनीहरूले कार्यालयबाट एउटै कुरा सुन्नुपर्छ–तपाईंको स्मार्टकार्ड आइपुगेको छैन । चितवन, हेटौंडा, रौतहट, बारा र पर्सासहित देशका अन्य स्थानबाट पनि सवारी चालक अनुमतिपत्र लिन मानिसहरू आउने गरेका छन् । टाढाबाट स्मार्टकार्डको लागि मात्र वीरगंज आउनुपर्दा धेरैलाई समस्या हुने गरेको छ ।
    यातायात कार्यालयले कुन–कुन सिरियलको स्मार्टकार्ड जारी भयो भन्ने अनलाइनबाट जानकारी लिने व्यवस्था छैन, जसले गर्दा पनि थप समस्या भएको हो । स्मार्टकार्ड जारी भयो/भएन बताउने निकाय सम्बन्धित कार्यालय मात्र हो । स्मार्टकार्ड छपाइ भएपछि पनि तीन महीनापछि मात्र सम्बन्धित कार्यालयमा आइपुग्छ ।

SHARE THIS

Author: Prateek Daily

वीरगंजबाट प्रकाशित राष्ट्रिय “क” वर्गको दैनिक पत्रिका

0 comments:

Find us