Thursday, August 15, 2019

वीरगंज र प्रदूषण

    वीरगंज प्रदूषणको पर्याय बन्दै गएको छ । वीरगंज बाक्लो बस्ती बन्दैछ, जनसङ्ख्या बढ्दै छ, उद्योगको केन्द्र पनि बन्दै गरेकोले दैनिक फोहर उत्पादनमा अप्रत्याशित वृद्धि भएको छ । जताततै फोहर, बिहान फोहर, दिउँसो फोहर । नदी फोहर, सडक र गली फोहर । यो फोहरको उत्पादन घरायशी अवशेष (खाद्य पदार्थको अवशेष, घरको कसिङ्गर), नयाँ भवन निर्माण र पुराना भवन भत्काउने क्रममा निस्केका कचरले मात्र होइन, अन्य जिल्लालगायत यहींका उद्योगले जथाभावी उत्सर्जन गरेका औद्योगिक अवशिष्टहरूले गर्दा पनि बढेको हो । फोहर उत्पादन स्वाभाविक प्रक्रिया हो । मानिस भएको ठाउँमा फोहर हुन्छ नै, मानिस बढी भएपपछि उद्योग स्थापना हुन्छ नै । यसमा अनौठो केही छैन । अनौठो केमा छ भने फोहर व्यवस्थापनको ठोस वैज्ञानिक योजना छैन । नगरवासीले आपूmले गरेको फोहरको जिम्मेवार अरूलाई ठहराउँछ । घरको फोहर सडकमा लगेर फाल्छ र शहर फोहर भएकोमा आक्रोश पोख्छ । आप्mनो घर बढार्छ, तर कसिङ्गर नालामा फाल्छ ।
    यस्तो पनि होइन कि वीरगंज महानगरपालिका यसप्रति चिन्तित छैन, फोहर सफा गरिरहेको छैन । तर उसका पनि केही सीमा छन् । उसले फोहर उठाउने काम मात्र गर्न सक्छ, व्यवस्थापन गर्न सक्दैन । त्यसैले दैनिक सङ्कलन गरिएको फोहर श्रीसिया खोलाको किनारमा लगेर फाल्छ । किनारको फोहर वर्षात्को पानी र हावाले नदीमा पु¥याइदिन्छ । नदी फोहर भयो भनेर सीमावर्ती भारतका नागरिकहरू चिच्याउन थाल्छन् । नगरपालिकाले खोलामा बगिरहेको उद्योगको अवशिष्ट सफा गर्न सक्दैन । कारणहरू थुप्रै छन् । उद्योगले पैसा कमाउँछ, उद्योगबाट सरकारले कर लिन्छ, तर न उद्योग, न सरकारलाई प्रदूषणको चिन्ता छ । फोहर व्यवस्थापनको सबैभन्दा असरदार व्यवस्थापक ‘फोहरमैला व्यवस्थापन केन्द्र’ हो । जसरी नेपाल सरकारले मेलम्ची कहिल्यै नबन्नेगरी काम गरिरहेको छ, त्यसैगरी त्यसको ठेकेदारले यो केन्द्र नबनाउने कसम खाएको छ । महानगरपालिका लाचार छ । लाचार किन छ, त्यो महानगरपालिकालाई नै थाहा होला । अन्यथा शहरको फोहर सङ्कलन गरी शहरलाई सफा गर्न अहोरात्र चिन्तन गरिरहेको महानगरपालिकाले श्रीसिया खोलामा फोहर फालेर यसलाई किन कुरूप बनाउँथ्यो ?
    वीरगंज महानगरपालिकाले अहिले फोहर व्यवस्थापनका लागि ठेका दिएको छ । तर कुरा उही घुमिफिरी रुम्जाटार । ठेकेदारले फोहर व्यवस्थापन केन्द्र त बनाउने होइन १ उसले पनि खोलाको किनार र बस्तीबीच खाली ठाउँ नै ताक्छ । अर्थात् फोहर व्यवस्थापन होइन, फोहर स्थानान्तरणमात्र भइरहेको छ । जिउँदो मानिसलाई त फोहरको चिन्ता छैन भने श्रीसिया खोला त मृत नै भइसकेको छ । हो, जुन खोलामा कुनै प्राणी बाच्न सक्दैन, त्यो मृत त हो नि १ छाला कारखानाहरूको छालाबाट रौं खुइल्याउने, बोसो निकाल्ने कडा रसायनको अवशेष प्रशोधनविना नदीमा खसाइन्छ । सिमेन्ट कारखाना, पशु वधशाला, हाड कारखानाका विषाक्त रसायनहरू विनाप्रशोधन नदीमा बगाइन्छ भने त्यो नदी कसरी जीवित रहन सक्छ ? यसले नदीको वातावरणमात्र होइन, पर्यावरणलाई नै दूषित बनाइरहेको छ । यी समस्या समाधान गर्न आजसम्म व्यक्तिगत, पार्टीगत र समूहगत प्रयास त भयो, तर उद्योग, प्रशासन, नगरपालिका र नागरिक समाजलाई समेटेर प्रदूषण निर्मूलनसम्बन्धी बृहत् कार्यक्रम हुन सकेन ।

SHARE THIS

Author: Prateek Daily

वीरगंजबाट प्रकाशित राष्ट्रिय “क” वर्गको दैनिक पत्रिका

0 comments:

Find us