Wednesday, August 14, 2019

पर्सामा रासायनिक मलको अभावमा किसान छटपटिंदै

प्रस, वीरगंज, २९ साउन/
    कृषि सामग्री कम्पनी लि. वीरगंजका वरिष्ठ कृषि अधिकृत एवं प्रवक्ता गोकुल केसीले भारतबाट मल आउन अभैm केही समय लाग्ने बताएका छन् ।
    केही दिन अघि १० दिनभित्र भारतको कोलकाताबाट कम्पनीमा मल आउने बताएका प्रवक्ता केसीले पछिल्लो चरणमा प्राविधिक कारणवश भदौ १२ गतेसम्म मल आउने मिति तय भएको जानकारी गराए । उनले पर्सा, बारा, रौतहट र सर्लाहीमा मलको चरम अभाव भएकोबारे माथिल्लो निकायको ध्यानाकर्षण गराइएको र भदौ १२ गतेसम्म मल आइसक्ने आश्वासन पाएको बताए ।
    कृषि सामग्री कम्पनीले मगाएको मल आउन ढिला भएपनि साल्ट टे«डिङ कर्पोरेशन वीरगंजले असारदेखि नै मल वितरण गरिरहेको जनाएको छ । सरकारी अनुदानमा आएको युरिया, डिएपी, पोटास, गाउँपालिका र जिल्ला प्रशासनको सिफारिशमा सम्बन्धित सहकारी संस्थाहरूलाई साप्ताहिक पचास बोरा उपलब्ध गराउँदै आएको जनाएको छ ।
    कर्पोरेशनले अहिलेपनि युरिया, डिएपी प्रक्रियागतरूपमा वितरण गर्दै आइरहेको र पोटासको भने अभाव भएको जनाएको छ । युरिया मल प्रतिबोरा (५० केजी) रु ९ सय र डिएपी २ हजार १ सय ५० मूल्य रहेकोमा सरकारले बोरामा रु १२.५० अनुदान दिएको छ । कर्पोरेशनले सरकारी अनुदानमा मल उपलब्ध गराएपनि पर्सा जिल्लामा अहिले पनि युरिया र डिएपीको अभाव देखिएको छ । सहकारीले अनुदानमा बिक्री गर्नुपर्ने मल किसानहरूलाई नदिएर पसलेहरूलाई बिक्री गरेको र पसलमा युरिया प्रतिबोरा रु १०५० र डिएपी प्रतिबोरा रु २३ सयदेखि २५ सयसम्म बिक्री भइरहेको किसानहरुले जानकारी गराएका छन् ।
    एकजना किसानले अहिले युरिया मलको मात्र आवश्यकता भएको बताए । उनले खेत रोपाइँताका डिएपी मलको आवश्यकता रहेकोमा भारतबाट महँगो मूल्यमा मल खरीद गर्नुपरेको बताए । अहिले युरिया मलको मात्र आवश्यकता रहेको र सोको पनि अभाव रहेकोले महँगोमा खरीद गर्न बाध्य भएको गुनासो गरे ।

SHARE THIS

Author: Prateek Daily

वीरगंजबाट प्रकाशित राष्ट्रिय “क” वर्गको दैनिक पत्रिका

0 comments:

Find us