Friday, August 23, 2019

आस्थाका अनेक रूप र यात्रा

सञ्जय मित्र
    आस्था र श्रद्धा भित्री मनको मलिलो माटोमा उम्रिन्छन् । आपूmले श्रद्धा गर्ने गरेको मानिसले अरूलाई झन् श्रद्धा गर्दछन् भने त्यो अवस्थामा अर्को मान्छेप्रति एक्कासि आरोपण गरिएको श्रद्धा देखिन्छ । श्रद्धा तत्कालीन समयको लागि मात्र पनि हुन सक्छ र आप्mनो जीवनकालभरि पनि हुन सक्छ । कहिलेकाहीं भीडले श्रद्धा गरेको देखेर अकारण पनि श्रद्धा गर्नुपर्ने हुन्छ । भीडको श्रद्धाप्रति विश्वास प्रकट गरिएन भने समाजमा एक्लिने डर हुन्छ । अकारण कोही समाजबाट एक्लिन चाहँदैन । अरूलाई देखाउनका लागि पनि श्रद्धा व्यक्त गर्दछन् वा श्रद्धा व्यक्त गरेको देखाएर आप्mनो अन्य काम फत्ते गर्न खोज्दछन् । अरूलाई देखाउनका लागि श्रद्धा व्यक्त गर्नेहरूमध्ये कोही यदि आप्mनो क्षेत्रका प्रतिष्ठित मानिस छन् भने उनको सिको गरेर श्रद्धा गर्ने पात्रहरू स्वतः बढ्दछन् ।
    यात्राहरूमा श्रद्धाका अनेक रूप देखिन्छन् । सामान्य मस्तिष्कले पराकाष्ठा नै मान्ने किसिमको श्रद्धा र आस्था पनि देखिन्छन् । केही सामान्य उदाहरणहरूलाई हेरौं न ।
    भारत बिहारको सुल्तानगंजदेखि झारखण्ड प्रान्तको देवघरमा रहेको रावणेश्वर मन्दिर पैदल मार्ग ८५ किमि र मोटरबाटो ११५ किमि रहेको एउटा सरकारी बोर्डमा लेखिएको छ । बोर्ड लेखिएको ठाउँभन्दा गङ्गा नदी अझ तीन किलोमिटर जति टाढा नै हुनुपर्छ । मुख्यगरी साउनभरि एक दिनमा कम्तीमा एक लाख मानिस सुल्तानगंजस्थित गङ्गा नदीमा स्नान गरेर देवघरका लागि प्रस्थान गर्दछन् । पैदलै हिंड्ने बढी हुन्छन् । गाडीको लस्करै हुन्छ । बाटोमा जहाँ अलिकति विश्रामको लागि फराकिलो ठाउँ भेटिन्छ, सैकडौं गाडी पार्किङ गरिएका देखिन्छन् ।
    सुल्तानगंजदेखि देवघरसम्म जाने बाटोको पैदल मार्ग बिहान, बेलुका, दिउँसो र राति पनि कहीं कतै खाली देखिंदैन । दिउँसो यदि घाम निकै चर्को लाग्छ भने अलिकति कम यात्रु हुन्छन् तर बाटो खाली हुँदैन । यसरी पैदल हिंड्नेहरूमा पनि अनेक किसिमका मानिस हुन्छन् । कोही २४ घण्टाभित्र मन्दिर परिसरमा प्रवेश गर्ने सङ्कल्पपत्र लिएर नै सुल्तानगंजबाट निस्केका हुन्छन् । आप्mनो जलपात्रलाई ढाडमा बोकेर कुद्ने यस प्रकारका बोलबमलाई डाँकबम भनिन्छ, जसप्रति अन्य बोलबम, प्रहरी, प्रशासन, सर्वसाधारण सबैको विशेष श्रद्धा हुन्छ र बढी सुविधा पनि पाएका हुन्छन् । पैदलै २४ घण्टाभित्र कम्तीमा ९० किलोमिटर हिंड्नुपर्ने श्रद्धालुहरूलाई बस्ने र सुत्ने छुट हुँदैन । निरन्तर हिंडिरहनुपर्ने हुन्छ । सकेसम्म राति नै बढी कुद्छन् किनभने बाटो अलिक खालीखालीजस्तो देखिन्छ ।
    आस्थाको उत्कर्ष त दण्ड दिने/घस्रिएर जानेहरूमा देखिन्छ । सुल्तानगंजबाट देवघर जानेमा सबैभन्दा छिटो गाडीवाला पुग्छन्, दोस्रोमा छिटो पुग्नेमा डाँकबम हुन्छन्, त्यसपछि पैदल हिंड्नेहरूमध्ये कोही दुई, कोही तीन र कोही चार दिनमा पुग्छन् । महिला र मोटो जीउ भएका तथा हिंड्न समस्या हुनेहरूलाई भने पाँच दिन वा बढी पनि लाग्छ । तर घस्रेर जानेहरूलाई भने २५ दिनभन्दा कम लाग्दैन । गङ्गातटबाटै रावणेश्वर मन्दिरसम्म घस्रिएरै जानेहरूको सङ्ख्या पनि बढ्दै गएको छ । यसरी घस्रिएर जाँदा वर्षा हुँदा र चर्को घामले भुइँलाई पोल्ने गरी बनाउँदा दुवै अवस्थामा कति कष्ट हुँदो हो ? आखिर त्यसरी जानैपर्ने प्रण गरेपछि त्यत्ति त गर्नैपर्छ । आस्था र श्रद्धाको कुरा हो । तर यदि पहिलेदेखि नै अभ्यास गरेको मानिस हो भने यसरी घस्रेर जाँदा पनि १० दिनमा पुग्न सक्ने देखिन्छ । अलिकति पहिलेदेखि अभ्यास गर्ने हो भने घस्रेर जाँदा शुरूका एक/दुई दिनमा कति घस्रिने र कसरी घस्रिने भन्ने अभ्यास भइहाल्छ र त्यसपछि यदि बिरामी परिएन भने दिनको दश किलोमिटरको दरले घस्रिन सकिन्छ भन्ने अनुमान गर्न सकिन्छ । तर घस्रेर जानेहरूलाई ती डाँकबमहरूले पनि सम्मान गर्दछन् किनभने यो सबैभन्दा कडा साधनाको अवस्था हुन्छ ।
    सुल्तानगंजदेखि रावणेश्वर मन्दिरसम्म करीब सय किलोमिटरको जुन लाम देखिन्छ मान्छेको, त्यतिबेला लाग्छ कि सबै मानिस यहीं ओइरिन्छन् तर जेठ, असोज, माघ, फागुन आदि महीनामा त्यहाँ पुग्नेले पनि भन्छन्– रावणेश्वर मन्दिरमा प्रवेश गर्न तीन/चार घण्टा लाइन बस्नैपर्छ । यसको अर्थ यो पनि हो कि साउनमा चाहिं बढी मानिस हिंडेर जान्छन् तर बा¥है महीना भीडभाड भइरहन्छ ।
    भगवान् बुद्धको जन्मस्थल लुम्बिनी, ज्ञान प्राप्त गरेको बोधगया र मृत्युवरण गरेको कुशीनगरमा बौद्धमार्गीहरूलाई अनेक किसिमको साधना वा ध्यानमा लीन रहेको देख्न वा भेट्न सकिन्छ । अनेक देशबाट त्यहाँ पुगेका मानिसहरूले आप्mनो संस्कृति वा चलन अनुसारको भेषभूषा र धार्मिक संस्कारअनुरूप ध्यान गरेको वा साधना गरेका अर्थात् श्रद्धा व्यक्त गरेको देख्दा यस्तो लाग्दछ कि वास्तवमा श्रद्धा गर्नेमाथि श्रद्धाको बाटो निर्भर रहन्छ ।
    देवघरमा भीड देखेर पहिले लाग्थ्यो कि आस्थाको भीड यहीं नै लाग्दछ । हुनत मानिसले जति धेरै घुम्दछ, उति धेरै थाहा हुन्छ । उत्तर प्रदेश प्रान्तको बनारसमा अवस्थित विश्वनाथ मन्दिरमा त्यत्ति धेरै भीड देखिएन । कुनै बेला आधा घण्टाको लाइन त कुनै बेला लाइन नै बस्नु नपर्ने दर्शनका लागि । उडिसाको पुरी (जगन्नाथपुरी) मन्दिरमा ड्युटीमा खटेका एक प्रहरी जवानलाई सोध्दा उनी सजिलै बताउँछन्– दैनिक एक लाख मानिस दर्शन गर्दछन् । साँझ र बिहानको अवस्था हेर्दा यो सत्य प्रतीत हुन्थ्यो किनभने मन्दिरभित्र र बाहिर पाँचदेखि दश हजार मानिसको उपस्थिति सजिलै देखिन्थ्यो ।
    सबै मानिस आस्तिक नै हुन्छन् भन्ने छैन र श्रद्धा गर्नेहरूमा सबै आस्तिक नै पनि हुन्छन् भन्ने पनि होइन । घुम्ने वा यात्रा गर्ने एउटा माध्यम पनि हो । धार्मिक यात्राको माध्यमले जति मानिस घुम्न निस्कन्छन्, उति मानिसलाई पर्यटकीय दृष्टिकोणले घुम्न निस्किने फुर्सद र पैसा हुँदैन । यसको मुख्य कारण यो पनि हो कि धार्मिक यात्रा भनेर निस्कँदा आप्mनै गाउँटोलदेखि जहाँ घुम्न गइन्छ, त्यहाँसम्म एउटा अलग्गै श्रद्धा, विश्वास र सम्मान पाइन्छ । यसले यात्रामा लाग्ने खर्चलाई आपैंmले नियन्त्रण गरेको हुन्छ अर्थात् खर्च प्रणालीमा स्वतः अङ्कुश लागेको हुन्छ । तुलनात्मकरूपले खर्च कम हुने र सबैतिर अलग किसिमको सम्मान पाइने हुनाले धार्मिक यात्रा वा आस्थाको यात्रामा सहभागी हुनेको सङ्ख्या अत्यधिक हुन्छ ।
    धार्मिक यात्रा नै सही, घुम्न त मज्जाले पाइन्छ ।

SHARE THIS

Author: Prateek Daily

वीरगंजबाट प्रकाशित राष्ट्रिय “क” वर्गको दैनिक पत्रिका

0 comments:

Find us