Thursday, August 15, 2019

रोपाइँको समापन पर्व ‘कदवापखार’ लोप हुँदै

रामेश्वर मेहता, सिम्रौनगढ, ३० साउन/       
 मधेसका कृषकहरूले धान रोपाइँको अन्तिम दिन मनाउने रमाइलो पर्र्व कदवापखार लोप हुँदैछ ।
    सिम्रौनगढ इलाकाको  गोलागंज, अमृतगंज, हरिहरपुर कोतवाली, कुडवा, देवापुर टेटा, कचोर्वा, भगवानपुर, टेढा कट्टी, रूपौलिया, बिर्ता, खजानी, श्री नगर बैरिया ईंटवाल, पटेर्वालगायत क्षेत्रमा विगतमा कदवापखार ठूलै पर्वको रूपमा हर्षोउल्लाससहित  मनाइन्थ्यो । तर आजकल सो क्षेत्रहरूमा यो पर्व मनाएको विरलै पाइन्छ । यस वर्ष केही स्थानमा मात्रै कदवापखार मनाइएको कृषकहरूले बताएका छन् ।
    धान रोपनी गर्दा गभ लगाउँदै गर्दा कहिले अनावृष्टि कहिले अतिवृष्टिको यहाँका कृषकहरूले सामना गरे ।  अनावृष्टिले धान रोपाइँ केही ढिलो भए तापनि कृषकहरूले आप्mनो स्रोत साधनले भ्याएसम्म रोपाइँ गरेका थिए । तर त्यस पछि भएको अतिवृष्टिले कृषकहरूले रोपेको  धान नै बगाएर लग्यो । कतिपय कृषकको धानबाली भेल तथा बाढीको माटोले पुरेर बाँझो बनाइदिएको छ ।
    जति समस्या भएपनि केही कृषकले  धार्मिक मान्यता र परम्परा जिउँदो राख्दै  मुहूर्त अनुसार दही, चामल र चिनीबाट धानको गभ लगाई रोपाइँ आरम्भ गरेका थिए । साउनको अन्ततिर गाउँगाउँमा केही कृषकले कदवापखार मनाएर रोपनी समापन भएको घोषणा गरेका छन् ।
    यस पर्वमा रोपनी सम्पन्न हुने दिन कृषकले खेतीहर मजदूरलाई मीठो–मीठो परिकार बनाई खुवाउँछन् । खेतमैं कामदारहरू एक अर्कामाथि हिलो छ्याप्ने तथा हिलो खेल्ने गर्छन् । खेतको मालिक र बाटो हिंडने बटुवासमेत हिलो खेलबाट उम्कन पाउँदैनन् ।
    परिश्रममा पनि खुशी रहने र एकापसमा आत्मीयता साट्ने यो पर्व लोप हुँदै गएपनि यसको संरक्षणमा नागरिक समाज, संस्कृतिकर्मी वा सरकार कसैले पनि चासो देखाएको छैन ।

SHARE THIS

Author: Prateek Daily

वीरगंजबाट प्रकाशित राष्ट्रिय “क” वर्गको दैनिक पत्रिका

0 comments:

Find us