Wednesday, July 17, 2019

ठुटे खोलामा फसेका ४ जनाको डेढ घण्टापछि उद्धार

प्रस, ठोरी, ३१ असार/
    पर्साको ठोरी गाउँपालिका अन्तर्गत नेपाल–भारत सीमामा पर्ने ठुटेखोलामा आएको भीषण बाढीमा फसेका चारजनाको झन्डै डेढ घण्टापछि सोमवार राति सकुशल उद्धार गरिएको छ।
    सशस्त्र प्रहरी, भारतीय सीमा सुरक्षा बल र स्थानीयको सहायतामा दुईजना भारतीय नागरिकसहित चारजनाको राति ८ः२० बजे उद्धार गरिएको सशस्त्र प्रहरी ठोरी बिओपीका प्रहरी निरीक्षक अमरबहादुर विकले जानकारी दिए।
    भारतको भिखना ठोरीबाट नेपाल तर्फ आउँदै गरेका ठोरी–२ का ३० वर्षीय मिन्टु चौधरी र ५५ वर्षीय रत्नप्रसाद कोइराला साथै नेपालबाट भारततर्फ जाने क्रममा खोलाको मध्य भागमा फसेका भारतको भिखना ठोरी  घर भएका ३५ वर्षका सुमित चौधरी र २० वर्षका अमित चौधरीको उद्धार गरिएको विकले जानकारी दिए।
    साँझ ७ बजेको समयमा खोला तर्दै मध्य भागमा पुगेको बेला ह्वातै खोला बढेपछि उनीहरूले खोलाको केही अग्लो भागमा बसेर गुहार मागेका थिए। खोला तर्ने समयमा सानो भए पनि खोला धेरै फराकिलो रहेकोले तर्दातर्दै खोला बढेर  उनीहरू बीचैमा फँसेका थिए।

SHARE THIS

Author: Prateek Daily

वीरगंजबाट प्रकाशित राष्ट्रिय “क” वर्गको दैनिक पत्रिका

0 comments:

Find us