Friday, July 5, 2019

भाषा र साहित्यप्रति रुचि बढेकै हो ?

सञ्जय मित्र
    अहिले भाषा र साहित्यसम्बन्धी गतिविधिले सक्रियता पाएको छ । विगतमा सक्रिय देखिएका संस्थाहरू पनि सक्रिय छन् र भाषा तथा साहित्यका लागि नभई अन्य कार्यक्षेत्रका लागि खोलिएका संस्थाहरूको पनि यस प्रकारको गतिविधिमा सक्रियता बढेको छ । जिल्लामा मुस्किलले हुने भाषा तथा साहित्यसम्बन्धी कार्यक्रम अब जिल्लामा अलि बढी नै हुन थालेको छ । वर्षको दुईपटकसम्म स्थानीय सरकारको सहयोगमा कार्यक्रम हुन थालेको छ । कहिले स्थानीय तहस्तरीय त कहिले जिल्लास्तरीय त कहिले प्रदेशस्तरीय कार्यक्रमहरू भइरहेका छन् । कतै कतै त राष्ट्रियस्तरमैं कार्यक्रम भइरहेको देखिन्छ, सुनिन्छ र पढिन्छ । अधिकांश कार्यक्रमलाई विशेष कार्यक्रम भन्न थालिएको छ । पहिले अञ्चलस्तरीय कार्यक्रम भएको सुन्न कैयौं वर्ष कुर्नुपथ्र्यो तर अहिले प्रदेशस्तरको कार्यक्रम निरन्तर भइरहेको सुनिन्छ, पढिन्छ र हेर्न पनि पाइन्छ।
    कार्यक्रमको आयोजना पनि पहिले मुस्किलले केही हजारमा हुन्थ्यो तर अहिले त केही लाखको कार्यक्रम हुन थालेको देखिन्छ । पहिले एउटा कोठामा सीमित हुने कार्यक्रम अब होटलमा, पार्टी प्यालेसमा र दर्शनीय तथा पर्यटकीयस्थलमा हुन थालेको देखिन्छ । पहिले पैदलै हिंडेर जानुपर्ने ठाउँमा पनि साहित्यकारहरूमा निकै उत्साह हुन्थ्यो तर अहिले खोजेकै ठाउँसम्म सवारीसाधन पुग्न थालेको छ । साधारण गाडी पनि दिइन्न, सत्कार र सम्मानका साथ एसी भएको गाडी आवतजावतको लागि उपलब्ध गराउन थालिएको छ । बस्ने र खाने सुविधा पनि सकेसम्म स्तरीय हुन थालेको छ । हो, बरु साहित्यकारले पैसा पाउने युग आइसकेको छैन तर कार्यक्रममा व्यस्त रहनुपर्ने र ठाउँठाउँमा डुलेर अझ धेरै मानिससित वा जीवन र जगत्सित परिचित हुने अवसरको भने विस्तार भएको छ । साहित्यकारको आयाममा वृद्धि भएको छ ।
    साहित्य साधनाको कुरा हो । जे लेखे पनि साहित्य हुँदैन । तर भाषाको सवालमा भने केही फरक छ । भाषालाई अभिव्यक्तिको सर्वोत्तम माध्यम भनिन्छ । अभिव्यक्तिका अन्य माध्यम पनि हुन्छन् र साहित्यका विविध विधा हुन्छन् । भाषाको सेवा गर्नेले साहित्यको सेवा नगरेको पनि हुन सक्छ तर साहित्यको सेवा गर्नु भनेको भाषाको सेवा स्वतः गर्नु हो । भाषाको सेवा गर्नेलाई भाषासेवी र साहित्यमा लाग्नेलाई साहित्यकार भनिन्छ । भाषाकार भन्नाले कुनै निश्चित वा अनेक भाषाको जानकार भनेर बुझिन्छ र साहित्यसेवी भनेर साहित्य लेखे पनि वा नलेखे पनि साहित्य लेख्नेलाई प्रोत्साहन गर्ने बुझिन्छ । भाषा र साहित्यका अनेक क्षेत्र भएकाले यसको सेवामा लाग्नेहरू पनि अनेक किसिमका हुन्छन् तर सबैमा एक प्रकारको अन्तरसम्बन्ध भने हुन्छ । सर्वसाधारणले भाषासेवा र साहित्यसेवामा खासै भिन्नता पाउँदैनन् । अझ कला र संस्कृतिलाई पनि यसैमा वा उस्तै मान्दछन् ।
    भाषा र साहित्यको सेवा गर्ने सयमा एकजना पनि हुँदैनन् । भाषा र साहित्यमा लाग्नेहरूको सम्मान गर्ने त यसभन्दा पनि कम हुन्छन् । हो, रेडियोमा गीत बजेपछि त्यसलाई सुन्ने र राम्रो छ भने नाम लिनेको सङ्ख्या बढी हुन्छ तर त्यहीं गीतका लेखक, गायक, कलाकार, निर्देशक, सङ्गीतकारलाई भने उति माया गर्न सकेका हुँदैनन् । हुनत व्यक्तिलाई भन्दा कर्मलाई श्रद्धा गरेको हुन सक्छ तर वास्तवमा यति हुँदो हो त रोयल्टी तिर्थे । रोयल्टी तिर्नतिर कसैको ध्यान नै जाँदैन । यसर्थ निस्पृह मनोरञ्जनका लागि सुन्छन् वा हेर्छन् भन्न सकिन्छ । भाषा र साहित्यप्रति माया बढेर, आप्mनोको वृद्धि भएर वा सुन्नुपर्छ भन्ने चेतनाको वृद्धि भएर होइन भन्ने स्पष्ट छ । गीतको भावमा चित्त बुझेको, आपूmले सजिलै बुभ्mने गरी गीतमा स्वर रहेको, बाजाले पनि आकर्षण थपेको हुनाले सुनिदिएको मात्र हो ।
    सङ्घीयता र गणतन्त्रको कार्यान्वयनपछि पनि साहित्यको गतिविधिमा खासै वृद्धि भएको थिएन तर स्थानीय सरकार गठन भएपछिको दिनमा भने यस प्रकारको गतिविधिमा विस्तार भएको छ । भाषा र साहित्यको महŒव बढेको देखिएको छ । स्थानीय सरकारहरूले लगानी गरिरहेका छन् । पहिले कहिल्यै कुनै साहित्यिक कार्यक्रमको निम्तो नमान्नेहरूले पनि आयोजनाको सेरोफेरोमा हर्ताकर्ताका रूपमा पनि देखिन थालेका छन् । आप्mनो आयोजनामा हुने कार्यक्रमको प्रशंसा गर्दा भाषा–साहित्यमा लाग्नेहरूको प्रशंसा पनि गर्न थालेका छन् । ठूलो जमघट गराउने र कार्यक्रमलाई निकै भव्यतापूर्वक बनाउने कार्यमा अरूसित सहयोग माग्न थालेका छन्, समर्थन र साथ खोज्न थालेका छन् । भाषा–साहित्यमा अझ बढी गर्न सक्छु भनेर दृढ घोषणा गर्न थालेका छन् ।
    कार्यक्रमहरूमा सहभागिता वृद्धि भएको यथार्थ हो । सहभागी पनि दुई किसिमका भइरहेका छन् । एक किसिमको सहभागी यस्तो छ, जसलाई भाषा–साहित्यसित कुनै मतलब छैन । आप्mनो ठाउँमा हुने कार्यक्रमको मर्यादा राख्न सभ्य बनेर सहभागी भई कार्यक्रम सफल बनाउँछन् । कार्यक्रममा राम्रो लागेको पक्षमा ताली बजाएर हौसला बढाउँछन् । दोस्रो किसिमका सहभागीमा भने अन्तर्हृदयदेखि नै लगाव रहेको देखिन्छ । यस प्रकारका सहभागीले गर्दा भोलि भाषा र साहित्यको क्षेत्र विस्तार हुने तथा अन्य सकारात्मक र रचनात्मक काम हुने विश्वास गर्न सकिन्छ । कार्यक्रममा हुने भव्यताले पनि कतिपयलाई आकर्षित गरेको हुनुपर्छ । यस प्रकारको आकर्षणले भाषा–साहित्यको सेवामा लाग्नेहरूको हौसला वृद्धि गर्छ र भोलि पनि साहित्यको सेवा गर्नेहरू बढ्छन् भन्ने विश्वास जाग्छ ।
    एकजना पत्रकार मित्रको मसित प्रश्न छ– भाषा र साहित्यप्रति सर्वसाधारणको रुचि बढेकै हो ?
    उत्तरमा मौन छु र उनको आप्mनो पुष्टि छ– भाषा र साहित्यमा सर्वसाधारणको रुचि बढेको त छैन तर यसमा लाग्नेले भने स्थानीय सरकारलाई प्रभावित पार्न सकेको ठाउँमा स्थानीय सरकारले खर्च गरेको छ । यो पनि सकारात्मक कुरा हो । यस प्रकारका कार्यक्रमको आलोचक घटेका छन् रे १

SHARE THIS

Author: Prateek Daily

वीरगंजबाट प्रकाशित राष्ट्रिय “क” वर्गको दैनिक पत्रिका

0 comments:

Find us