Friday, July 19, 2019

चार यारको चपाटपुर यात्रा

सञ्जय मित्र
    कटिहार–जोगबनी–कटिहार सवारी रेलगाडीमा सोचेको जस्तो सिट पाउन सकिएन। सवारी रेलगाडीमा जो पहिले पुग्यो, सिट उसैको भयो। हामी करीब आधा घण्टादेखि त छौं तर केही मिनेटदेखि शिवशङ्करजीको गडबडले हामीले निकै हडबडमा चढ्नुपरेकोले यस्तो भएको कि रेल चढ्न पाउनु चाहिं शौभाग्य हुन गएको छ।
    हामी चारैजनाको टिकट उनकै खल्तीमा छ। टिकट हात पारेपछि उनी यताउति गर्न थाल्छन्। उनीसँगै रहने तिवारीजी खुट्टा खोच्याउँदै हामीसँग पछिपछि हिंडेको मिश्रजीलाई मन परेको छैन। उनी चाहन्छन् कि दुईजना एकसाथ र अर्का दुईजना एकसाथ रहून्, जसले भीडभाडमा पनि चिन्न सजिलो होस् तर तिवारीलाई के लागेको छ कुन्नि ? उनी हामीलाई छोड्दैनन्।
    जोगबनी पुग्दा रेलगाडी आउन त्यत्तिकै ढिला भइसकेको थियो। रेलगाडी आयो, टिकट किन्यौं र गोरखापत्र दैनिकका बारा समाचारदाता शिवशङ्कर मिश्रले चारैजनाको टिकट खल्तीमा हाले र एक्लै यताउति हिंड्न रुचाउन थाले। यो प्रवृत्ति मत्सरीका सञ्जय मिश्रलाई अलि अनौठो लागेको छ। कृष्ण तिवारी र शिवशङ्कर मिश्र विराटनगरको होटल अतिथिमा एकसाथ बसेका हुन् गएराति तथा म र मत्सरीका सञ्जय मिश्र होटल अतिथिको ठीक सामुन्ने रहेको होटल रत्नामा रात बिताएका हौं। वास्तवमा मिश्रको चाहना हुन्छ कि हामी दुई मात्रै विराटनगरबाट जोगबनी हुँदै भारत बिहारका विभिन्न ठाउँ हुँदै सीतामढी भएर रौतहट पुगौं। हिजो अर्थात् ३० असार २०७६ मा बर्दिबासको छेवैमा रहेको भप्सी खोलाको पुल बाढीले बगाएको कारण तीन घण्टा दश मिनेटसम्म जाममा परेको र त्यहाँ उखरमाउलो गर्मी मात्र होइन, पट्यारलाग्दो अवस्था भएकोले भारततिरबाट फर्कने सल्लाह भएको हो । विराटनगरको काम सिद्धिएपछि ३१ असार २०७६ मा दिउँसो साढे तीन बजे होटल छाडेर हामी चारैजना जोगबनीतर्पm प्रस्थान गरेका हौं। जोगबनीसम्मका लागि कृष्ण तिवारी नै सबैभन्दा जान्ने हुन् किनभने उनी सामान किन्न जोगबनीसम्म धेरैपल्ट आएको सुनाउँछन्। बाँकी सबैको प्रथम प्रवेश छ। नयाँ ठाउँ नौलो अनुभूति ।
    जोगबनी रेलवे स्टेशनको किताबपसलको छेउमा रहेको पिल्लरवरिपरि सबैजना बसिरहेका छौं। केही नभनी अचानक झोला बोकेर शिवशङ्करजी कता हो भीडमा हराउँछन् । रेलगाडीले बिस्तारै हिंड्ने सुरसार गर्छ । पहिलो सिटी दिइसक्यो, शिवशङ्करजी गायब। हामी तीनैजनाले उत्तर–दक्षिण लम्पसार परेको रेलको सम्पूर्ण डब्बामा खोज्न भ्यायौं, कतै छैनन्। फेरि उताबाट पनि खोज्दै दोहो¥यौं, भेटिएनन्। गाडीले दोस्रो सिटी दियो अर्थात् हिंड्नलाई तयार छ। हामी तिवारीजीलाई कराउँछौं किनभने किन उनलाई एक्लै छाडेका हुन् ? तिवारीजीले बारम्बार फोन ट्राई गरिरहेका छन् तर स्वीच अफ। केही नचिताएको भयो कि ? डरले पनि निराधार घर भएको छ। तैपनि म आत्तिएर टिकट काउन्टरतिर दौडें । डर छ कि टिकट कलक्टरले समातेर टिकट माग्यो भने के भन्ने ? हामी स्टेशनभरि यता र उता गरिरहेका छौं। फेरि यात्रा गर्ने कि नगर्ने वा अहिले जाने कि नजाने भनेर सोच्ने समय नै छैन। शिवशङ्करको अत्तोपत्तो छैन। विराटनगरतिर फर्के कि शौचालयमा पो छन् कि ? कहाँ हराए, के भयो ? गाडीले बिस्तारै गुड्न शुरू ग¥यो। अब बाँकी रहेका तीनजनाको लागि मैले टिकट किनें । तबसम्म तिवारीजीले एकपटक फेरि सम्पूर्ण गाडीमा हेर्न भ्याइसकेका छन्।
    मिश्रजी भन्दैछन्– बरु यो गाडी छाडिदिऔं, अर्कोमा जाउँला तर उनलाई नछाडौं। गाडीले गति बिस्तारै बढाउँदैछ, शिवशङ्कर मिश्र झोला लिएर बाहिर प्रकट भए। यात्रु प्रतीक्षालयसँगै रहेको प्रतीक्षालय घरभित्र मोबाइल चार्ज गर्न पसेका रहेछन्। कसैलाई केही नभनी। उनी झुल्किए, अनि हतारमा गाडी चढ्छौं । पछिल्लो आधा दशकमा रेल चढेको छैन। यस कारण अन्तर्हृदयमा एउटा अनौठो खुशीको सञ्चार भएको छ।
    जोगबनीबाट कटिहारको टिकट लिएका छौं। यो गाडीको गन्तव्य नै त्यहीं हो। टिकटमा लेखिएको राम्ररी पढ्न सकिएन तर १०९ किलोमिटर टाढा छ कटिहार। कटिहारबाट हामीलाई दरभङ्गा पुग्नु छ। त्यहाँबाट रक्सौलको लागि सीधैं गाडी पाउँछ। बिहानसम्म सजिलै पुग्न सकिन्छ भन्ने विश्वास छ। १०९ किलोमिटरको लागि भाडा भने २५ रुपैयाँ छ प्रतिव्यक्ति। कति सस्तो ?
    नक्शामा हेर्दा जोगबनीबाट कटिहार हल्का पूर्व नत्र लगभग सीधा दक्षिण नै देखिन्छ। कटिहारबाट फारबिसगंज, ढोलबाजा, गोगीपोथिया हाल्ट, सिमराहा, हल्दियाहाल्ट, अररिया, अररिया कोर्ट, कुसियारगाँव, जलालगढ, कसबा, पूर्णियाँ, रौतारा हुँदै कटिहार पुग्छौं। यीमध्ये अररिया र पूर्णियाँको नामसम्म पहिलेदेखि नै सुनेको छु, बाँकी सबै नयाँ ।
    एकजना बुजुर्ग अरूलाई सुनाइरहेका छन्– जलालगढको वास्तविक नाम गढ हो। यहाँ एकपटक राजा जलाल आएका थिए, त्यहीं दिनदेखि यस गाउँको नाम जलालगढ हुन पुगेको हो। रौताराको नाम सुन्दा नै रौतहट याद आउँछ।
    सबैको अनुमानजस्तै हामी नेपाली समय अनुसार सवा आठ बजे कटिहार पुग्छौं। रेलवे स्टेशनको भव्यता हेर्दा यो निकै ठूलो शहर होलाजस्तो छ। खाना खाने समय भएको छ। एउटा शुद्ध शाकाहारी होटलमा पसेर खाना खान्छौं । रेलवे स्टेशनको भव्यता हेर्दै टिकट काउन्टरतिर जान्छौं।
    भारतीय रेल र घुमाइको विषयमा हामीमा जान्ने भनेका सञ्जय मिश्र नै हुन्। म त समय पाएको घुमक्कड। समयसारिणी हेर्दा के स्पष्ट पार्छन् भने कटिहारमा रात बिताउनुको साटो मुजप्mफरपुर जाने रेल चढौं र त्यहाँबाट छिट्टै सीतामढी पुगौंला सजिलै । बाँकी त अनजान हुन्छौं। न्यू जलपाइगुडी–दिल्ली राजधानी एक्सप्रेस रोकिएको छ स्टेशनमा। योभन्दा सजिलो के हुन्छ ? यो सुपरफास्ट ट्रेन हो रे। जलपाइगुडीको बारेमा म साथीहरूलाई बताउँछु। सुन्दर पहाडी शहर दार्जिलिङतिरको।
    चढ्यौं सुपरफास्टमा। आधा घण्टाभन्दा बढी समय भइसक्यो रोकेको रोक्यै छ। यसले पनि कटिहार शहर निकै ठूलो हो भन्ने बुझाउँछ। यो रेल छ घण्टा ढिलो भइसकेको छ भन्ने सुन्छौं यात्रुहरूबाट।
    साँच्चै हावासित कुरो गर्न थाल्छ रेल ।
    यात्रुसित कुराकानीको क्रम सञ्जय मिश्रले नै चलाउँछन्। बाटोमैं समस्तीपुर पर्दछ भनेको सुनेपछि उनी सजिलै भन्छन्– समस्तीपुरबाटै त रक्सौलको लागि ट्रेन खुल्छ। पहिलो ट्रेन बिहान तीन बजेर चालीस मिनेटमा छ। बिहान साढे सात बजे बैरगनिया पुग्छ। एकदम सजिलो हुन्छ। अब हामी रक्सौल जानै पर्र्दैन। एकजनालाई मोबाइलमा यो सुपरफास्ट ट्रेन कति बजे समस्तीपुर पु¥याउँछ भनेर हेर्न भन्छन्। शिवशङ्कर मिश्रजी भने मोबाइलमा देखाउँछन् तीन बीस बजे। अब हामीलाई चिन्ता हुन्छ कि कहीं यो सुपरफास्टले ढिलो न गरिदेओस्।
    कटिहारबाट मुजप्mफरपुर २६२ किलोमिटर छ। यस हिसाबले सबै सुत्न खोज्छन्। आपूmलाई यात्रामा अलिक
कमै निद्रा लाग्छ। निद्रा लाग्दै नलाग्ने होइन तर सचेतना अलि बढी हुन्छ। सचेतनाले निद्रामाथि विजय प्राप्त गरेको हुन्छ।
    सवा १२ बजे समस्तीपुर आइपुग्छौं । ओर्लिन्छौं। यो त झन् विशाल रहेछ। भव्य रहेछ। खोज्दै सोधपुछ शाखामा जान्छौं त भन्छन् सीतामढीतिर जाने कुनै गाडी/रेल छैन। बाढीले बाटो अवरुद्ध छ गाडी जाँदैन। प¥यो फसाद। बरु एक घण्टा अरू पर्खेको भए सुपरफास्टले मुजप्mफरपुर झाथ्र्यो। टिकट पनि त्यहींको लिएका छौं। केही बेर आराम गर्न खोज्छौं समस्तीपुर स्टेशनमैं। हाबडाबाट पाँच नम्बरमा मुजप्mफरपुरको लागि स्पेशल रेल आइरहेको सुन्छौं। लगत्तै मिथिला सुपरफास्ट छ। जुनमा गए पनि हुन्छ। तर मिथिलामा खुट्टा टेक्ने ठाउँ हुँदैन भनी सञ्जय मिश्रजी भन्छन् बरु स्पेशलमैं चढौं। हाम्रो टिकट सुपरफास्टको भएकोले जुनसुकै गाडीमा चढ्दा पनि केही हुँदैन भन्छन्। यस्तो कुरामा अरूजना अनभिज्ञ नै छौं।
    स्पेशल रेल। मान्छै छैन। एउटा बोगीमा गएर लम्पसार प¥यौं। तिवारी एकै छिनमा घुर्न थाल्छन्, शिवशङ्कर पनि मस्त निद्रामा र सञ्जयजी पनि मज्जाले निदाउँछन् तर म भने रखवार बनेको छु । रेल खुल्यो। किन कतै रोक्थ्यो। एक ठाउँमा रोक्यो। बाहिर हेर्छु नारायणपुर अनित्य लेखिएको छ। जति ठूलो ठाउँ त्योभन्दा पनि धेरै ठूलो ठाउँ । रेल अगाडि बढ्दैन। एउटा रेल पछाडिबाट आयो र अगाडि बढ्यो। फेरि अर्को आयो र गयो। मिथिला पनि आयो र शिवशङ्करजी भने हामीलाई छाडेर मिथिलामा चढे। दुईजना सुतेकै छन् अभैm पनि।
    करीब डेढ घण्टा विश्राम गरेपछि रेल खुल्यो र पाँच मिनेटपछि मुजप्mफपुरमा रोकियो। थाहा पाएको भए यति त पैदलै पनि हिंडिन्थ्यो जस्तो लाग्यो।
    मुजप्mफरपुरमा ओर्लेपछि हतारमा हामी सरकारी बस स्टेशन पुग्छौं। सीतामढीको लागि बिहार राज्यपथ परिवहनको दुईवटा बसमा यात्रु भरिएका छन्। एउटामा उभिन्छौं चढेर दुई घण्टा नपुग्दै सीतामढी झर्छौं रेलवे स्टेशननेर । सञ्जयजीको मन त हुँदैन तर म नै आग्रह गर्छु– एकचोटि रेल सोधौं के छ ? समस्तीपुरबाट नआए पनि रक्सौलबाट आएर फेरि यहींबाट फर्किने पनि हुन सक्छ।
    स्टेशनमा थाहा हुन्छ– जुन रेल समस्तीपुरबाट जाँदैन भनेको थियो त्यहीं रेल पन्ध्र मिनेटमा आइपुग्दैछ। नभन्दै पन्ध्र मिनेटमा आइपुग्छ। हामी त्यसमा चढ्छौं। तिवारीजी घोडासहनको लागि र म र सञ्जय मिश्र बैरगनियाको लागि टिकट लिएका छौं।
    चन्द्रपुरको लागि त खासै अप्ठ्यारो छैन तर त्यहाँभन्दा तलको लागि प्रदेश एकको राजधानी विराटनगर उल्टो पर्छ । बरु काठमाडौं सजिलो छ यात्राको लागि तर विराटनगर सा¥है उल्टो। महेन्द्र राजमार्ग भएर जाँदा यति धेरै टाढा छ कि कुनै ठाउँमा जाममा पर्दा जे अकल्पनीय अप्ठ्यारो हुन्छ, त्यसको वर्णन गर्न मुस्किल हुन्छ। भारतको बाटो भने निकै टाढाको तर विकल्प भने धेरै भएको । नेपालमा विकल्पविहीन तर त्यहाँ भने विकल्पैविकल्प। जुन विकल्प रोजे पनि हुन्छ– सडकमार्गको बसयात्रा वा जीप भाडामा उपलब्ध छन्। रेल त छँदैछ।
    हाम्रो यात्राको मुख्य उद्देश्य नै
ठाउँ हेर्नु थियो, नयाँपनको अनुभूति गर्नु थियो । यसै कारण मैले यात्राको नामकरण गरेको थिएँ– चार यारको चपाटपुर यात्रा ।

SHARE THIS

Author: Prateek Daily

वीरगंजबाट प्रकाशित राष्ट्रिय “क” वर्गको दैनिक पत्रिका

0 comments:

Find us