Sunday, July 14, 2019

बाढीले प्रदेश २ प्रभावित, दुईजनाको मृत्यु, तीनजना बेपत्ता, हजारौं घर डुबानमा

राधेश्याम पटेल, वीरगंज, २८ असार/
    लगातार चार दिनदेखि परेको अविरल वर्षाको कारण प्रदेश २ का आठ जिल्ला प्रभावित भएका छन्।
    यस प्रदेशका आठ जिल्लामा हजारौं घर डुबानमा परेका छन्। लगातारको वर्षाले अहिलेसम्म दुईजनाको मृत्यु हुनुका साथै  तीनजना बेपत्ता रहेको प्रदेश २ प्रहरी कार्यालय जनकपुरले जनाएको छ । प्रदेश २ का डिआइजी प्रद्युम्न कार्कीले दिएको जानकारी अनुसार पर्साको पर्सागढी नगरपालिकामा एकजना ९ वर्षीय बालक निखिल पटेल र बाराको परवानीपुर गाउँपालिका वडा नं २ रहरियाडिहमा डेढ वर्षका बालक विक्की यादवको मृत्यु भएको पुष्टि भएको छ। निखिल विद्यालयबाट फर्किरहेको अवस्थामा बाढी हेर्न गएको बेला सिगयाही खोलाको बाढीमा डुबेर उनको मृत्यु भएको थियो भने बाराका विक्की गाउँमैं नालामा डुबेर मृत्यु भएको बाराका प्रहरी नायब उपरीक्षक रञ्जीत सिंह राठौरले बताए।
तीनजना बेपत्ता
    बेपत्ता हुनेमा पर्सा, रौतहट र महोत्तरीका गरी तीनजना रहेका छन्। प्रदेश नं २ को प्रहरी कार्यालयका अनुसार शुक्रवार महोत्तरीमा एकजना ७० वर्षीय वृद्ध हमिद मियाँ बेपत्ता भएका थिए भने आज बिहान बाढी हेर्न गएका वीरगंज–१८ भवानीपुर घर भई हाल तेजारथ टोलमा बस्दै आएका रामनारायण कुर्मीका १३ वर्षीय छोरा अनुज पटेल बेपत्ता भएका छन्।
    वीरगंज–२४ रामगढवाको कल्भर्टमा बाढी हेर्न गएको बेला खुट्टा चिप्लिएर उनी डुबेको प्रत्यक्षदर्शीहरूले बताएका छन्। उनको अहिले खोजी कार्य भइरहेको पर्साका प्रहरी नायब उपरीक्षक अनन्तराम शर्माले बताए। सडक विच्छेद भएको अवस्थामा प्रहरीले अहिले सो क्षेत्रमा डोरीबाट पर्साका ग्रामीण भेगबाट आएका सर्वसाधारणलाई सडक पार गराइरहेको छ। त्यसैगरी, रौतहटमा पनि एकजना बेपत्ता भएको प्रहरीले जनाएको छ।
बर्दिवासमा वैकल्पिक बाटो सञ्चालन
    बाढीको कारण महोत्तरीको बर्दिवासमा रहेको भप्सी खोलाको पुल भत्केपछि गौशाला भएर वैकल्पिक बाटो सञ्चालनमा ल्याइएको प्रदेश २ का डिआइजी प्रद्युम्न कार्कीले बताए।
    उनका अनुसार भत्केको पुल क्षेत्रबाट पनि साना तथा हलुका सवारीसाधन आरपार गइरहेको तर भारी सवारीसाधनको लागि गौशालाको बाटो प्रयोग भइरहेकोले यात्रुहरूलाई नआत्तिन उनले आग्रह गरेका छन्््।
५५ सय प्रहरी उद्धारमा
    प्रदेश २ प्रहरी कार्यालयका अनुसार प्रदेश २ का आठ जिल्लामा नेपाल प्रहरीको मात्र करीब पाँच हजार पाँच सय प्रहरी परिचालन गरिएको छ।
    नेपाल प्रहरी, सशस्त्र प्रहरी र सेना गरी करीब ८ हजार सुरक्षाकर्मी राहत तथा उद्धार कार्यमा खटेको उनले बताए ।
७ वटा प्रहरी चौकी विस्थापित
    बाढीको कारण प्रदेश नं २ का आठ जिल्लामा सुरक्षा निकायको युनिट पनि जोखिममा परेको छ।
    प्रदेश प्रहरीका अनुुुुुुुसार पर्सा, बारा, रौतहट, धनुषा गरी विभिन्न ठाउँका ७ वटा प्रहरी चौकी पहिलेको स्थानबाट अन्तै सारिएको छ। ग्रामीण भेग बाढीको चपेटामा फसेको कारण जोखिममा रहेका प्रहरी चौकीहरूलाई तत्कालको लागि अन्तै सारिएको हो।
चारैतिर बाढीले उद्धारमा समस्या
    बाढीको प्रभाव प्रदेशका ८ जिल्लामैं रहेकाले र चारैतिरको सडक सम्पर्क टुटेको कारण उद्धार तथा राहतमा समस्या भइरहेको नेपाल प्रहरीले जनाएको छ।
    प्रदेश नं २ का डिआइजी कार्कीले भने, “उद्धारमा पनि चुनौती थपिएको छ, बाढीले गाउँगाउँमा सडक, बिजुली तथा सञ्चारको अवस्था पनि ठीक छैन, बाढीको कारण कहीं कतै आउजाउ गर्न पनि समस्या भइरहेको छ।” उनले सतर्क र सजग रहन सबैसँग आग्रह गरे।
वीरगंजको आदर्शनगर तालमा परिणत
    अविरल वर्षाको कारण वीरगंजको मुख्य बजार आदर्शनगर क्षेत्र तालमा परिणत भएको छ। हिजो रातिदेखि आदर्शनगर क्षेत्रमा ३ फिटसम्म पानी जमेको छ। भुइँ तल्लामा बसोबास गर्नेहरू कोठा र घर छाडेर अन्तै शरण लिएका छन्। वीरगंजवासीले महानगरकै लापर्बाहीले वीरगंज डुबानको जोखिममा परेको भन्दै आक्रोश पोखेका छन्।
    एडिबीको साढे ३ अर्बको नाला तथा सडक निर्माण परियोजना सम्पन्न भए तापनि शहरको पानीको सहज निकास नभएको यहाँका बासिन्दाको गुनासो छ । यता, महानगरले श्रीसिया खोलाको पानी शहरमा प्रवेश गरेकोले नगर डुबानमा परेको बताएको छ।
    यसैबीच, महानगरका मेयर विजय सरावगीले डुबानमा परेका बस्ती तथा जनतालाई राहत तथा उद्धार गर्न भन्दै आकस्मिक सर्वदलीय बैठक सम्पन्न गरेको छ। सड्ढटको बेला राहत तथा उद्धारमा जुट्न सबै पक्षलाई मेयर सरावगीले आग्रह गरेका छन्।

SHARE THIS

Author: Prateek Daily

वीरगंजबाट प्रकाशित राष्ट्रिय “क” वर्गको दैनिक पत्रिका

0 comments:

Find us