Friday, July 12, 2019

पहाडे ‘बहादुर’ र मधेसी ‘भैया’

सञ्जय मित्र
    समभाव राख्नु, निस्पृह भाव राख्नु, सम्मान गर्नु, अपमान गर्नु, अवहेलना गर्नु, हेय दृष्टिले हेर्नु आदि वैयक्तिक चरित्र हुन् । परिवेश र परिबन्दले कहिलेकाहीं वैयक्तिक चरित्र नै प्रवृत्तिमा बदलिन्छ । एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्छ । हेप्दा हेपिनेबाट केही नहुने वा जो हेपिएको छ, उसले केही गर्न नसक्ने परिवेशमा हेपाहा प्रवृत्ति छिट्टै मौलाउँछ । पर्ती खेतमा जथाभावी घाँस उम्रेभैंm । यदि केही काम लाग्ने झार पनि उम्रेको हुन्छ भने पनि कुनै मूल्य हुँदैन । पर्ती खेतलाई केही वर्ष त्यत्तिकै छाडिदिने हो भने बालीलाई हेप्ने घाँस यति बलियो भइसकेको हुन्छ कि जुन वनस्पतिको लागि खेती गरिएको हो, त्यसलाई उम्रनै दिन्न । हेप्ने प्रवृत्ति पनि व्यक्तिबाट समुदायमा सर्दै जाँदा कालान्तरमा यसले संस्कृतिकै रूप लिन पुग्दछ र समाज सभ्य बन्दा पनि हेपिने शब्द स्वाभाविक किसिमले स्वतःस्पूmर्त निस्कन्छ अनजानमा । कहिलेकाहीं सम्मान गर्नुपर्ने र गरिरहेको अवस्थामा पनि यस्ता शब्दहरू निस्कन्छन्, जसले के भनेको हो भनेर बुभ्mन पनि मुस्किल हुन्छ।
    मलाई सम्झना छ– कुरा पचासको दशकको आरम्भको हो । एउटा सम्भ्रान्त परिवारको अत्यन्तै भद्र एकजना सहपाठी थिए । उनी कहिल्यै कसैलाई हेप्दैनथे । मेरै सहपाठीमध्ये दुईजना चाहिं अत्यन्तै हेपाहा प्रवृत्तिका थिए । ती दुईले जस कसैलाई पनि मौका पाउनासाथ हेपिहाल्थे, केही महीना निरन्तर हेपाइमा परेको छु तर केही महीनापछि मप्रतिको हेपाहा भाव चाहिं ईष्र्यामा परिणत भएको थियो । कहिल्यै मलाई जित्न सकेनन् । करीब दुई दशकपछि एक दिन खोजेरै भेट्न गएको थिएँ । हेप्ने सहपाठी चाहिं मलाई भेटेर आपैंm दुई दशकको हेपाइको भारीले निहुरिए । अर्का सहपाठीको बारेमा सहानुभूति राखेर सोधें हालखबर । ओइलाएको अनुहारले केही बोल्यो र केही पश्चात्तापको भावले व्यक्त ग¥यो । मलाई वा अरूलाई पनि हेपेकै भरमा चाहिं जीवनमा पछाडि परे भन्न खोजेको चाहिं पक्कै होइन ।
    ती भद्र सहपाठीले अरूलाई नामै काढेर वा सर्ट नेम बनाएर बोलाउँथे तर मलाई चाहिं ‘साथी’ नै भन्दथे  सधैं। अत्यन्तै प्रेम र श्रद्धा । उनका अरू कोही मधेसी साथी थिएनन्, मधेस र मधेसीको विषयमा धेरै कुरा जान्ने उत्कट आकाङ्क्षा भएका व्यक्ति थिए । सम्मान र स्वाभिमान दुवै कुरामा उनी अरूभन्दा निकै भिन्न थिए । बोली पनि नरम थियो । पढाइमा अब्बल । गम्भीरता उनको गहना । क्याम्पसमा मात्र होइन, बजारमा वा कुनै औपचारिक कार्यक्रममा भेट हुँदा उनको साथी शब्दले मित्रताको परिचय कसैलाई दिइरहन पर्दैनथ्यो । भेषभूषा, पहिरन, हिंडाइ र बोली सबैमा गम्भीरता तथा सम्भ्रान्तपनले नबोलीकनै धेरैलाई धेरै कुरा सिकाइरहेको हुन्थ्यो ।
    एक दिन उनले साथी भनेर बजारमा बोलाएछन् रे । मेरो आप्mनै सुर थियो । ‘भैया १’ भन्ने शब्द कानको जालीमा ठोकिन पुग्छ । म फरक्क फर्किन्छु, तिनै भद्र साथी । “कहिए जनाब, क्या है । नमस्कार ।” प्रफुल्लित मन र उत्साहित अनुहारले हात बढाएको छु ।
    कलिलै बालकको जस्तो नरम हात मिलाउँदै हात्तीको जस्तो परम गम्भीर अनुहारमा हल्का मुस्कानको उज्यालो ल्याउँदै अभिवादन फर्काएर “म कहाँ हिन्दी त्यत्ति बुभ्mछु, यार ।” गला मिल्छौं अर्थात् अँगालो मार्छौं एकार्कालाई ।
    “अनि हिन्दी नबुभ्mनेले ‘भैया’ भन्छन् त ?”
    “किन साथी ? ‘भैया’ हिन्दी शब्द हो ?”
    “यो हिन्दी शब्द मात्र होइन । मधेसीलाई हेपेर प्रयोग गरिने शब्द पनि हो ।”
    “हो र ? हामी त कहिलेकाहीं मधेसीलाई भैया नै भन्दछौं । कसैले अहिलेसम्म हेपेको मानेको छैन ।”
    “र, तपाईंले पनि हेपेर भनेको होइन वा तपाईंले अरूलाई हेपेको जानकारी तपाईंलाई नै थाहा छैन । अर्थात् यो पनि कि तपाईंले मलाई हेपेको चाहिं अनजानमैं हो ।”
    पत्रिका दोकानको अगाडि हामी गपिंmदैछौं । अलिक छेउ लाग्छौं र कुराकानी अगाडि बढाउँछौं । उनको परम गम्भीर अनुहार अहिले झन् बोझिलो भएजस्तो छ अबुझपनले । पत्रिका दोकानबाट एउटा अङ्ग्रेजी दैनिक उनको हातमा आउँछ । अभिवादन गर्दै छुटिन्छौं विपरीत दिशातिर ।
    त्यसपछिका करीब तीन वर्षमा उनले थुप्रैपटक भैया शब्दका लागि माफी मागे । अरू मधेसीलाई पनि ‘भैया’ भनेकामा पनि मसितै पछुतो गर्दै माफी मागिरहे । सधैं उनको तर्क हुन्थ्यो– मैले अनजानमा भएपनि ‘भैया’ भनेर अपमान त गरेको वा अपमानसूचक शब्द प्रयोग गरेको छु, त्यस्तालाई जसलाई मैले कहिल्यै एकवचन प्रेमले दाजु भनेर सम्बोधन गरिनँ । एक वचन दाजु भनेर सम्बोधन गरेको भए शायद ती मधेसीहरूले हेपेको भन्ने ठान्ने थिएनन् ।
    ‘भैया’ आपैंmमा अपमानबोधक शब्द होइन ।
    भैया भनेको दाजु हो, दाइ हो । मधेसमा भैया शब्दले आपूmभन्दा ठूलोलाई सम्मानपूर्वक सम्बोधन गरिन्छ । यसमा प्रेम छ, आप्mनोपन छ । निकटता पनि दर्शाउँछ । सम्मानबोध हुने यो शब्दसँगै मिल्दो अर्थ दिने भाइजी पनि हो तर भाइजी शब्दले श्रीमतीको भैया भन्ने अर्थ दिन्छ ।
    मधेसीहरू पहाडतिर जाँदा के शिक्षित र के अशिक्षित, जानेर वा अनजानमैं भैया भनेर बोलाउँछन् । अझ कतिपयले त के अर्थ लगाउँछन् भने देशीजति सबैलाई भैया भन्छन् । देशीको अर्थ मधेसी होइन, भारतीय हो । मधेसी भनेकै बिहारी, धोती वा भारतीय हुन् ।
    साँच्चै भारतबाट आएर ठेला चलाउने, तरकारी बेच्ने, कुकर बनाउने, चनाचटपटे बेच्ने, गोलगप्पा/पानीपुरी बेच्ने र अन्य सानातिना मानिने खुद्रा श्रममूलक काम गर्नेहरूको अन्तर्हृदयमा केही नलाग्दो हो तर अहिले नेपालको धरती मानिएको भूगोलभित्र हजारौं वर्षदेखि रहेका मधेसी नेपालीलाई भने दुख्छ, मनमा चोट पु¥याउँछ । आप्mनै देशमा आप्mनै देशका नभएको भावको अनुभूति गराउँछ । आपूmलाई अस्वीकार गरेको अनागरिक भनेकोमा चित्त बुझेको हुँदैन । र, शिक्षित समुदायसित यदि भैया शब्दको सम्बोधन हुन्छ भने शिक्षित हो कि अशिक्षित उनको अज्ञानता, अबुझपन, अहम्पन वा हेपाहा प्रवृत्तिप्रति दया जागेर आउँछ । कहिलेकाहीं आक्रोशको बेर्ना पनि उम्रन्छ मनको गरामा ।
    जानेर वा नजानेर भूगोलको आधारमा जन्मने व्यक्तिलाई हेप्ने प्रवृत्ति प्राचीन आर्यावर्तभरि नै रहेको छ । यसैले गर्दा जातीय कट्टरता भएको क्षेत्र पनि भनिन्छ यसलाई । भारतका प्रमुख महानगरहरूमा नेपालका पहाडबाट काम गर्न पुग्नेलाई बहादुर भनी सम्बोधन गर्ने चलन छ । हुनत ‘बहादुर’ शब्द आपैंmमा गौरवबोध गर्ने शब्द हो । यसले वीरता र स्पूmर्तियुक्त व्यक्ति, शौर्यवान्, ऊर्जावान् भनेर पनि बताउँछ । तर कतिपय हिन्दी चलचित्रमा पनि ‘बहादुर’ सम्बोधन गर्दा प्रथम तथा द्वितीय विश्वयुद्धमा गोर्खालीले देखाएको वीरतालाई, वीर नेपालीको गौरवगाथालाई, बहादुर शब्दको आदर्श अर्थलाई, जसलाई सम्बोधन गरिएको छ, उसको आत्मसम्मानलाई सम्बोधन गरेको पाइँदैन, देखिंदैन । भारतीय राजनीतिमा पनि यदाकदा यस प्रकारका शब्दावलीले प्रवेश गरेको सुन्न पाइन्छ । ‘बहादुर’ भनेर यस शब्दलाई वा सम्बोधन गरिएको व्यक्तिलाई नै कताकता अलिक होच्याएको हो कि भन्ने आभास हुन्छ । यो मलाई मात्रै यस्तो लागेको, भ्रम परेको, वास्तविक अर्थबोध हुन नसकेको पनि हुन सक्छ । तर अन्य विद्वान्हरूले पनि यसतर्पm सङ्केत गरेको पाएको छु ।
    ‘बहादुर’ भनेर जसलाई सम्बोधन गरिन्छ, उसले आपूmलाई होच्याएको अनुभूति नगरेको पनि हुन सक्छ, जसले ‘बहादुर’ भनेर सम्बोधन गर्दछ, उसले पनि होच्याएको भावना नदेखाएको हुन सक्छ वा दुवैले थाहै नपाई भनेको वा सहेको हुन सक्छ । ‘बहादुर’लाई यस शब्दको अभिधाविपरीत सहनुपर्ने बाध्यता पनि हुन सक्छ । धेरै माया गर्ने तर ‘बहादुर’ भनेर सम्बोधन गर्दा त्यसै शब्दमा माया पाएको पनि अनुभूति हुन सक्ला तर अरूले त्यही शब्द प्रयोग गर्दा भने दुख्छ ।
    मलाई पनि एक शहरमा “नेपाली लोग ‘बहादुर’ होता है” भनेका थिए होटल साहुले तर उनले भारतीय सेनामा रहेको गोर्खाली फौजलाई सङ्केत गरेका थिए । अलिकति नेपाली बोल्न भन्दा मैले नेपाली भाषा बोलेर सुनाएको थिएँ । उनी मात्र खुशी भएनन्, म पनि खुशी भएँ । हाम्रो टोली नै प्रफुल्लित भएको थियो । सम्मानको उच्च भाव देखिएको थियो उनमा र छाती फुलेको थियो गौरवले हाम्रो । मनमनै सलाम ठोकेको थिएँ अनगिन्ती नेपाली ‘बहादुर’हरूलाई ।
    मलाई के लाग्छ भने कोही कसैलाई किन हेपून् ? हेपिने योग्यता के ? हेप्ने योग्यता के ?
    कोही कहाँ जन्म्यो भन्ने आधारमा कसैले किन हेप्ने ? जन्ममा उसको दोष हुन्छ ? कोही किन गाउँका, कोही किन काँठका र कोही किन शहरका ? कोही किन अग्लो र कोही किन पुड्को ? कसैको छालाको वर्ण किन कालो वा कोही किन गोरो ? कालो वा गोरो हुनु कसैको निजी गुण वा दोषको परिणति हो ? जुन कुरामा कोही कसैको निजी दोष हुँदैन वा कोही केही कुराका लागि व्यक्तिगतरूपमा जिम्मेवार हुँदैन भने उसलाई हेप्ने, होच्याउने, मजाकको विषय बनाउने, गाली गर्ने प्रवृत्ति नै खराब हो । यस प्रकारका प्रवृत्तिलाई अँगालो मार्ने व्यक्ति दोषी हुन् । विना कुनै कारण निर्दोष र निर्बललाई हेय दृष्टिले हेर्नु, हेला र अपमान गर्नु असभ्यताको प्रदर्शन हो, दम्भ र शोषणको प्रतीक हो, जङ्गलीपनको उदाहरण हो । यस्तो अवस्थामा सहनु सभ्यता हो, सहिष्णुता हो, भ्रातृत्व हो र अझ माथि मानवता हो ।
    सम्भ समाजमा फाटो ल्याउने कुरा बढी हुन्छ र सभ्य समाजमा मेलमिलापका कुरा बढी हुन्छन् । सभ्यताले उकालोतिर लैजान्छ र असभ्यताले ओरालोको यात्रा गर्छ । असभ्य समाजमा खराब प्रवृत्तिहरू मौलाउँछन् भने सभ्य समाजमा असल संस्कृतिले फुल्ने मौका पाउँछ । जो जसरी र जहाँ हुन्छौं, असल नागरिकले सकेसम्म सभ्यतातिर समाजलाई डो¥याउन आप्mनो बोली र व्यवहारले भूमिका खेलिरहेका हुन्छौं ।
    हेपेर सम्मान गर्ने कि सम्मान गरेर हेप्ने भन्ने प्रश्न नै निरर्थक हुन् । वास्तवमा सम्मानलाई हेर्ने दृष्टिकोणले पनि शब्दको अर्थमा पार्थक्य ल्याउँछ भन्ने दुई दृष्टान्तले स्पष्ट्याउँछन् । कतै अपमानबोधक शब्दले पनि सम्मान र गौरवबोध गराउने प्रस्तुति दिएको देखिन्छ वा कसैले हेय लक्ष्यार्थ गरेर शब्दबाणले अन्तर्मनमा हर्षको पूmल फुलाएको हुन्छ । यद्यपि यो प्रवृत्ति भने कुरूप सभ्यताको द्योतक हो भन्ने कुरामा विश्वस्त हुनु जरुरी छ । सकेसम्म हरेक व्यक्तिले आपूmलाई सभ्य बनाउने प्रण ग¥यौं भने मेरो साथीले जस्तो सजगता अपनाउनुपर्छ । हरेक असभ्यतामा पश्चात्तापको अनुभूति हुनुपर्छ ।
जसले हरेक पाइलामा सतर्कताको खोजी गर्दछ ।

SHARE THIS

Author: Prateek Daily

वीरगंजबाट प्रकाशित राष्ट्रिय “क” वर्गको दैनिक पत्रिका

0 comments:

Find us