Saturday, July 20, 2019

ठोरीमा सर्पदंश उपचार केन्द्र स्थापना गर्न सेना इच्छुक

प्रस, ठोरी, ४ साउन/
    पर्साको ठोरी गाउँपालिकामा पहिलोपटक सर्पदंश उपचार केन्द्र स्थापना हुने भएको छ।
    नेपाली सेनाको सर्पदंशसम्बन्धी तालीमप्राप्त विशेषज्ञसहितको प्राविधिक सहयोगमा ठोरी गाउँपालिकाले सर्पदंश उपचार केन्द्र स्थापना गर्ने अध्यक्ष पदमलाल श्रेष्ठले जानकारी दिए।
    सर्पदंश उपचार केन्द्र स्थापनाका लागि नेपाली सेनाको टोलीसँग शुक्रवार पर्सा राष्ट्रिय निकुञ्जको कार्यालय आधारभारमा आवश्यक छलफल भएको अध्यक्ष श्रेष्ठले बताए। सर्पदंश उपचार केन्द्र स्थापनाका लागि पर्सा राष्ट्रिय निकुञ्ज आधाभारका नेपाली सेनाका कर्णेल प्रकाश थापा, सहायक वार्डेन शिवनारायण साहलगायतको टोलीसँग आवश्यक छलफल भएको उनले बताए ।
    छलफलमा नेपाली सेनाले सर्पदंशको उपचारको लागि एकजना विशेषज्ञसहित एन्टीस्नेक भेनम र आवश्यक औषधि उपलब्ध गराउने जानकारी दिएको अध्यक्ष श्रेष्ठले बताए। गाउँपालिकाले सर्पदंश उपचार केन्द्र सञ्चालनका लागि भवन उपलब्ध गराउनुपर्ने उनले बताए । उपचार केन्द्र स्थापनाका लागि गाउँपालिकाले सिमेन्ट, रड, इँटालगायतका सामग्री उपलब्ध गराएको खण्डमा नेपाली सेना स्वयम्ले भवन निर्माण गरिदिने श्रेष्ठले जानकारी दिए । भवन निर्माणको लागि पर्सा राष्ट्रिय निकुञ्जको वार्डेन कार्यालयले गिट्टी, बालुवा, काठलगायतका आवश्यक निर्माण सामग्री उपलब्ध गराउने वातावरण बनाउने आश्वासनसमेत दिएको उनले बताए। बनीबनाउ भवन उपलब्ध गराउन सकिए उपचार केन्द्र छिट्टै सञ्चालनमा आउने श्रेष्ठले बताए। ठोरी गाउँपालिका–४ पानीटङ्कीनजीकै दुई कोठे भवन रहेको र त्यसलाई प्रयोगमा ल्याउने सोचमा रहेको श्रेष्ठले बताए। नयाँ संरचना निर्माण गरेर उपचार केन्द्र सञ्चालन गर्दा ५ देखि ६ महीना लाग्ने अध्यक्ष श्रेष्ठले बताए।
    विषालु सर्पको डसाइबाट प्रत्येक वर्ष ठोरीका जनताले अकालमैं ज्यान गुमाउँदै आइरहेकोमा नेपाली सेनाले सर्प विशेषज्ञसहितको प्राविधिक टोलीले सेवा दिने इच्छा देखाउनुलाई गाउँपालिकाले सकारात्मकरूपमा लिएको अध्यक्ष श्रेष्ठले बताए। सर्पदंश उपचार केन्द्र स्थापनाका लागि स्थानीय तहले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएको उनले बताए। नेपाली सेनाको सेवाभावको कार्य स्वागत योग्य भएको उनले बताए।
    स्थानीय तहमा रहेका स्वास्थ्य चौकीहरूमा एन्टीस्नेक भेनम स्टोर र प्रयोग गर्ने अधिकार स्वास्थ्यकर्मीहरूलाई नहुँदा सर्पदंशमा परेका सर्वसाधारणले समयमैं उपचार नपाउँदा ज्यान गुमाउनुपर्ने बाध्यता रहेको छ।
    स्थानीय तहले सर्पदंशविरुद्धको एन्टीस्नेक भेनम स्टोर र प्रयोग गर्नका लागि एकजना विशेषज्ञसहितको चिकित्सक टोली खटाउन सम्बन्धित निकायको बारम्बार ध्यानाकर्षण गराउँदासमेत कुनै सुनवाइ हुन सकेको थिएन।
    सर्पदंशका कारण स्थानीयले अकालमैं ज्यान गुमाउनुपरेको गुनासो सेनाका प्रमुखसमक्ष राख्दै आएको भएपनि अहिले आएर सुनवाइ भएको निर्मल उपभोक्ता समितिका एकाइ अध्यक्ष मानबहादुर श्रेष्ठले बताए।
    गाउँपालिकाका अध्यक्ष श्रेष्ठसहित वडाध्यक्ष वइबहादुर पाख्रीन, निर्मल उपभोक्ता समितिका एकाइ अध्यक्ष मानबहादुर श्रेष्ठ, विजयबस्ती स्वास्थ्यचौकीका प्रमुख नरू थापालगायतको टोली आधाभार पुगेको थियो।

SHARE THIS

Author: Prateek Daily

वीरगंजबाट प्रकाशित राष्ट्रिय “क” वर्गको दैनिक पत्रिका

0 comments:

Find us