Thursday, July 18, 2019

वीरगंज–ठोरी सडक सुचारु

प्रस, ठोरी, १ साउन/
    मौसममा सुधार आएसँगै वीरगंज–ठोरी सडकखण्डमा सवारीका साधन गुड्न थालेका छन्।
    झरी र बाढीका कारण ठाउँठाउँमा बिग्रिएका सडकको सामान्य मर्मत सम्भार गरी मङ्गलवारदेखि सवारीका साधन सञ्चालनमा ल्याइएको सशस्त्र प्रहरी बिओपी ठोरीका प्रहरी निरीक्षक अमरबहादुर विकले जानकारी दिए।
    अविरल वर्षा र बाढीले सडक नराम्ररी बिगारेपछि गत असार २४ गतेदेखि यस सडकखण्डमा यातायातका साधन सञ्चालनमा आउन सकेका थिएनन्।
    जिल्ला सदरमुकाम वीरगंजसँग एक साता बढी सडक सम्पर्क बिच्छेद भएपछि सरकारी कामकाज गर्न नपाएका सर्वसाधारणहरू सार्वजनिक यातायातका साधन चढेर आउजाउ गर्न थालेको विकले जानकारी दिए।
    वीरगंज–ठोरी सडकखण्डको झिङ्गे, सरस्वती, ढेडुलगायत झन्डै आधा दर्जन साना–ठूला खहरे खोलाहरूमा पुल बन्न नसक्दा वर्षायामको समयमा सर्वसाधारणले प्रत्येक वर्ष समस्या झेल्दै आउनुपरेको छ। ठुटे, रामनगर, ओडारलगायतका खोलामा सुविधासम्पन्न पुल निर्माण भइसके तापनि उक्त पुलहरू सञ्चालनमा आउन नसक्दा सर्वसाधारण बाढीको चपेटामा पर्ने गरेका छन्।
    सामान्य वर्षा हुनेबित्तिकै निर्माणाधीन हुलाकी सडक हिलाम्य हुन पुग्दा दुई पाङ्ग्रे सवारीका साधान समेत गुड्न नसक्ने अवस्थामा पुग्ने स्थानीय सनम श्रेष्ठले जानकारी दिए। मौसममा केही सुधार आएकाले जेनतेन सवारीका साधन सञ्चालनमा आएको उनले बताए। वर्षात् हुनेबित्तिकै निर्माणाधीन हुलाकी सडक भएर सवारी साधन सञ्चालन गर्न नसकिने उनले बताए।
    ठोरी–माडी सडकखण्ड भने दुई दिन मात्रै सडक अवरुद्ध भएको प्रहरी निरीक्षक विकले बताए।

SHARE THIS

Author: Prateek Daily

वीरगंजबाट प्रकाशित राष्ट्रिय “क” वर्गको दैनिक पत्रिका

0 comments:

Find us