Friday, July 12, 2019

परवानीपुरमा प्रदेशस्तरीय कृषि गोष्ठीः ‘रेडिमेड रिसर्च नगरौं’

प्रस, परवानीपुर, २७ असार/
    क्षेत्रीय कृषि अनुसन्धान केन्द्र परवानीपुरको आयोजनामा प्रदेशस्तरीय कृषि प्राविधिक कार्य समूह गोष्ठी शुक्रवार सम्पन्न भएको छ ।
    केन्द्रको परवानीपुरस्थित सभाकक्षमा आयोजित गोष्ठीमा सहभागी जनप्रतिनिधि र किसानहरूले किसानको भावना अनुसार केन्द्रले काम नगरेको गुनासो गरेका थिए ।
    गोष्ठी उद्घाटन गर्दै परवानीपुर गाउँपालिकाका प्रमुख हरिनारायण साहले आगामी दिनमा स्थानीय सरकार, प्रदेश सरकार र केन्द्रीय सरकारको अपनत्व झल्किने र उपलब्धि हुने कार्यक्रम मात्र तयार गर्न केन्द्रलाई सुझाव दिए ।
    उनले जबसम्म स्थानीय किसानको समस्या सम्बोधन गर्ने किसिमको कार्ययोजना बन्दैन, तबसम्म किताबमा सीमित ‘रेडिमेड रिसर्च’ले केही पनि हात नलाग्ने बताए । प्रदेश २ कै लागि सुहाउँदो कृषि बालीको लागि कार्यक्रम केन्द्रले तय गरे त्यसमा स्थानीय सरकारले सहयोग गर्न तयार रहेको प्रमुख साहले बताए ।
    कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिका वडा नं २३ भलुहीका अध्यक्ष असलम देवानले क्षेत्रीय कृषि अनुसन्धान केन्द्र परवानीपुरलाई कृषि अध्ययन केन्द्रको रूपमा रूपान्तरण गर्न योजना थालिसकेकोले इमानदारिताका साथ काम कर्तव्य निर्वाह गर्न केन्द्रका कर्मचारीहरूलाई आग्रह गरे ।
    सो अवसरमा परवानीपुरवासीको प्रत्यक्ष लगानीमा स्थापना भएको परवानीपुर कृषि केन्द्रमा स्थानीयलाई रोजगार दिने सवालमा केन्द्रले ध्यान नदिएको स्थानीयले आवाज उठाएका थिए ।
    केन्द्रका क्षेत्रीय निर्देशक केशवप्रसाद श्रेष्ठको सभापतित्व र प्राविधिक अधिकृत राजेन्द्र यादवको सहजीकरणमा भएको कार्यक्रममा पूर्व क्षेत्रीय निर्देशक तुपैmल अख्तरले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।
    कार्यक्रममा वीरगंज–२१ का अध्यक्ष हबिब मियाँ, कृषि औजार अनुसन्धान केन्द्र वीरगंजका प्रमुख सचिन
मिश्र, कृषि ज्ञान केन्द्र वीरगंजका प्रमुख रामचन्द्र यादवलगायतको सहभागिता थियो ।

SHARE THIS

Author: Prateek Daily

वीरगंजबाट प्रकाशित राष्ट्रिय “क” वर्गको दैनिक पत्रिका

0 comments:

Find us