Friday, July 12, 2019

भीष्मपर्व–५१

उमाशङ्कर द्विवेदी
    उनको यो दशा देखेर घटोत्कच अत्यन्त क्रोधित भएर अभिमन्यु आदि महारथीहरूका साथ दुर्योधनमाथि जाइलागे । यो देखेर द्रोणाचार्यले कौरवपक्षका महारथीहरूसित भने–वीरहरू हो, राजा दुर्योधन सङ्कटको समुद्रमा डुब्दै गइरहेका छन्, शीघ्र गएर उनको प्राणको रक्षा गरौं ।
    आचार्यको कुरा सुनेर कृपाचार्य, भूरिश्रवा, शल्य, अश्वत्थामा, विविंशति, चित्रसेन, विकर्ण, जयद्रथ, बृहद्वल तथा अवन्तिका राजकुमार–यी जम्मैले दुर्योधनलाई घेरेर उभिए । द्रोणाचार्यले आप्mनो महान् धनुष तानेर भीमसेनलाई छब्बीस बाण हाने, अनि फेरि बाणहरूको झरी लगाएर उनलाई आच्छादित गरिदिए । अनि भीमसेनले पनि आचार्यको देब्रेतिरको छातीमा दशवटा बाण हाने । त्यसको चोटले वयोवृद्ध आचार्य अचानक बेहोस भएर रथमा लडे । यो देखेर दुर्योधन तथा अश्वत्थामा दुवै क्रोधित भएर भीमसेनतिर दगुरे । उनीहरूलाई आइरहेको देखेर भीमसेनले पनि हातमा यमदण्ड समान आप्mनो गदा लिएर रथबाट हाम्फालेर उनीहरूको सामना गर्नको लागि तम्तयार भई उभिए । तदन्तर कौरववीरहरूले भीमलाई मारिहाल्ने उद्देश्यले चारैतिरबाट नानाथरीका घातक अस्त्रशस्त्र प्रहार गर्न थाले । अनि अभिमन्यु आदि वीरहरूले प्राणको मोह त्यागेर भीमको रक्षा गर्नको लागि दुगुरे । अनुप देशका राजा नील भीमका प्रिय मित्र थिए, उनले अश्वत्थामामाथि एउटा बाण हाने । त्यो बाण उनको शरीरभित्र छि¥यो, रगत बग्न थाल्यो तथा उनलाई अति पीडा हुन थाल्यो । अनि अश्वत्थामाले पनि क्रुद्ध भएर नीलका चारै घोडालाई मारिदिए, ध्वजा काटेर खसालिदिए तथा भल्ल नामक एउटा बाण हानेर उनको छाती छेडिदिए । त्यसको वेदनाले नील व्याकुल भई रथको पछाडिको भागमा गई बसे । उनको यो दशा देखेर घटोत्कचले आप्mना भाइबन्धुहरूका साथ अश्वत्थामामाथि धावा गरे । उनलाई आइरहेको देखेर अश्वत्थामा पनि शीघ्रतापूर्वक अगि बढे । धेरै राक्षस घटोत्कचको अगिअगि हिंडिरहेका थिए, अश्वत्थामाले ती सबैलाई मारिदिए । द्रोणकुमार अश्वत्थामाको बाणबाट राक्षसहरू मारिइरहेको देखेर घटोत्कचले भयङ्कर आसुरी माया प्रकट गरे । त्यसबाट अश्वत्थामा पनि मोहित हुन पुगे । कौरवपक्षका जम्मै सैनिक मायाको प्रभावबाट युद्ध छाडेर भाग्न थाले । उनीहरूले यस्तो देखे कि मबाहेक सबै सैनिकहरू शस्त्रहरूबाट छिन्नभिन्न भएर रगताम्य भई पृथ्वीमाथि खसेर छट्पटिंदो छन् । द्रोणाचार्य, दुर्योधन, शल्य, अश्वत्थामा आदि महान् धनुर्धर, प्रधानप्रधान कौरव तथा अन्य राजाहरू पनि मारिइसकेका छन तथा हजारौं घोडा र घोडचढी धराशयी भइरहेका छन् । यो सबै देखेर तपाईंका सैनिकहरू छाउनीतिर भाग्न थाले । यद्यपि त्यति बेला म र भीष्मजीले पनि कराएर भन्दै थियौं– ‘वीरहरू हो, न भाग, यो त राक्षसी माया मात्र हो, यसमाथि विश्वास न गर’ तैपनि उनीहरूले हाम्रो कुरामाथि विश्वास गर्न सकेनन् । शत्रुसेनालाई भागिरहेको देखेर पाण्डवसेना सिंहनाद गर्न थाले । चारैतिर शङ्खध्वनि हुन थाल्यो । यो सबैको तुमुल ध्वनिबाट रणभूमि गुञ्जायमान हुन थाल्यो । यस प्रकार सूर्यास्त हुँदा नहुँदै दुरात्मा घटोत्कचले तपाईंका सेनालाई चारैतिर धपाइदिए ।
    सञ्जयले भने– त्यस महासंग्राममा राजा दुर्योधन भीष्मजीको छेउमा गई बडो विनयको साथ उनलाई नमस्कार गरेर उनले घटोत्कचको विजय र आप्mनो पराजयको समाचार सुनाएर भने–पितामह, पाण्डवहरूले जसरी कृष्णको आश्रय लिएका छन्, त्यसै प्रकार हामीले पनि तपाईंको आश्रय लिएर शत्रुहरूको साथ यो घोर युद्ध थालेका छौं । मेरो साथ एघार अक्षौहिणी सेना सदैव तपाईंको आज्ञापालन गर्नको लागि तम्तयार रहन्छन् । तैपनि आज घटोत्कचको सहायता पाई पाण्डवहरूले मलाई युद्धमा पराजित गरिछाडे । यस अपमानको आगोमा म जलिरहेको छु र चाहन्छु तपाईंको सहायता लिएर त्यस अधम राक्षसको म स्वयम्ले वध गरूँ । अतः कृपा गरेर तपाईंले मेरो मनोरथ पूर्ण गर्नुहोस् ।
    भीष्मजीले भने– राजन्, तिमीले राजधर्मको मान गरेर सधैं युधिष्ठिर वा भीम, अर्जुन, नकुल वा सहदेवसित युद्ध गर्नुपर्दछ किनकि राजाले राजाको साथ नै युद्ध गर्न सुहाउँछ । अरू योद्धाहरूसित लड्नको लागि त हामीहरू छँदैछौं नि । म, द्रोणाचार्य, कृपाचार्य, अश्वत्थामा, कृतवर्मा, शल्य, भूरिश्रवा तथा विकर्ण, दुःशासन आदि तिम्रा भाइहरू–यी जम्मै त्यस दुष्ट महाबली राक्षससित तिम्रोलागि युद्ध गर्नेछन् । अथवा ती दुष्ट राक्षससित युद्ध गर्नको लागि यिनी इन्द्रभैंm पराक्रमी राजा भगदत्त जानेछन् । यति भनेर भीष्मले राजा भगदत्तसित भने– महाराज, तपाईं नै गएर घटोत्कचको सामना गर्नुहोस् ।
    सेनापतिको आज्ञा पाएर राजा भगदत्त सिंहनाद गर्दै बडो वेगले शत्रुसेनातिर हानिए । उनलाई आइरहेको देखेर पाण्डवका महारथी भीमसेन, अभिमन्यु, घटोत्कच, द्रौपदीका पुत्रहरू, सत्यधृति, सहदेव, चेदिराज, वसुदान र दशार्णराज क्रोधमा भरिएर उनको सामु आए । भगदत्तले पनि सुप्रतीक नामक हात्तीमाथि आरुढ भएर ती सबै महारथीहरूमाथि धावा गरे । पाण्डव र भगदत्तको साथमा भयङ्कर युद्ध थालियो । महान् धनुर्धर भगदत्तले भीमसेनमाथि धावा गरेर उनीमाथि बाणहरूको वर्षा गर्न थाले । भीमसेनले पनि क्रोधित भएर भगदत्तको हात्तीको खुट्टाको रक्षा गर्ने एक सय वीरहरूलाई मारिदिए । भगदत्तले त्यस गजराजलाई भीमसेनको रथतिर बढाए । यो देखेर पाण्डवका कैययन् महारथीहरूले बाणवर्षा गर्दै त्यस हात्तीलाई चारैतिरबाट घेरामा हाले तर भगदत्त यसबाट अलिकति पनि विचलित भएनन् । उनले अमर्षपूर्वक आप्mनो हात्तीलाई पुनः बढाए । अङ्कुश र औंलाको इशारा पाएर त्यो मत्त गजराज त्यसबेला प्रलयकालीन अग्निसमान भयानक हुन पुग्यो । क्रमशः...

SHARE THIS

Author: Prateek Daily

वीरगंजबाट प्रकाशित राष्ट्रिय “क” वर्गको दैनिक पत्रिका

0 comments:

Find us