Sunday, July 14, 2019

मृतकका परिवारजनलाई रु ३ लाख, उद्धारको लागि जिल्लामा रु १० लाख

प्रस, जनकपुरधाम, २८ असार/
     प्रदेश नं २ सरकारले बाढी पहिरोमा ज्यान गुमाएकाहरूको परिवारजनलाई ३ लाख रुपैयाँ राहत प्रदान गर्ने निर्णय गरेको छ।
    त्यसैगरी, आकस्मिक उद्धारका लागि प्रदेशका ८ वटै जिल्लास्थित विपद् व्यवस्थापन समितिलाई १० लाख रुपैयाँको दरले रकम दिने निर्णय प्रदेश मन्त्रिपरिषद्ले गरेको छ। शनिवार जनकपुरमा सम्पन्न प्रदेश मन्त्रिपरिषद्को आकस्मिक बैठकले धनजनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै सो निर्णय गरेको हो।
    मन्त्रिपरिषद्को बैठकले हालसम्म राहत तथा उद्धारमा खटिएका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्वयंसेवकहरूलाई धन्यवाद दिंदै राहत तथा उद्धारमा जुट्न प्रदेशभरिका युवाहरूलाई आह्वान गरेको छ।
    बाढीपहिरोका कारण सडकहरू अवरुद्ध भएकाले राहत तथा उद्धारका लागि सङ्घीय सरकारसँग समन्वय गरेर हेलिकप्टर मगाउने पहल भइरहेको प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र यादवले बताए।

SHARE THIS

Author: Prateek Daily

वीरगंजबाट प्रकाशित राष्ट्रिय “क” वर्गको दैनिक पत्रिका

0 comments:

Find us