Friday, July 12, 2019

वर्षात्को कारण रौतहटको जनजीवन प्रभावित

प्रस, रौतहट, २७ असार/
    तीन दिनदेखि लगातार परेको वर्षाका कारण रौतहटको जनजीवन प्रभावित बनेको छ ।
    बागमती, लालबकैया, झाझलगायतका नदीमा पानीको सतह बढ्दै गएपछि प्रभावित क्षेत्रका बासिन्दा चिन्तित बनेका छन् । पानीको निकास नभएकाले जिल्लाका धेरै स्थान डुबानमा परेको छ ।
    गढीमाई नगरपालिकाको लक्ष्मीपुरनजीक बागमति नदीको बाँध भत्केको छ । चन्द्रपुर नगरपालिकाको पूर्व—पश्चिम राजमार्ग क्षेत्र रातभर डुबानमा परेको स्थानीयले बताएका छन् । नाला पुरिएका र नयाँ नाला नबनाइएका कारण डुबानको खतरा बढेकोले  स्थानीयवासी त्रसित छन् ।
स्थानीय प्रशासनले नदी किनाराका बासिन्दालाई चनाखो रहन आग्रह गर्दै आएको छ ।
    पूर्व–पश्चिम राजमार्गको चन्द्रपुर– बागमती खण्डको लच्कामा बाढी आएकोले बिहीवार रातिदेखि राजमार्ग अवरुद्ध भएको छ । चन्द्रनिगाहपुरदेखि तीन किलोमिटर पश्चिम लच्कामा बाढी आएर राजमार्ग अवरुद्ध हँुदा करीब ५ सय सवारीसाधन रोकिएका थिए । रातिबाट नै सवारीसाधन आवतजावतमा समस्या भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायब उपरीक्षक कवित कटवालले बताए । राजमार्गको लच्कामा पानीको बहाव घटेको छैन । केही सवारीसाधन बाढीमा फसेका थिए । प्रहरीले ती सवारीलाई निकालेको थियो ।
    जिल्लाको एक दर्जनभन्दा बढी बस्तीमा डुबान शुरू भएको छ । दुर्गा भगवती गाउँपालिकाका गाउँहरू वसतपुर, चण्डिया, ब्रह्मपुरी, राजपुर, बन्जरहा, औरैया, बेलबिछवा, बडहर्वा, गौर, गढौलगायतका बस्ती डुबानको जोखिममा छन् । बागमती, लालबकैया, झाझ, चाँदी, लमाहा नदीमा पनि पानीको बहाव उच्च हुँदै गएको छ ।             स्थानीय प्रशासनले नदीछेउका बासिन्दालाई सुरक्षित स्थानमा जान आग्रह गरेको छ । नदीले बाँध कटान गरे सुरक्षा निकायलाई खबर गर्न, तयारी खाना चिउरा, दालमोठ, चाउचाउ, बिस्कुट आदि छुट्टै प्याक गरी सुरक्षित स्थानमा राख्न, बालबालिकालाई अभिभावकको साथविना बाहिर निस्कन नदिन पनि प्रहरीले आग्रह गरेको छ ।
    त्यसैगरी, महŒवपूर्ण कागजात, पैसा पानीले नभिज्ने गरी राख्न, जीर्ण कच्ची वा पक्की घरमा नबस्न, आपत्मा परेमा तथा उद्धारको आवश्यकता परेमा तत्काल १०० नम्बरमा खबर गर्न प्रहरीले आग्रह गरेको छ ।
    यसैबीच, वृन्दावन नगरपालिका वडा नं ३ विश्रामपुरका बिधालाल यादवको अर्र्ध पक्की घर भत्केको छ । छेउछाउमा नाला निर्माण गरे पनि यादवको घरनजीक नाला निर्माणको लागि खाल्डो खने पनि नाला निर्माण नगरेको कारण घर भत्केको यादवले आरोप लगाएका छन् ।
    आज चन्द्रपुर नगरपालिका–३ मोथियाहीका बासिन्दाहरूले सडकजाम गरेका छन् । वर्षात् लाग्दासमेत समयमा विकास निर्माणको काम नगरेको भन्दै उनीहरूले सडकजाम गरेका हुन् ।

SHARE THIS

Author: Prateek Daily

वीरगंजबाट प्रकाशित राष्ट्रिय “क” वर्गको दैनिक पत्रिका

0 comments:

Find us