Friday, June 14, 2019

रक्तदान गर्नेलाई ५ फाइदा

विश्व रक्तदाता दिवस
    विश्व स्वास्थ्य सङ्गठनले १४ जूनमा हरेक वर्ष विश्व रक्तदादा दिवस मनाउँछ । रक्तदान गर्न सर्वसाधारणलाई प्रेरित गर्ने उद्देश्यले रक्तदान दिवस मनाइन्छ । रक्तदानले धेरैजनाको ज्यान जोगाएको छ । यस कारण ठूलठूला अस्पतालमा ब्लड बैंकको स्थापना गरिन्छ र आवश्यक परेपछि रगत लिने र दिने गरिन्छ ।
    धेरैजसोले रक्तदान गर्दा शरीर कमजोर हुन्छ र दान गरिएको रगतको भर्पाइ गर्न महीनौं लाग्छ, नियमित रगत दिंदा रोग प्रतिरोधक क्षमता कमजोर हुन्छ र रोगले चाँडै समात्छ भन्ने भ्रम छ । यही भ्रमको कारण धेरैजना रक्तदानको नाम सुन्ने बित्तिकै तर्सिन्छन् । जबकि रक्तदान मनुष्यको शरीरको लागि फाइदाजनक हुन्छ । रक्तदान गर्दा हाम्रो शरीरमा कुनै प्रकारको नराम्रो प्रभाव पर्दैन, बरु हामीले दान गरेको रगतको क्षतिपूर्ति हाम्रो शरीरले केही घण्टामंै गर्छ । विश्व रक्तदाता दिवस समाजमा रक्तदानलाई लिएर व्याप्त भ्रान्तिलाई हटाउन र रक्तदानको लागि प्रोत्साहित गर्न मनाइने गरिन्छ ।
रक्तदानले स्वास्थ्यमा पुग्ने फाइदा
–    मनुष्यको शरीरमा रगत बन्ने प्रक्रिया सधैं चलिरहन्छ र रक्तदानबाट कुनै नोक्सानी हुँदैन ।
–    जो व्यक्ति नियमित रक्तदान गर्छ, उसलाई हृदयसम्बन्धी गम्भीर रोग हुने सम्भावना निकै कम रहन्छ । चिकित्सकको भनाइ अनुसार रक्तदानले रगत पातलो हुन्छ, जुन हृदयको लागि राम्रो हो ।
–    रक्तदान गर्दा मुटु र कलेजो पनि स्वस्थ रहन्छ । शरीरमा आयरनको अतिरिक्त मात्रा भएपछि मुटु र कलेजो अस्वस्थ हुन्छ । यसै कारण सही समयमा रक्तदान गर्नुपर्छ, जसले गर्दा स्वास्थ्यसँग सम्बन्धित कुनै समस्या हुँदैन ।
–    रक्तदान गर्न शुरू गरेपछि शरीरमा आयरनको स्तर नियन्त्रित हुन्छ र विभिन्न प्रकारका रोगबाट ग्रस्त हुने सम्भावना निकै कम हुन्छ ।
–    हामीले दिएको रगतको पूर्ति शरीरले केही घण्टाभित्रै गर्छ र गुणवत्ता पूर्ति २१ दिनभित्र हुन्छ ।
–    हाम्रो रगतको संरचना यस्तो छ कि त्यसमा समाहित रातो रक्त सेल तीन महीनामा स्वयम् मर्छ, त्यस कारण प्रत्येक स्वस्थ व्यक्तिले तीन महीनामा एकपटक रक्तदान गर्न सक्छ ।
–    रक्तदान गरेपछि बोनमैरोमा नयाँ रातो कोष बन्छ । यसबाट शरीरले नयाँ रगत कोष पाउनुका साथै तन्दुरुस्ती पनि पाउँछ ।
–    एउटा नयाँ शोध अनुसार नियमित रक्तदान गर्दा क्यान्सर र अन्य रोग हुने खतरा पनि कम हुन्छ, किनभने यसबाट शरीरमा मौजुद विषालु पदार्थ बाहिर निस्किन्छ ।
    शायद तपाईंले यो कुरालाई ध्यान दिनुभएको छैन कि तपाईंको रगतको केही थोपाले कसैलाई जीवन दिन सक्छ । हरेक दोस्रो सेकेन्डमा संसारमा कोही न कोही मृत्युसँग लडिरहन्छ, त्यस कारण रक्तदान गर्नुपर्छ । तर रक्तदान गर्नुभन्दा पहिले केही सामान्य कुरालाई ध्यानमा राख्नुपर्छ ।
रक्तदान कसले गर्नुपर्छ ?
–    रक्तदान गर्नेको उमेर १७ वर्षभन्दा बढी हुनुपर्छ ।
–    रक्तदान गर्ने व्यक्तिको हेमोग्लोबिनको स्तर १२ प्रतिशतभन्दा बढी हुनुपर्छ ।
–    जसको वजन ४५ किलोभन्दा बढी छ, उसले रक्तदान गर्न सक्छ ।
–    महीनावारी भएको बेला र स्तनपान गराउने महिलाले रक्तदान गर्नुहुँदैन ।     –    रक्तदान गर्नुभन्दा २४ घण्टा पहिले अल्कोहलको सेवन गर्नुभएको छ भने रक्तदान गर्नुहुँदैन ।
रक्तदातालाई सुझाव
–    रक्तदानभन्दा पहिले धुम्रपान नगर्नुस् ।
–    रक्तदान गर्नुभन्दा पहिले पौष्टिक भोजन गर्नुपर्छ ।
–    रक्तदानको लागि डिस्पोजिबल सिरिन्जको प्रयोग भए–नभएको ध्यान दिनुपर्छ ।
रक्तदानसँग सम्बन्धित विषय
–    रक्तदानमा केवल ५ देखि ७ मिनेट मात्र लाग्छ तर यो पूरै प्रक्रियामा ३०–४० मिनेट पनि लाग्न सक्छ ।
–    पहिले प्राथमिक स्वास्थ्यको जाँच हुन्छ, त्यसपछि रक्त समूह हेरेर प्रशिक्षित ब्लड बैंकको टीमद्वारा रगत निकालेर सुरक्षित गरिन्छ ।
–    आवश्यक पात्रलाई चढाइन्छ वा विनिमय गरिन्छ ।
–    ३५० मिलि एक युनिट ब्लड निकाल्न केवल ६५० क्यालोरी ऊर्जा खर्च हुन्छ, जुन एक समयको पौष्टिक खाजाको ऊर्जा बराबर हुन्छ ।
–    रक्त समूह ८ प्रकारका हुन्छन् र सबैको अलगअलग रक्त समूह हुन्छ ।
रोचक तथ्य
–    विश्व स्वास्थ्य सङ्गठनको अनुसार कुनै देशको एक प्रतिशत जनसङ्ख्याले यदि रक्तदान गर्छ भने त्यस देशका नागरिक जसलाई रगतको आवश्यकता छ, उसलाई पर्याप्त आपूर्ति हुन्छ ।
–    रगत बजारमा पाइँदैन, त्यस कारण यसको आपूर्ति दानबाट मात्र सम्भव छ ।
–    रगतका समूहहरू हुन्– ए पोजिटिभ, ए नेगेटिभ, बी पोजिटिभ, बी नेगेटिभ, एबी पोजिटिभ, एबी नेगेटिभ, ओ पोजिटिभ, ओ नेगेटिभ ।
–    रक्तदान दुई प्रकारले गरिन्छ । पहिलो जो व्यक्ति स्वेच्छाले रक्तदान गर्छ र उसको रगत आवश्यक पर्ने व्यक्तिको ज्यान जोगाउन उपयोग हुन्छ । दोस्रो, बिरामीका आफन्तजनले बिरामीको लागि रक्तदान गर्न सक्छ ।
–    कुनै पनि व्यक्तिले तीन महीनामा एकपटकभन्दा बढी रक्तदान गर्नुहुँदैन र ब्लड बैंकले पनि यस्ता व्यक्तिको रगत लिनुहुँदैन, जसले रक्तदानको अन्तराल पूरा गरेको हुँदैन ।    
–    आधा लिटर रगतबाट तीनजनाको ज्यान जोगाउन सकिन्छ ।

SHARE THIS

Author: Prateek Daily

वीरगंजबाट प्रकाशित राष्ट्रिय “क” वर्गको दैनिक पत्रिका

0 comments:

Find us