Saturday, June 22, 2019

वीरगंज बजार क्षेत्रमा सडक विस्तार प्रक्रिया शुरू

प्रस, परवानीपुर, ७ असार/
    वीरगंज बजार क्षेत्रको मुख्य सडक आसपासका घरहरू पनि भत्काइने भएको छ ।
    त्रिभुवन राजमार्गमा पर्ने वीरगंज बजारको क्षेत्रमा अतिक्रमण खाली गराउने सूचना जारी गर्दै सडक विभागले प्रक्रिया शुरू गरेको हो । भौतिक योजना तथा यातायात मन्त्रालय मातहतको सडक विभाग अन्तर्गतको सडक डिभिजन कार्यालय हेटौंडाले राजमार्ग खाली गर्न १५ दिने सूचना जारी गरेको छ । राजमार्गको वीरगंज भन्सारदेखि मकवानपुरको दामेचौरसम्म राजमार्ग खाली गर्न सडक विभागले छैटौंपटक सूचना जारी गरेको हो । २०६९ सालमा पहिलो सूचना जारी भएको थियो । यसपटकको सूचना अन्तिम हुने विभाग स्रोतले बताएको छ ।
    दुई साताअघि गण्डक, परवानीपुर क्षेत्र चारलेन सडक विस्तार गर्न भौतिक संरचना सडक विभागले डोजर लगाएर भत्काएको थियो । त्यसैगरी, ६ लेन सडक विस्तार भइरहेको पथलैया–परवानीपुर अन्तर्गतको जीतपुरमा पनि डोजर लगाएर विभागले घरटहरा भत्काइसकेको छ ।
    पटकपटक स्थानीय सरकार तथा बासिन्दालाई पत्र काट्दा पनि घर नभत्काएपछि डोजर लगाएर सडक विस्तारमा अग्रसर भएको सडक विभाग हेटौंडा कार्यालयका सूचना अधिकारी जयराम अधिकारीले बताए ।
    प्रधानमन्त्री कार्यालयले भौतिक योजना तथा यातायात मन्त्रालयलाई सडक विस्तारको काम तदारूकताका साथ अघि बढाउन निर्देशन दिएपछि सडक डिभिजन कार्यालय हेटौंडाले तीव्रताका साथ कारबाई थालेको हो ।
    प्रधानमन्त्री कार्यालयको निर्देशनपछि सडक डिभिजन कार्यालय हेटौंडाले अतिक्रमण खाली गराउने काम शुरू गरेको हो । महानगरपालिकाकै अनुरोधपछि प्रधानमन्त्री कार्यालयले निर्देशन दिएको स्रोतले जनाएको हो।
    यता, वीरगंज बजार क्षेत्रका केही उद्योगी–व्यवसायीले पनि घर नभत्काकियोस् भनेर सत्तापक्षसमक्ष यसअघि लबिङ गर्दै आएका थिए ।

SHARE THIS

Author: Prateek Daily

वीरगंजबाट प्रकाशित राष्ट्रिय “क” वर्गको दैनिक पत्रिका

0 comments:

Find us