Sunday, June 23, 2019

निजगढ विमानस्थल

    दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निजगढमा बन्ने पक्कापक्की भएपछि पुनः अन्योल छाएको छ  । सो परियोजनाले आगामी आवका लागि बजेट पाएन । जसले जे भने पनि विमानस्थल निर्माण कार्य अनिश्चिततामा पुगेको कुरा घोषित बजेटले पुष्टि गरेको छ । भोलि ठूलै विवाद आयो र विमानस्थल बनाउन नसक्ने अवस्था रह्यो भने लगानी खेर जान्छ भन्ने सोचमा सरकार देखिन्छ । मुख्य विवाद जङ्गलको विषयमा हो । विमानस्थल र स्मार्ट सिटीसमेत निर्माण गर्दा सो क्षेत्रका करीब २४ लाख रूख काट्नुपर्ने परियोजनाकोे मोडल छ । यसैलाई मुख्य मुद्दा बनाएर बातावरण संरक्षणका पक्षधरहरू विमानस्थल निर्माणको विपक्षमा छन् । अन्तर्राष्ट्रिय विमानस्थल निजगढमा नभएर अन्यत्र बनोस् भनेर लागेका विभिन्न शक्ति यति बेला च्याँखे दाउ थाप्न तरखरिएका छन् । उनीहरूले वातावरणवादीहरूले उठाएको कुरालाई अझ उचाल्ने र निजगढको जनतालाई भड्काउने काम गरिरहेका छन् । ‘विमान स्थल निर्माण भएमा पानीको स्रोत तथा मूल र जरुवा नासिन्छ’ भन्दै निजगढबासीलाई तर्साउने काम पनि भयो । फलस्वरूप यहाँका बासिन्दा दोधारमा परेका छन् ।
    कुनै पनि योजना निर्माण गर्दा स्थानीयको सहमति र विमतिले ठूलो अर्थ राख्छ ।  सहमति–विमति जनाउन पाउने र न्यायोचित राहत तथा क्षतिपूर्ति पाउर्ने उसको अधिकार हो । त्यसैगरी मुलुक तथा मुलुकवासीको हितमा विकास निर्माणको काम गर्दा प्रचलित नियम कानून अनुसार मुआब्जा दिएर वा बस्ती स्थानान्तरण गराई भूमि अधिग्रहण गर्ने सरकार अधिकार क्षेत्र हो । एकदलीय प्रणालीमा जनताले बोल्न पाउँदैन ।  त्यहाँ कुनै पनि विकास निर्माण वा सरकारी योजना निर्माढामा भूमिसम्बन्धी विवाद न्यून हुन्छ । तर लोकतान्त्रिक मुलुकमा स्थानीयको आवाजलाई बढी प्राथमिकता दिइने हुँदा भूमि विवाद बढी देखिन्छ ।
    अब निजगढको जनता दुईधारमा देखिनुहुँदैन । विभिन्न स्थलको अध्ययन अनुसन्धानपश्चात विमानस्थलका लागि  निजगढ उत्तम ठहर भएको हो । वातावरणीयरूपमा पनि अन्यत्रभन्दा यहाँ कम क्षति हुने देखिएको छ । जहाँ आधुनिकीकरणको कुरा आउँछ त्यहाँ वातावरण विनाश हुन्छ  नै । वातावरणमा कुनै क्षति नपु¥याउने हो भने त मानव समाजलाई प्रकृतिकरूपमा रहन दिनुपर्छ  । ‘चिची पनि, पापा पनि’ सम्भव छैन । दुईमध्ये एक चीज गुमाउनै पर्छ । त्यसलाई जतिसक्दो न्यूनीकरण गर्न सक्नु महŒवपूर्ण कुरा हो । विकसित मुलुकहरूमा हामीकहाँ भन्दा धेरै ठूला र अत्याधुनिक विमानस्थल छन् । त्यहाँ पनि पहिले वन–जङ्गल तथा प्रकृतिको प्राधान्य थियो । त्यसलाई मासेर आधुनिक भएको हो । निजगढमा विमानस्थल निर्माण हुनु सो क्षेत्रको लागि मात्रै नभएर प्रदेश नं.२ को लागि नै ठूलो वरदान साबित हुनेछ । ‘हातमा अवसर छउन्जेल चाल नपाउने, अवसर गुमिसके पछि पछुताउने’ हाम्रो स्वभाव छ । पहिलो प्राथमिकताको स्थानमा बन्न नसके दोस्रो या तेस्रो प्राथमिकतामा अवश्य बन्ला । दोलखामा निर्माण शुरू एशियाकै महŒवपूर्ण ‘फिल्म सिटी’  रद्द गरेर नुवाकोट र धादिङ्गतर्फ सर्भेको तयारीमा सरकार छ । धुर्मुस–सुन्तली फाउन्डेशनले चितवनमा शुरू गरेको गौतमबुद्ध अन्तर्राष्ट्रिय किक्रेट मैदान स्थगित छ । विमानस्थल निर्माणका लागि शुरूमा निजगढका युवा, अगुवा र राजनीतिक नेतृत्व तहले महŒवपूर्ण भूमिका निर्वाह गरेका हुन् । त्यसैले विमानस्थल निर्माणप्रति सरकारको उदासीनतालाई झक्झकाउन नागरिक एकताका साथ त्यो भूमिका पुनः जरूरी देखिएको छ ।

SHARE THIS

Author: Prateek Daily

वीरगंजबाट प्रकाशित राष्ट्रिय “क” वर्गको दैनिक पत्रिका

0 comments:

Find us