Friday, June 14, 2019

गौरमा पत्रपत्रिका पाइँदैन

कुमार रुपाखेती
    रौतहटको सदरमुकाम गौर हो । अबको रौतहट त्यो पुरानो रौतहट रहेन, अचेल रौतहटमा थुप्रै नगरपालिका स्थापना भएका छन् । २००७ सालको क्रान्तिदेखि २०६३ को मधेस आन्दोलनमा समेत रौतहट, खासगरी गौरको अहम् भूमिका थियो । ठूलठूला क्रान्तिमा जोडदार उपस्थिति रहे तापनि रौतहट र गौरमा ठूला र स्थापित नेता देखिएनन् । गौरको पुरेनिया दरबार त्यहाँको गौरव मानिन्थ्यो । रौतहट गौरका भएपनि माधव नेपाल अचेल त्यता पाहुनाको रूपमा मात्रै उपस्थित हुन्छन्, गौरका ठूला नेता भनेकै मानव नेपाल नै हुन् ।
    रौतहटको गौर एउटा सुगम ठाउँ हो । भारत, बिहारको बैरगनिया र गौर टाँसिएको, आमुन्ने–सामुन्ने छ तर अचम्म तपार्ईं रौतहटको गौरमा एउटा पनि पत्रिका पसल देख्न पाउनुहुन्न । तपाईंले त्यहाँ नेपालको कुनै पनि राष्ट्रिय पत्रिका देख्न पढ्न असम्भव छ । राजधानीबाट निस्किने सबै राष्ट्रिय दैनिक पत्रपत्रिका रौतहटको चन्द्रपुरमा छ्याप्छ्याप्ती पाउनुहुन्छ तर गौरमा राजधानीबाट प्रकाशित हुने कुनै पनि दैनिक पत्रिका पुग्दैन । मोफसलमा वीरगंजबाट प्रकाशित हुने प्रतीक दैनिक भने एकाभोरै गौर पुग्छ, चन्द्रनिगाहपुरको स्थानीय पत्रिका आक्कलझुक्कल गौरमा झुल्किने गर्दा रहेछन् । केही समयअघिसम्म गौरमा त्यहाँको स्थानीय पत्रिका निस्कन्थ्यो तर अचेल नयाँ वर्ष, दशैं, तिहारमा विज्ञापन प्राप्तिहेतु त्यहाँ पत्रिका निकालिन्छ र लोप हुन्छन् । भनिन्छ, अति विकट रोल्पा, रूकुममा समेत स्थानीय खबरका पत्रिका छापिन्छन् र काठमाडौंमा छापिने राष्ट्रिय दैनिक छ्याप्छ्याप्ती पाइन्छ ।
    आखिर किन रौतहटको सदरमुकाम गौरमा प्रिन्ट मिडियाको यस्तो दयनीय अवस्था छ ? कसैले सोधखोज पनि गरेको देखिंदैन । पत्रकारको सङ्ख्याको कुरा गर्नुहुन्छ भने रौतहटको गौरमा पनि वीरगंजभैंm ‘म पत्रकार हुँ’ भन्ने धक्कु लगाउनेहरू गल्लीगल्लीमा भेटिन्छन् । थुप्रै पत्रकार भन्नेहरू त्यहाँको सरकारी कार्यालय, प्रहरी कार्यालय, सिडिओ कार्यालय, नापी, मालपोततिर मडारिरहन्छन् रे ।
    नेपाल पत्रकार महासङ्घ पर्सा भनेभैंm त्यहाँ पनि नेपाल पत्रकार महासङ्घ रौतहट सक्रिय छ । त्यहाँ पत्रकार छन् तर प्रिन्ट मिडिया छैन । तर त्यहाँ एफएमहरू थुप्रै सञ्चालित छन् । एफएमहरूलाई चाहिं भ्याइनभ्याइ छ रे । शायद प्रिन्ट मिडियामा त्यहाँ मितव्ययिता अपनाइएको हो कि भन्ने भ्रम पर्न थालेको छ । तर पारि बैरगिनियाबाट हिन्दी दैनिक पत्रिका हकरहरूले साइकलमा ल्याएर वितरण गर्दा रहेछन् । भनिन्छ, गौरमा पाठक, लेखक, प्रकाशक, सम्पादक सबैको कमी छ क्यारे । आजकल दैनिक पत्रिकामा ताजा खबरका साथै सामान्यज्ञान, लोकसेवा आयोगको परीक्ष्Fाको लागि उपयोगी सामग्री, स्वास्थ्यसम्बन्धी जानकारी, एसएलसीका प्रश्नोत्तर जस्ता गहन सामग्री पनि छापिन्छन्, तर यसबाट गौरका होनहार युवाहरू वञ्चित छन् ।
    त्यसैले रौतहट गौरका अग्रज पत्रकारहरूले कसरी गौरमा राष्ट्रिय दैनिक पत्रपत्रिका बिक्री वितरण गरी जनचेतना बढाउन सकिन्छ भनी घोरिनु आवश्यक बुझिन्छ । वीरगंजमा त सार्वजनिक पुस्तकालय लोप भइसक्यो । पत्रपत्रिका महँगा भए, गरीब र अध्ययनशील पाठकलाई यहाँ पनि मर्का छ । गौरमा क्यै सीप नलागे सानो पुस्तकालय सञ्चालन गरेर पठनपाठन प्रवृत्ति बढाउन सकिन्छ । जसमा नगरपालिका सहयोगी बनून् ।

SHARE THIS

Author: Prateek Daily

वीरगंजबाट प्रकाशित राष्ट्रिय “क” वर्गको दैनिक पत्रिका

0 comments:

Find us