Friday, May 17, 2019

बुद्धम् शरणम् गच्छामि


सञ्जय मित्र
    बौद्ध धर्मका सर्वोच्च नायक सिद्धार्थ गौतमको जन्मस्थल लुम्बिनी हो । सिद्धार्थले बुद्धत्व प्राप्त गरेपछि बुद्ध कहलिए । उनले बुद्धत्व प्राप्त गरेको ठाउँ बोधगया हो । बुद्धले भौतिक जीवनको अन्तिम साँस लिएको कुशीनगर हो । हिन्दू धर्ममा समेत पूजित भगवान् बुद्धले आँखा उघारेको धर्ती, ज्ञान प्राप्त गरेको धर्ती, आँखा बन्द गरेको धर्ती आपैंmमा पवित्र बनेका छन् । लुम्बिनी, बोधगया र कुशीनगर विश्वका बौद्ध धर्मावलम्बीका महान् तीर्थस्थलहरू हुन् ।
    लुम्बिनी नेपालमा छ । बोधगया भारतको बिहारमा र कुशीनगर भारतको उत्तर प्रदेशमा ।
    लुम्बिनी र बोधगयाको प्रसिद्धि धेरैले देखेका छन् । लुम्बिनीमा हरेक वर्ष लाखौं पर्यटक पुग्छन् । मुख्यगरी बुद्ध पूर्णिमाको अवसर पारेर एकै दिन हजारौं पर्यटक पुग्छन् । बुद्धको जन्म, ज्ञानप्राप्ति र महापरिनिर्वाण वैशाख पूर्णिमाकै दिन भएको मानिन्छ । यसले गर्दा एक वर्षमा बौद्ध धर्मावलम्बीका लागि सबैभन्दा महान् दिन यही नै पर्दछ ।
    संसारमा अनेक भाषा छन् । अनेक जातजाति छन् । अनेक धर्म छन् । देशको सङ्ख्या त झन् बढी छ । बौद्धमार्गीहरू संसारभर छन् । नेपालको लुम्बिनीमा जन्मेका बुद्धले भारतमा ज्ञान प्राप्त गरेपछि दिएका उपदेशहरू पाली भाषामा सङ्कलन गरिए । बुद्धले मृत्युवरण गरे, पाली भाषा म¥यो । बुद्ध जन्मेको तत्कालीन राज्यको नामनिशान छैन तर बुद्धका उपदेशहरू निरन्तर पैmलिइरहे । नेपालको पूर्व, पश्चिम, उत्तर र दक्षिण चारैतिरका देशहरूमा बुद्ध पूजित छन् । करीब डेढ दर्जन देशमा राजधर्म बौद्ध र मुख्य देवता नै बुद्ध छन् । शान्तिको मार्ग अपनाउनुपर्छ भन्ने मूल सिद्धान्त मान्ने बौद्धमार्गीहरू नभएको देश कमै होला ।
    सिद्धार्थ गौतम राजाका छोरा थिए । युवराज थिए । आपैंm राजा हुने थिए । तत्कालीन अवस्थामा राजा भन्नु सर्वसाधारणका लागि भगवान् नै मानिन्थे । भगवान्को आदेशजस्तै राजाको आदेश चल्ने युग थियो । सुखसयलको कमी थिएन तर सिद्धार्थको ध्यान ज्ञानतिर गयो । ज्ञानको खोजीको तिर्खाले उनलाई आप्mनो राजपाट वा शासनबाट विमुख गरायो । उनी तपस्वी बन्न पुगे । लामो समय ध्यान गरेर उनले ज्ञानार्जन गरे । ज्ञानको प्रचारप्रसार गरे । तत्कालीन सामन्त, कुलीन, राजा र सर्वसाधारणहरू उनका ज्ञानका कुरा सुन्न लालायित रहन्थे । उनीसँगै हजारौं मानिस उनकै जस्तो जीवन व्यतीत गर्न थालेका थिए । हजारौं उनीसँगै बस्न थालेका थिए । सिद्धार्थ गौतमसित वैशालीको एउटा बगैंचामा भेट भएपछि इतिहास सुन्दरी आम्रपाली पनि भिक्षुणी भएकी थिइन् । ती त्यही आम्रपाली/अम्बपाली हुन्, जसलाई प्राप्त गर्न कैयौं राजाहरू गद्दी त्याग्न तयार थिए, कैयौं युद्ध भए । सम्भवतः बुद्धले आम्रपालीलाई भेटेपछि यस क्षेत्रमा युद्धको एउटा कारण नै समाप्त भएको थियो ।
    शासन, शक्ति र सम्पत्तिको बोलवाला थियो त्यतिबेला पनि तर ज्ञानलाई मान्नेहरूको कमी थिएन । यसै कारण बुद्धका वाणीको आलोक श्रीलङ्का, जापान, कोरिया, चीन आदि कैयौं दर्जन देशसम्म पुगेर आलोकित गरिरहेको छ । आजको दिन बुद्धका वाणीहरूको अनेक किसिमले व्याख्या भइरहेको छ विश्वभरि । विश्वका शक्तिसम्पन्न देशदेखि विकासको पथमा अगाडि बढिरहेका देशहरूले समेत बुद्धका विचारहरूको वर्तमान परिवेशमा उपादेयता खोजिरहेका छन् । बुद्धका वाणीलाई कसरी वर्तमान परिवेशमा लागू गर्न सकिन्छ भन्ने चिन्तन गरिरहेका छन् । आजको दिन लाखौं मानिस बौद्ध धर्मका तीर्थस्थलहरूमा पुगेर बुद्धप्रति आप्mनो श्रद्धा र आस्था रहेको दर्शाउँछन्, साथै आप्mनो मनमा पनि शान्ति आओस् भन्ने कामना पनि गर्दछन् । आप्mनै मनको शान्तिको लागि बुद्धअगाडि उभिएर, बसेर, आँखा चिम्लेर वा खोलेर कामना गर्दछन् ।
    बुद्धले पाइला टेकेको वा बुद्धको नाउँमा बनाइएका सबै ठाउँमा बुद्ध जयन्तीमा मानिसको अन्तर्हृदयदेखि श्रद्धाका अविरल धारा बग्ने कारण बुद्धमा लोभ, मोह र घमण्ड नहुनु पनि हो । मानिसले जतिसुकै लोभ गरे पनि मरेपछि उसको जीउमा रहेको कपडा पनि साथ हुँदैन । अत्यधिक सञ्चय, अनावश्यक सञ्चय, अरूलाई दुःख दिएर गरिने सञ्चय, ठगी वा भ्रष्टाचार गरेर गरिने सञ्चयलाई गौतम बुद्धको राज्यत्यागको सन्दर्भले जहिले पनि जितेको छ । धन सञ्चय गरेर कोही पनि बुद्धत्व प्राप्त गर्न सक्दैन तर लोभ नगर्ने हो भने शान्ति र आनन्दको प्राप्ति हुने सबैले बुझेका छन् ।
    मोहमा परेर आफन्तलाई सर्वस्व मान्नु अस्वाभाविक होइन । सिद्धार्थ गौतमले राज्यको त लोभ गरेनन् । श्रीमती र छोराको मोहमायामा पनि परेनन् । आज उनको राज्यको औपचारिक अस्तित्व छैन । बुद्धका पिताको योगदान र उनका छोराको योगदानको बारेमा विश्वले के कति जानेको छ भन्ने पक्ष एउटा अवश्य हो तर निजी मोहको त्याग गरेका बुद्धलाई आजको दिनमा कोटिकोटिले सम्झिरहेका छन् । घमण्डको विषय त अझ सबैले बुझेका छन् । यसलाई त सर्वथा त्याज्य मानिनु आवश्यक छ भनेर सबैले भन्दै आएका छन् ।
    बुद्ध थोरै बोल्थे । उनका मूर्तिहरू जे जहाँ स्थापित छन्, प्रायः शान्त र ध्यानावस्थामा छन् । बुद्धको ध्यानको मुद्राले पनि त्यत्तिकै प्रसिद्धि पाएको छ । बुद्ध प्रतिमा जापानमा जापानी अनुहारको र कोरियामा कोरियाली अनुहाराकृतिको होला । श्रीलङ्काको बुद्ध प्रतिमा पनि त्यहींको अनुहारसित मिल्ने होला तर सबैमा यो शान्त र ध्यानावस्थाको भने एकरूपता छ । बुद्धको यस अवस्थाले मौन रहेर पनि अनेक कुरा वा धेरै कुरा बोलेको छ । बुद्ध प्रतिमा अगाडि उभिएर मानिसले केही नबोलेर पनि धेरै कुरा बोल्न सक्छन् भन्ने सिक्छन् । बुद्ध प्रतिमा अगाडि उभिएर मानिस केही नबोलेर उनलाई धेरै कुरा बताएका हुन्छन् ।
आज विज्ञानले भन्छ– हरेक दिन  अवश्य पनि ध्यान गर्नुपर्दछ । ध्यानले मन शान्त रहनुका साथै मस्तिष्कलाई पनि फाइदा पु¥याउँछ । मन र मस्तिष्क दुवैलाई फाइदा भयो भने मानिसले आपूmले चाहेको क्षेत्रमा अगाडि बढ्न निकै सहयोग पुग्छ ।
    बुद्धलाई बुद्ध धर्म मान्नेहरूले मात्र मान्दछन् भन्ने होइन । अन्य धर्ममा पनि बुद्धको स्थान छ । हिन्दू पुराणहरूले त बुद्धलाई विष्णुकै अवतार मानेको पाइन्छ । यसैगरी, नेपालका अन्य धर्मावलम्बीले पनि बुद्धलाई उत्तिकै सम्मान गर्दछन् । बुद्ध धर्मलाई मान्ने मानिसहरूको सङ्ख्या बढिरहेको देशमा जुनसुकै धर्मका मानिस भएपनि बुद्धलाई मानेको हुनुपर्छ । आजको दिन विश्वभर बुद्धका जीवनी र कीर्तिको चर्चा हुन्छ । बुद्धबाट आजको विश्वले धेरै कुरा ग्रहण गर्न सक्छ भन्ने कुरालाई स्वीकार्नु पनि बुद्धम् शरणम् गच्छामि हुनु हो कि ?

SHARE THIS

Author: Prateek Daily

वीरगंजबाट प्रकाशित राष्ट्रिय “क” वर्गको दैनिक पत्रिका

0 comments:

Find us