Saturday, April 13, 2019

सिम्रौनगढमा रामनवमी मेला शुरू

प्रस, सिम्रौनगढ, ३० चैत/
    बाराको प्रसिद्ध ऐतिहासिक, धार्मिक एवं पर्यटकीयस्थल सिम्रौनगढमा शनिवारदेखि रामनवमी मेला शुरू भएको छ ।
    नेपालका ठूलो मेलामध्ये चैते नवमी मेला सिम्रौनगढमा परम्परागतरूपमा लाग्दै आएको लामो समय बितिसकेको छ । केही वर्षअगाडिसम्म सो मेला तीन महीनासम्म लाग्ने गर्दथ्यो । बारा र रौतहटको चुरे क्षेत्रको मुख्य बजार रहेको सिम्रौनगढमा अहिले भने तीन दिनसम्म मात्र सो मेला लाग्ने गरेको छ । समाज परिवर्तन भइरहेको र माओवादी जनयुद्धको समयदेखि तीन महीने मेला तीन दिनमा सीमित भएको स्थानीय बताउँछन् । परम्परागत रामनवमी मेला स्वस्फुर्तरूपमा लाग्ने गरेको कारण अहिलेसम्म यसको आयोजना कसैले गरेको पाइएको छैन ।
    मेलाको मुख्य आकर्षण नेटुवाको नाँच हो । भाखल पूरा भएका महिलाहरूले आप्mनो आँचलमा नेटुवा नाँच नचाउने गर्छन् । सो मेला रानीवास रामजानकी मन्दिरदेखि सिम्रौनगढ कङ्काली मन्दिर र इटवालसम्म तीन किलोमिटरको दूरीमा लाग्ने गर्छ ।
    आज बिहानैदेखि श्रद्धालु भक्तजनहरूको कङ्काली मन्दिर र रामजानकी मन्दिरमा घुइँचो लागेको थियो । मेलामा आज हजारौंको सङ्ख्यामा श्रद्धालुहरू एकीतृत भएका थिए । छिमेकी देश भारतबाट पनि हजारौंको सङ्ख्यामा श्रद्धालुहरू मेलामा सहभागी हुन आउँछन् । मेलामा सनातन धर्म रक्षा मञ्चको आयोजनामा शोभायात्रा निकालिएको थियो ।

SHARE THIS

Author: Prateek Daily

वीरगंजबाट प्रकाशित राष्ट्रिय “क” वर्गको दैनिक पत्रिका

0 comments:

Find us