Monday, April 15, 2019

निजगढमा नाला भत्काउने र बनाउने खेल, कर्मचारी र ठेकेदारको मनोमानी

जीतलाल श्रेष्ठ, निजगढ, २ वैशाख/
    राजमार्गको निजगढस्थित सडक किनारको पानी निकासका लागि निर्माण गरिएको नाला पटकपटक भत्काउने र बनाउने खेल जारी छ ।
    करीब १५ वर्ष अघि सडक डिभिजन कार्यालय, हेटौंडाले बनाएको नाला निजगढ नगरपालिकाले पु¥यो । त्यस बेला सडकको दक्षिणतर्फको नाला पुरेको थियो । सडकको उत्तरतर्फको नाला पनि आजभन्दा लगभग ४ वर्ष अघि भत्कायो र पुनः निर्माण ग¥यो ।  यसरी बनाइएको नालाको उत्तरी भागको एकतर्फको संरचना हाल पुनः भत्काएको छ । यसरी पटकपटक नाला भत्काउने, पुर्ने र बनाउने खेलबाट स्थानीय आजित छन् ।
    पटकपटक नाला बनाउने र भत्काउने खेलबाट राज्यको दुई करोडभन्दा बढी रकम बालुवामा पानी हालेजस्तो भएको छ । पटकपटक संरचना परिवर्तन भइरहँदा सडक नजीकका बासिन्दा, सीमा जोडिएका छिमेकी र बटुवाहरूलाई समेत समस्या खडा भएको छ । अहिले निर्माण गरिन लागेको नाला पेट्रोल पम्पदेखि जमुना पैनीसम्म ठेक्का लगाएको छ । जसमा लगभग ५ सय मिटर नयाँ नाला निर्माण हुनेछ भने करीब ३ सय मिटर नाला भत्काउँदै पुनः बनाउन थालिएको छ ।
    उक्त नालामाथि स्ल्याब ढलानसमेत हुने साइट इन्जिनीयर नरेशप्रसाद केसरीले बताए । सो नाला निर्माण जेठ मसान्तभित्र गरिसक्नुपर्ने सम्झौतामा उल्लेख छ । नाला निर्माणमा विवाद आइरहने गरेकोले समयमैंं शुरू र तोकिएको समयमा सम्पन्न हुने हो होइन, प्राविधिकहरू दुविधामा छन् ।
    एउटै नाला त्यही स्थानमां पटकपटक बनाउने र भत्काउने खेल देख्दा सडक डिभिजनका प्राविधिक कर्मचारी र ठेकेदारको कमाउने धन्दा बनेको प्रत्यक्षदर्शीहरूको भनाइ छ ।“लाखौंमा ठेक्का लगाउँछ । नला बनाउँछ । अनि केही वर्षपछि भत्काउँछ । फेरि बनाउँछ, फेरि भत्काउँछ । के गरेको हो ? लुट्नुको पनि हद र सीमा हुन्छ ।”  निजगढका जनप्रतिनिधीहरू पनि तैं चुप मैंं चुप छन्”— एक स्थानीयले आक्रोश पोख्दै भने ।
    उक्त राजमार्ग पुनः फराकिलो पारियो भने नाला पुर्नुपर्छ । निजगढ हुँदै काठमाडौं जोड्ने फास्ट ट्र्याक सेनाले चार वर्षभित्र सम्पन्न गर्ने भनेको छ । १ वर्ष बितिसकेको छ ।
    फास्ट ट्र्याक निर्माण सम्पन्न हुने बित्तिकै राजमार्गको चाप बढ्ने निश्चित छ । जसका कारण अहिले आधा करोड लागतमा निर्माण गरिने नाला फेरि बालुवामा पानी हाले जस्तै पुरिने छ ।

SHARE THIS

Author: Prateek Daily

वीरगंजबाट प्रकाशित राष्ट्रिय “क” वर्गको दैनिक पत्रिका

0 comments:

Find us